२०८० चैत्र १५, बिहीबार
March 28, 2024, Thursday

साह्रै रहस्मय प्रश्न- मृत्युपछि के हुन्छ?

मानिसको जीवन पनि अति नै रहस्यमय छ। धर्तीमा जन्मिएपछि एउटा शिशुलाई उसको आमाले कोखभरीको मायाले बचाएर राख्छिन्, ठूलो भैसकेपछि पनि बाँच्नकै लागि कत्ति संघर्ष गर्नुपर्ने हुन्छ। मानिस भएर जन्मिनुको उदेश्य थाहा नै नपाउँदा पनि अझै मानिसहरू बाँच्नको लागि प्रयत्न गरिरहेका हुन्छन्। तर मानिसको शरीर कस्तो नाजुक छ है? सानो चोटले पनि कत्ति पीडा हुन्छ, बच्चैदेखि दुःख गरेर हुर्काको शरीर मर्नको लागि केही क्षण पनि लाग्दैन, क्षणभरमै शरीरबाट प्राण पलायन भएर जान्छ।

तर कहिल्यै सोच्नुभएको छ, मरेपछि के हुन्छ? अवश्य पनि, मरेपछि मानिसको शरीर कुहिन्छ, तर जिउँदो हुञ्जेल चाहिँ किन कुहिँदैन त? यो कुरा बुझ्नको लागि सुरुमा मर्नेबित्तिकै शरीरमा के हुन्छ भन्ने प्रक्रिया बुझ्नु जरुरी हुन्छ।

मृत्युपछि हाम्रो शरीरमा के हुन्छ?

मुटुले धड्किन छोड्नुलाई नै विशेषतः मृत्यु भनिन्छ। शरीरका सबै अङ्गहरूमा मुटुले रगत पुर्याउन नसकेपछि, अक्सिजनको सर्टेज सुरु हुन्छ। याद होस् कि हाम्रो शरीरका विभिन्न अङ्गहरूमा अक्सिजन पुर्याउने काम रगतको हो। जब मुटु धड्किन छोड्छ, तब बाँकी भएको अक्सिजनलाई शरीरको तन्तू र कोषहरूले प्रयोग गर्छन्। शरीरभरमा सबैभन्दा बढी अक्सिजन प्रयोग गर्ने अङ्ग भनेको मस्तिष्क हो। मुटुले अक्सिजनको ढुवानी गर्न छोडेपछि, मस्तिष्कले सामान्यतयाः सबै अक्सिजन प्रयोग गर्नको लागि ३ देखि ७ मिनेट लगाउँदछ।

हामीले के बुझ्नु जरुरी हुन्छ भन्दा, मुटुभन्दा माथि भएका दिमाग लगायतका अन्य अङ्गहरूमा रगतको सञ्चार बन्द हुन्छ, किनभने रगतलाई माथि पम्प गराउने मूख्य अङ्ग मुटुले नै काम गर्न छाडिसकेको हुन्छ। त्यसैले सबै रगत स्वतः शरीरका तल्लो भागहरूमा गएर जम्मा हुन्छन्, जस्ले गर्दा रगत नपुगेका अङ्गहरू पहेँलो अथवा अनि चिसो हुने हुन्छ। अनि रगत जहाँ गएर जम्मा हुन्छ, त्यो भाग निलो अथवा कालो हुने हुन्छ।

मानिस मरेपछि, थुप्रै प्रक्रियाहरू सुचारु हुन्छन्। ती प्रक्रियाहरूमध्ये अक्सिजनको अभाव र तल्लो भागमा रगत जम्मा हुनु सबैभन्दा सुरुमा हुने प्रक्रियाहरू हुन्। तर अन्य प्रक्रियाहरू भने निम्न समयाअनुसार सुचारु हुन्छन्ः

मृत्युको १ घण्टा भित्रः शरीर मर्ने बित्तीकै, ‘प्राइमरी फ्लासिडिटी’ (Primary Flaccidity) प्रक्रिया सुरु हुन्छ, जसमा पुरै शरीर शिथिल हुन्छ। आँखाको नानी लाटो हुन्छ, परेलाको संवेदना क्षय हुन्छ, हात र जोर्नीहरू लचिलो हुन्छन्, मांशपेसी खुकुलो हुन्छ, जसले गर्दा भित्री हाड र जोर्नीहरू बाहिरबाटै महशुस गर्न सकिने हुन्छन्।

गुरुत्वबलको कारण जमीनबाट नजिक भएका अङ्गहरूमा रगत जम्मा हुन जान्छ, यो प्रक्रियालाई ‘पालोर मोर्टिस’ (Pallor Mortis) भनिन्छ। रगत नभएको ठाउँ पहेँलिन्छ भने रगत जम्मा भएको ठाउँ निलो हुन्छ।

मृत्युको ३ घण्टापछिः अब यो प्रक्रियामा शरीरका मांशपेसीहरू कडा हुँदै जान्छन्। यो प्रक्रियालाई ‘रिगोर मोर्टिस’ (Rigor Mortis) भनिन्छ।

मृत्युको १२ घण्टापछिः यतिबेला रिगोर मोर्टिस चरम बिन्दुमा पुग्दछ, त्यसैले मृत शरीरलाई यताउता चलाउन गाह्रो पर्दछ। यतिबेला हात र खुट्टाका औँलाहरू खुम्चिने गर्छन्।

मृत्युको २४ घण्टापछिः अब शरीरले आफ्नो आन्तरिक तापक्रम सबै गुमाइसक्छ र पुरै चिसो हुन थाल्छ। तथापी, वरिपरिको तापक्रम र शरीरमा भएको बोसोको मात्राले गर्दा पुर्णरूपमा चिसो हुन समय लाग्न सक्छ। यसरी शरीरले आन्तरिक तापक्रम गुमाउने प्रक्रियालाई ‘अल्गोर मोर्टिस’ (Algor Mortis) भनिन्छ।

मृत्युको ३६ घण्टापछिः अब भने मांशपेसी कडा हुन छाड्छ र फेरी लल्याकलुलुक हुन थाल्दछ।

मृत्युको ७२ घण्टापछिः शरीरका सबै तन्तूहरू शिथिल हुन्छन् र ‘रिगोर मोर्टिस’को अन्त्य हुन्छ, त्यसपछि ‘सेकेण्डरी फ्लासिडिटी’ (Secondary Flaccidity) को चरण सुरु हुन्छ।

मृत्युपछि शरीरको तापक्रम किन घट्छ?

किनभने, शरीरभित्रका सबै कोषहरूको सञ्चार बन्द हुन्छ। यसरी कोषले काम गर्नै छाडेपछि, रसायनिक प्रतिक्रियाद्वारा पैदा हुने तापक्रम पनि पैदा हुन छाड्दछ। शरीर जिउँदो हुँदाको सामान्य तापक्रम ३७ डिग्री सेल्सियस हुन्छ र शरीर मरेपछि निरन्तर (Linear Progression) तापक्रम घट्दै जान्छ। मृत्युको पहिलो घण्टामा शरीरले २ डिग्री तापक्रम गुमाउँदछ र त्यसपछि हरेक घण्टामा १ डिग्रीले घट्दै जान्छ, जबसम्म शरीरको र वरिपरिको तापक्रम बराबर हुँदैन। यसरी शरीरको तापक्रम घटेपछि, शरीर कुहिनको लागि उपयुक्त अवस्थाको सृजना हुन्छ।

मृत्युपछि शरीर किन कुहिन थाल्दछ?

सुरुमा आन्तरिक अङ्गहरू कुहिन थाल्दछन्

शरीर कुहिने प्रक्रिया एकदमै जटिल प्रक्रिया हो। मृत्युपछि, शरीरको प्रतिरक्षा प्रणाली ठप्प हुन्छ, जसले गर्दा शरीरभित्र रहेका ब्याक्टेरिया र माइक्रोब्सहरूले हाम्रो शरीरलाई स्वतन्त्र रूपले आक्रमण गर्न पाउँदछन्। त्यसमाथि शरीरको तापक्रम पनि घट्दै गएपछि ब्याक्टेरियाहरूको लागि उपयुक्त ठाउँ हुन जान्छ हाम्रो शरीर!

यो सुन्दा अचम्म मान्नुहुन्छ होला, शरीर जिउँदो हुँदा पनि हाम्रो शरीरभित्र लाखौँ होइन कि अरबौँ ब्याक्टेरियाहरू बसिरहेका हुन्छन्, तर शरीरको आन्तरिक तापक्रम अनि प्रतिरक्षा प्रणालीले गर्दा तिनीहरूले स्वतन्त्ररूपमा हाम्रो शरीरलाई आक्रमण गर्न पाइरहेका हुँदैनन्।

उदाहरणको लागि एउटा सानो सङ्क्रमणलाई लिन सकिन्छ, जब हाम्रो शरीरमा कुनै किसिमको सङ्क्रमण हुन्छ, तब हामीलाई हलुका भएपनि ज्वरो आउँदछ। यो नै हाम्रो शरीरको प्रतिरोधात्मक शक्ति हो। अधिकतम ज्चरो आउनुको मतलब यो हो कि, हाम्रो ‘सेतो रक्तकोष’ (White Blood Cells) ले ब्याक्टेरियाविरुद्ध युद्ध गरिरहेको छ। र यदि सेतो रक्तकोषले त्यो युद्ध जित्यो भने बल्ल ज्वरो आउन छाड्दछ।

तर कतिपयले के सोच्छन् भन्दा ज्वरो नै एक किसिमको रोग हो र ज्चरो हटाउन विभिन्न किसिमका औषधीहरू प्रयोग गरिरहेका हुन्छन्। यो गलत हो, किनभने औषधीको प्रयोगले हाम्रो शरीरमा भएको आफ्नै रक्षात्मक शक्तिलाई ब्याक्टेरिया विरुद्ध युद्ध गर्नको लागि हतियार प्रदान गर्दछ, र ब्याक्टेरियाहरूले हाम्रो हतियारको बारेमा बुझ्ने मौका पाउँदछन् र त्यससँगै अनुकूल भएर बसिदिन्छन्, जसले गर्दा ती ब्याक्टेरियाहरू झन् बलियो भएर हाम्रो प्रतिरक्षा शक्तिलाई हराउँदछन्। त्यसैले नै आजकालका ब्याक्टेरियाहरूलाई एण्टिबायोटिकले कुनै असर गर्न सक्दैन। तर, यो भिन्दै विषय हो।

त्यसैले, हामी मरेपछि शरीरले बच्चैदेखि ब्याक्टेरियाविरुद्ध लड्दै आइरहेको युद्ध हार्दछ। तर शरीरका सबै अङ्गमा ब्याक्टेरियाहरू हुँदैनन्, धेरैजसो ब्याक्टेरियाहरू हाम्रो मलाशय र आन्द्रामा केन्द्रित भएर बसेका हुन्छन्। शरीरको प्रतिरक्षा प्रणाली पूर्णरूपमा ठप्प भएपछि ती ब्याक्टेरियाहरूले मलाशय र आन्द्रालाई खान थाल्दछन् र त्यहाँबाट बाहिर निस्केर अन्य अङ्गमा आक्रमण गर्न थाल्दछन्। त्यसपछि कलेजो, प्यान्क्रियाज, फोक्सो र मुटुहुँदै मस्तिष्कलाई आक्रमण गर्न पुग्दछ।

अनि बल्ल बाहिरको अङ्ग कुहिन थाल्दछ

यसरी शरीरका आन्तरिक अङ्गहरू कुहिन थालेपछि, शरीरका तन्तूहरूले हाइड्रोजन सल्फाइड र मिथेन ग्यास (Hydrogen Sulphide and Methane Gas) छाड्दछन्। फोक्सोले नाक र मुखबाट हरीयो तरल पदार्थ फाल्न थाल्दछ, जसबाट माइक्रोब्स र ब्याक्टेरियाहरू बाहिर निस्कन्छन्। कुहिँदै गरेको शरीरको दुर्गन्धले बाह्य किराफट्याङ्ग्रा र झिँगाहरूलाई निमन्त्रणा गर्दछ। शरीरमा किराहरूले अण्डा पारेर अझ धेरै किराहरूलाई जन्माउँदछन् र बाहिरको शरीरलाई पचाइसकेपछि, बिस्तारै भित्र सर्दै जान्छन्।

मृत्युपछि शरीर कुहिने दर शरीरलाई राखिएको ठाउँको वातावरणमा भर पर्दछ। पानीमा हुँदा शरीर सबैभन्दा छिटो कुहिन्छ। खुल्ला जमीनमा छाडिएको शरीर कुहिन अलि ढिलो हुन्छ भने, जमीनमा गाढिएको शरीर कुहिनलाई सबैभन्दा ढिलो हुन्छ। जमीनमा जति भित्र गाढ्यो, शरीर कुहिनको लागि त्यति नै बढी समय लाग्दछ।

यसरी नै हाम्रो प्यारो शरीर बिस्तारै प्रकृतिसँगै मिल्दै जान्छ।

Related News

हरितालिका तीज (डिकरा) व्रत
हरितालिका तीज (डिकरा) व्रत
  • २०७६ चैत्र ७

१) तीजले लहर ल्याउँछ खुशीयाली आउँछ ।नारीको चेहरा खुसी मिठो...

TOP