धनगढी – गृह मन्त्रालयको निर्देशनपछि कैलाली जिल्लामा पनि रातिको समयमा हिँडडुल गर्न नपाइने भएको छ । जिल्लाभरि नै राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न नपाइने भएको हो ।
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले कोरोना भाइरसको बढ्दो संक्रमणलाई लक्षित गरेर बिहीबारदेखि लागु हुने गरी यो निर्णय लागु भएको बताए ।
उनले त्यसै अनुसार व्यवस्था मिलाउन सुरक्षा निकायलाई निर्देशन दिइएको बताए । अत्यावश्यक सेवामा भने यो निर्णय लागु नहुने प्रमुख जिल्ला अधिकारी बोहराले जानकारी दिए ।
सुदूरपश्चिम प्रदेशमा दुई सय भन्दा बढी सक्रिय संक्रमित कैलाली जिल्लामा मात्रै रहेका छन्।
सुदूरपश्चिमको स्वास्थ्य निर्देशनालयले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार कैलालीमा ६ सय ७० संक्रिय संक्रमित छन् । अहिलेसम्म ६ सय ४२ संक्रमित डिस्चार्ज भइसकेका छन् । चारजनाको भने मृत्यु भएको छ ।
गृह मन्त्रालयले जारी गरेको सूचना अनुसार सुदूरपश्चिममा जोरबिजोर प्रणाली कैलालीमा मात्रै लागु हुनेछ।
स्वास्थ्य निर्देशनालयका अनुसार कैलालीपछि सबैभन्दा बढी संक्रिय संक्रमित बझाङ जिल्लामा छन् । बझाङमा एक सय ७४ संक्रमित संक्रमित छन् भने एक सय सात जना डिस्चार्ज भइसकेका छन् ।
दुईजना संक्रमितको मृत्यु भएको छ । अछाममा एक सय ६०, डोटीमा पनि एक सय ६०, कञ्चनपुरमा ७७, डडेल्धुरामा ३४, दार्चुलामा २५, बैतडीमा १९ र बाजुरा जिल्लामा १८ संक्रिय संक्रमित रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
दिपायल – डोटीमा एक जना युवकको शव फेला परेको छ ।...