हिक्मत शाही
कालुराम एक जना आम नेपाली कृषक हो । सानातिना आकाशे उच्कलाहरुलाई छोड्ने हो भने उसको एउटा मात्र गडखेत छ । आकाशको भर हुन्न । त्यसैले उच्कलाको पनि भर हुन्न । कहिले उत्पात फल्ने कहिले सुक्खा । भर यहि गड्खेतको हो । त्यो पनि खोलामा पानी नसुकेसम्म । खोलामा घट्दै गएको पानी देखेर कालुराम निकै चिन्तित छ । पहिले हिउँद तथा सुक्खा याममा पनि यो खोलामा प्रशस्त पानी हुन्थ्यो । हिजोआज के भएर हो कुन्नी खोला सुक्दै जान थालेको छ । खोलाको नामै घट्टे खोला । पहिले पहिले हिउँद र सुक्खा याममा समेत खोला छेउछाका पानी घट्टहरु मजाले चल्थे ।हिजोआज त्यो सम्भव छैन । पानी घट्टहरु सुक्खा याममा ठप्प हुन्छन् । कालुरामको कामना छ : सदावहार घट्टेखोला खहरे नबनोस् ।
आज कालुरामको रोपाइँ । रोपार , बाउसे , हली , हलगोरु सबैको बन्दोबस्त हिजो नै गरिसकेको भएपनि कालुरामलाई रातभरि निन्द्रा लागेन । भाले नबास्तै उठेको उसले घरको मझेरीमा बसेर एक सुल्पा तमाखु रित्यायो । तमाखुमा उसको रहर र बाध्यता दुबै मिसिएको छ । पहिले रहर थियो । अम्मली बनिसकेपछि बाध्यता बनेको छ । चर्पी बस्नुअघि त झन एक चिलिम तान्नै पर्छ ।
चर्पी सफा गरेर बाहिर निस्किएको कालुरामले ‘ गौथली ! ए गौथली ।’ भन्दै दुई तीन पटक आफ्नी जहानलाई डाक्यो । कालुराम जोडजोडले कराएको सुनेपछि गौंथली पनि आँखा मिच्दै आगनमा आइपुगी । उज्यालो अझै भैसकेको थिएन । केहि छिन रोपाइँको बारेमा गफिए पछि गौथली जाँतो पिस्न छिंडितिर लागी भने कालुराम गाग्रो बोके पँधेरा तिर लाग्यो ।
छर्लङङ् उज्यालो हुन पाएको थिएन । रामलाल दौडिदै कालुरामको आगनमा आइपुग्यो । रामलाल चार गाउँमा नाम कहलिएको स्थानीय नेता हो । अघिल्लो स्थानीय चुनावमा झिनो मतान्तरले वडामा चुनाव हारेपनि गाउँपालिकासम्मै उसको नाम र चर्चा छ । हारेको उसले मात्र हो । उसको दलले होइन । त्यसैले रामलाल एउटा सत्ताधारी राजनीतिक दलको इमान्दर कार्यकर्ता हो । सत्ताधारी दलको इमानदार कार्यकर्ता भएकै कारण उसले गाउँमा तमाम योजनाहरु पारिसकेको छ । कति धेरैले काम पाए । काम पाउनेहरु मध्य कालुराम पनि एक हो । कालुराम खेतबारीबाट फुर्सद पाएपछि रामलालका योजनाहरुमा पाएसम्म ज्यामीको काम गर्छ ।
योजनको कुरा आइसके पछि रामलालको योजनाकलाको बारेमा कुरा गरौ । अरु योजनाको त कुरा छोडौ मष्टा महाराजको एउटा मन्दिर बनाउन मात्रै उसले चारओटा योजना पार्यो । एकपटक मन्दिर भत्काउन , अर्कोपटक माटो सफा गर्न , फेरि अर्कोपटक मन्दिर बनाउन र अन्तिममा मुर्ती किन्न । रामलालले योजनाको माध्यमबाट आफ्नो मात्र होइन कि गाउँलेहरुको समेत चुलोचौको चलाएको छ । उसले जे जति घर घडेरी जोड्यो त्यो सबै योजनाको कारणले हो ।
” कालुरामदाई एउटा जरुरी काम लिएर म तिम्रोमा आएको हुँ । ” रामलालले आफु सबरै कालुरामको आगनमा टेक्नुको उदेश्य माथि प्रकाश पार्यो ।
” भन्नुस् न । के थियो र ? सके सहयोग गरुला ।” कालुरामले आफ्ना प्रश्नसूचक आँखाहरु रामलालको आँखाहरु तेर्स्यायो ।
” आज धान दिवस । माननीय कृषि मन्त्री ज्यु हाम्रो गाउँमा आउँदै हुनुहुन्छ । उहाँको रोपाइँमा सहभागी हुने इच्छा छ । आज संयोगले तिम्रो रोपाइँ परेछ ।रोपाईमा औपचारिक कार्यक्रम गर्नुपर्ने भयो दाइ । ”
” यो त मेरो अहोभाग्य हो भाइ । ” आफ्नो रोपाइँमा मन्त्री सहभागी हुनेभएपछि कालुराम खुसीले गदगद भयो ।
रामलाल मन्त्रीको कार्यक्रमको व्यवस्यापन गर्न घरतिर लाग्यो । कालुराम रोपाइँका बाँकी कामहरुको तयारी गर्नथाल्यो ।
मन्त्रीज्यू कालुरामको रोपाइँमा सहभागी हुनेकुरा परालको आगोझैं चार गाउँमा एकैसाथ फैलियो । रेडियो र टेलिभिजनमा देखे सुनेका मन्त्रीज्यूलाई साक्षात देख्न र सुन्न पाइने भएपछि गाउँलेहरु आफ्ना ब्यक्तिगत कामहरुलाई समेत एकदिनका लागि थाँती राखेर कालुरामको खेततिर बढ्न थाले । हेर्दाहेर्दै उसको खेतमा मानिसको मेला लाग्यो । खेतको सिरानैमा रामलालहरुले मन्त्रीजीका लागि सुन्दर अनि आकर्षण मञ्च बनाए । मञ्चभरि गाउँबाट सङ्कलन गरिएका कुर्चीहरु राखिए । कुर्चीको बीचमा एक जोडा सोफासेठ राखियो । गाउँलेहरुसंगै कालुराम , उसकी जहान लगाएत बाउसे र रोपारहरु समयमै खेतमा उपस्थित भए ।
कार्यक्रम ११ बजे तय गरिएको थियो ।अब व्यग्र प्रतीक्षा मन्त्रीज्यूको आगमनको थियो । मन्त्रीज्यूले रोपाइँको उद्घाटन गर्ने कार्यक्रम तय भएकाले रोपाइँ पहिले नै सुरु गर्ने कुरो भएन । उपस्थिति सबै हातमा फूलमाला लिएर मन्त्रीको आगमनको प्रतीक्षा गर्नथाले । रामलालहरुले मन्त्री ज्यूको स्वागतमा बाजागाजाको समेत व्यवस्था गरेकाले खेत पञ्चेबाजाको धुनमा गुञ्जायमान बनेको छ । के बालक ? के युवा ? के वयस्क ? के वृद्द ? सबै पञ्चेबाजाको तालमा मुग्ध बनेका छन् ।
११ बजे पुग्ने भनिएका मन्त्री २ बजेतिर दलबलका साथ खेतमा प्रवेश गरे । चार गाउँका मानिसहरुले पङ्तिबद्द हुँदै फूलमालाले मन्त्रीज्यूको स्वागत गरे । पुष्पगुच्छा प्रदान गर्दा गर्दै ३ बज्यो । अब सुरु भयो आसनग्रहणको कार्यक्रम । आसन ग्रहणमा चानचुन एक धण्टा लाग्यो । सभाध्यक्ष कालुराम , प्रमुख अतिथि माननीय मन्त्रीज्यू र तमाम अतिथिज्यूहरुलाई आसन ग्रहण गर्दा एक घण्टा समय लाग्नु स्वाभाविक थियो । आसनग्रहणको कार्यक्रम समापन भएपछि ४ बजेबाट मन्तव्यको कार्यक्रम शुरु भयो । रामलाल लगाएत तमाम स्थानीय कार्यकर्ताहरुले मन्त्रीका लागि स्वागत मन्तव्य राखे । अब बेलुकाको ५ बजिसकेको थियो ।अब सुरु भयो मन्त्रीज्यूको भाषण । ‘मेरा दुई शब्द व्यक्त्त गर्न चाहन्छु ।’ भनेर भाषण सुरु गरेका मन्त्रीज्यूले सयौं मानिसहरुको भिडमा हजारौं शब्द खर्चिए । मन्त्रीज्यूको भाषण सकिदा साँझको ६ बज्यो । अब पालो थियो अौपचारिक कार्यक्रमको अौपचारिक समापनको । आजको कार्यक्रमका सभाध्यक्ष कालुरामले कार्यक्रमको समापन गर्न आधाघण्टा जति समय लगाए । कालुरामले कार्यक्रम समापन भएको घोषणा गर्दा रोपार , बाउसे लगाएत त्यहाँ उपस्थित चार गाउँका गाउँलेहरुले परर तालीपिटे । अब झिसमिसे अध्यारो भैसकेको थियो ।
कार्यक्रम सकिएपछि आयोजकहरु सामान व्यवस्थापन गर्न तिर लागेभने उपस्थित अतिथि अनि गाउँलेहरु आ आफ्नो बाटोतिर लागे । अब खेतमा कालुराम , उसकी जहान , रोपार , बाउसे र हलगोरु मात्र थिए । कालुरामले झसङ्ङ भएर रोपार अनि बाउसेको हातगोडातिर दृष्टिपात गर्यो | हिलोमैलो केहि देखेन । अन्तिममा खेत तिर हेर्न खोज्यो । झमक्क अँध्यारो भैसकेकाले खेतमा झन् केहि पनि देखेन । समाप्त !!!!
दिपायल । दिपायल सिलगढी नगरपालिको पाँचौं स्थानिय तह स्तरीय राष्ट्रपति...