२०८० आश्विन ८, सोमबार
September 25, 2023, Monday

विपत्तिमा बाँचेको खुशियालीमा ‘ओल्के’ पर्व

डोटी– डोटी सहित सुदूरपश्चिम प्रदेशमा मौलिक पर्व मध्येको एक ‘ओल्के’ पर्व धुमधामका साथ मनाईदैछ । हरेक वर्ष भदौ संक्रान्तीमा ओल्के मनाईन्छ । आफुभन्दा ठुलाबडा, मान्यजन र जेष्ठ नागरीकलाई सम्मान स्वरुप ‘ओल्को’ दिएर, मिठो मसिनो खाएर र अन्य फरक फरक मौलिक तवरबाट मनोरंजन गरी ओल्के मनाईदैछ ।

बिपत्तीको समयमा ज्यान जोगिएको खुशियालीमा मनाईने यो पर्व लाई ‘ओल्के’ भनिन्छ । ‘ओल्को’ भन्नाले ‘ओलक’ अर्थाद् सौगात, उपहार वा कोसेली भन्ने बुझिन्छ । ओल्कोमा मान्यजनलाई हरियो साग (मुख्यतयाः कर्कलाको गाभा) र फलफुल दिईने गरिन्छ । यसबाहेक अन्न, दुध, दही, घ्यू, गूड र पक्वान्न आदी पनि दिईन्छ । शिल्पकारहरुले आफुले बनाएका सामानहरु पनि दिने गर्दछन् । नयाँ पुस्ताले अचेल आफ्ना मान्यजनहरुलाई लुगाकपडा, पैसा वा यस्तै अन्य उपहार समेत ओल्को स्वरुप दिन थालेका छन् । यसरी ओल्को दिन आएकाहरुलाई मान्यजनहरुले आफुसंग भएको मिठोमसिनो खुवाएर पठाउछन् । यो पर्वमा रमाईलोका लागि धेरैजसो ठाउँमा पिङ समेत खेल्ने गरिन्छ ।

शनिबार देखि सुदूरपश्चिम प्रदेशमा आफुभन्दा ठुलाबडा, मान्यजन र जेष्ठ नागरीकलाई सम्मान स्वरुप ‘ओल्को’ दिएर, मिठो मसिनो खाएर र अन्य फरक फरक मौलिक तवरबाट मनोरंजन गरी ओल्के पर्व मनाईदैं छ ।

परापुर्व कालदेखी नै यस क्षेत्रमा ‘मरुला भनेर ‘बिशु’ खानु, बाँचे भनेर ‘ओल्के’ खानु’ भन्ने किम्वदन्ती छ । बर्षायामका बैशाख, जेठ, असार र साउन महिना रोगव्याधि तथा महामारी फैलने, विभिन्न किसिमका प्राकृतिक बिपत्तीका महिना मानिन्छन् । यस्तो संकटग्रस्त महिनामा मरिन्छकी भनेर बैशाख सक्रान्तीमा बिशु मनाउने र भदौ सक्रान्तीमा ओल्के मनाउने प्रचलन रहिआएको जानकारहरु बताउछन् ।

बिशु र ओल्के प्राकृतिक परापुर्व कालमा फैलने बिपद्संग सम्बन्धीत पर्व हुन्’ पण्डित तोयानाथ भट्टले भने,‘यी पर्वहरुको धार्मिक मान्यता खास्सै रहेको पाईदैन ।’ उनका अनुसार विपत्तीको समयमा आफ्ना परिवारका सदस्य नरहन सक्छन भनेर बिशु मनाउने प्रचलन रहेको हो, भने बिपत्तीको समयमा ज्यान जोगिएको खुशियालीमा भदौ संक्रान्तीमा ओल्के पर्व मनाउने गरिन्छ ।’

ओल्के सुदूरपश्चिमको मौलिक पर्व हो । यो पर्व यो क्षेत्रका नौ वटै जिल्ला बाहेक यस क्षेत्रसंग जोडिएका भारतका कुमाउ र गढवाल तिर पनि मनाईन्छ । ओल्केकै अवसरमा साउन मसान्तीको राती हातमा ‘भंगिरी’(एक प्रजातीको फुल)को बोटमा मजेटी लगायतका जडिबुटीहरु एकै ठाउँमा पिसेर हातमा लाउने प्रचलन छ । ओल्केको दिन भंगिरी लगाएको हातले मिठो परिकार खाएर भंगिरी चोख्याईन्छ । यसो गरे छालाको रोगको समस्या निको हुने र संक्रमणबाट पनि बच्न सकिने जनविश्वास रहीआएको छ । पछिल्ला वर्षहरुमा भंगिरीको ठाउँ मेहन्दीले लिदै गएको छ ।

यो पर्वमा विवाहिता छोरीलाई माइतीघरमा आमन्त्रण गरि मिठो परिकारहरु जस्तै लौन, बावर, माणा, निसौसे, डुब्का लगायतका डोटेली पकाएर खुवाउने प्रचलन पनि रहेको छ ।

ओल्केलाई पर्वहरुको जेठो पर्व भनेर पनि बुझिन्छ । यो पर्वले अन्य पर्वहरुलाई ‘ओल्क्याउने’ अर्थाद अन्य पर्वहरु पनि क्रमशः आउने भएकाले यस्तो भनिएको जानकारहरु बताउछन् । ‘बैशाख सक्रान्तीमा मनाईने ‘बिशु’ पर्वको चार महिना पछि ‘ओल्के’ आउछ’, पण्डित लोकराज पाठकले भने, ‘ओल्के पछि क्रमशः प्रत्येक महिना अन्य पर्वहरु आईरहन्छन्, त्यसैले यसलाई जेठो पर्व मानिन्छ ।’

ओल्केका अवसरमा ससाना खोलाहरुको पानी पनि समुद्रमा ‘ओल्कीने’ अर्थाद पुग्छ भन्ने मान्यता छ । जसले गाउँमा रहेको धुवा, धुलो र फोहोर पखालिन्छ जसले चाडपर्वहरुमा गाउँ सफा सुग्घर रहन मद्दत पुग्छ भन्ने किम्बदन्ती रही आएको छ ।

बुढी हाल्ने पर्व

ओल्के संक्रान्तिका दिन केही ठाउँमा गाउँ नजिकका अलिक उच्चो ठाउँमा सबै जना मिलेर रूखका हांगाबिंगा झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ । जसलाई स्थानिय भाषामा ‘बुढी हालेको’ भनिन्छ । सो बुढीलाइ असोज संक्रान्तीको राती पोल्ने गरिन्छ । जसलाई ‘बूढी पोल्ने’ भनिन्छ । यसलाई द्वापरकालिन समयमा श्रीकृष्णद्वारा मारिएकी राक्षस ‘पुतना’को कथासङ्ग पनि जोडिएकोछ । बुढी पोलेमा लुतो लगायतका रोगहरुबाट सम्पुर्ण परिवारजन तथा चौपायाहरु मुक्त हुने विश्वास रहिआएको छ ।

परम्परा देखी नै मनाईदै आएको ओल्के लगायतका सुदूरका मौलिक पर्वका बिषयमा युवापुस्तामा भने खास्सै चासो देखिदैन् । जसले सुदूरको मौलिकता हराउनेमा जानकारहरु चिन्तित छन् । ‘पश्चिमा संस्कृतीको प्रभाव र हाम्रा संस्कृतीहरु पुस्तान्तर हुननसक्दा मौलिकता लोप हुन थालेका छन्’, साहित्यकार हेमन्त विवसले भने, ‘तर यसको संरक्षणमा कसैले ध्यान दिन सकेका छैनन् जसले चिन्ता बढाएको छ ।’

बत्ती बाल्ने महिनाको समापन

सुदूरपश्चिममा साउन १ गतेवाट सुरु भएको बत्ती बाल्ने महिनाको शनिवार समापन भएको छ ।

धार्मिक महिनाका रुपमा समेत चिनिने साउन महिनालाई बत्ती बाल्ने महिना अर्थात स्थानीय भाषामा कालो महिना भनिन्छ । साउने सङ्क्रान्तिदेखि सुदूरपश्चिमका डोटी, डडेल्धुरा, अछाम, बझाङ, बाजुरा, बैतडी, दार्चुला, डडेल्धुरा, कैलाली, कञ्चनपुर लगायतका जिल्लामा साउनलाई विशेष धार्मिक महिनाका रुपमा लिई मन्दिरमा पाठपूजा गर्ने चलन रहिआएको छ । साउनको महिना देवीदेवता बैकुण्ठमा शयन गर्ने अर्थात् सुत्ने भएकाले यस महिनालाई कालो महिना भन्ने गरिएको पण्डित भरत पन्त बताउँछन् । उनले भने “साउनको महिना सबैतिर हरियाली हुने भएकाले देवीदेवता सुत्ने गर्दछन, हरिशयनी एकादशीदेखि साउनको महिनासम्म भगवान बैकुण्ठमा बस्ने गर्छन् ।”

शयन गरेका बेला बत्ती बालेपछि देवीदेवताको रक्षा हुनाका साथै कुनै पनि वैरी नलाग्ने जनविश्वास रहिआएको छ । साउन १ गतेदेखि भक्तजनले बिहानै उठेर नुहाइधुवाई गरी एक महिनासम्म व्रत बसी देवीदेवताका मन्दिरमा गई पूजापाठ गर्नाले मनले चिताएको पूरा हुनाका साथै अञ्जानमा गरिएका पाप कर्म नष्ट हुने धार्मिक विश्वास रहिआएको छ ।

Related News

सेती अस्पताल जलमग्न, बिरामीको बिजोग
सेती अस्पताल जलमग्न, बिरामीको बिजोग
  • २०७७ श्रावण ३२

धनगढी – सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठुलो सेती प्रादेशिक अस्पताल पुरानो...

TOP