काठमाडौं- आदरणीय पाठकहरु ! आज हामी ७२ वर्षका यस्ता व्यक्तित्वसँग यहाँहरुलाई साक्षात्कार गराउँदैछौं, जो आफ्नो जीवनकालमा अलिकति कम्युनिष्ट कार्यकर्ता, आधाउधि पत्रकार अनि अलि बढी जनवादी कविका रुपमा परिचित छन् । कम्युनिस्ट दर्शनबाट प्रभावित भएको मान्छे कसरी लोभलालचमा नफसी सादा जीवन बाँच्छ भन्ने दृष्टान्तका उनी ‘भ्यु टावर’ हुन् ।
उनी हुन्– काभ्रे, बनेपाका मोहन दुवाल ।
‘बनेपा, जनमत पत्रिका र मोहन दुवाल’ लाई छुट्टाछुट्टै राखेर हेर्न सकिँदैन । ७२ वर्षीय दुवाल बनेपामै रहेर चार दशकदेखि ‘जनमत’ साहित्यिक मासिक प्रकाशन गरिरहेका छन् । अहिले जनमतको २ सय ७७ पूर्णाङ्क प्रकाशन भइरहेको छ । लकडाउनका बेला पनि उनले प्रत्येक महिना पत्रिका निकाले ।
सक्रिय कवि र साहित्यिक पत्रकारको परिचय बनाएका उनी साहित्यिक पत्रकार संघको महासचिव छन् अहिले । यसबाहेक काभ्रे जिल्लाका क्याम्पस, स्कुल तथा सामाजिक संघ–संस्थाका विभिन्न पदमा छन् । उनका नाममा सात थान नेपाली कविता, दुई नेवारी काव्य, तीन मुक्तक र २९ थान सम्पादन कृति प्रकाशित छन् ।
जीवनको सुरुवाती चरणमा राजनीतिमासमेत सक्रिय रहेका उनले दुई दशक शिक्षणमा बिताए । पछिल्लो तीन दशक भने साहित्यिक पत्रकारिता नै उनको मूल अभिष्ट बनेको छ ।
साहित्यिक पत्रिका प्रकाशन–सम्पादन गरेर कहिल्यै नथाक्ने दुवालसँग वाम राजनीति र उनको भोगाइका विषयमा केन्द्रित रहेर बनेपा जनमत–चोकमा गरिएको कुराकानी :
विगत ५० वर्षदेखि साहित्यिक पत्रिका प्रकाशन र त्यसकै सम्पादनमा लागिरहन तपाईंलाई केले डोर्याएको छ ?
साहित्यिक पत्रिका प्रकाशन गर्दा आफू पनि प्रचारित हुँदै जाने र आफूजस्तै अन्य लेखकको सृजनासमेत प्रचार गर्न पाइने रहेछ । मेरो मनसँग टाँसिएको यही जाँगरले डोर्याएर म यो क्षेत्रमा छु । यसलाई आत्मबल पनि भन्न सकिएला !एकपटक प्रेसको ऋण तिर्न श्रीमतीको दुई तोला सुन बेचेको छु । जनमत निकाल्न भएको खर्च त हो भनेर उति दुःख मानिनँ
सुरुमा साहित्यिक पत्रिका प्रकाशन गर्ने प्रेरणा के थियो ?
२०२३ सालमा ‘फसमफू लप्टे’ (हावाले उडाएको पात) भन्ने हातेपत्रिका बनेपाबाट निकालेको थिएँ । भर्खरै एसएलसी सकेर बसेको बेला, मलाई हातेपत्रिका निकाल्ने सोच आयो । त्यतिबेला जीवनको मार्ग नै यही काम बन्ला भनेर सोचेको थिइनँ । अब भने यही काममा असीम उत्साह र विश्वास जागृत भइसकेको छ ।
म बनेपामा छँदै ‘शारदा’का पुराना अंक खोजेर पढ्ने गर्थें । ‘रुपरेखा’ र ‘रचना’को त निकै फ्यान थिएँ । न्युरोड पीपलबोट पुगेको बेला रचना र रुपरेखा पाएजति सबै अङ्क किन्थें । त्यहाँ छापिएका क्लिष्ट कविता मलाई मन पर्थ्यो । त्यतिबेलै पारिजात, द्वारिका श्रेष्ठ, उपेन्द्र श्रेष्ठ, भूपी शेरचन, मोहन कोइराला ठम्याएर पढें । त्यतिबेलाका अरु साहित्यिक पत्रिका पनि सबै संकलन गरेको थिएँ ।
साहित्यिक पत्रिका पढ्दै जाँदा मलाई के लाग्यो भने, मेरो ठाउँबाट पनि यस्तै पत्रिका प्रकाशन गर्न पाए बनेपाको मात्र होइन जिल्लाकै उन्नति हुने थियो । मैले गरेको कामले सबैको हित हुने, साहित्यको पनि श्रीवृद्धि हुने ! यही सोचले पहिले हातेपत्रिका निकालें र त्यसपछि २०२७ ‘विगुल’ प्रकाशन थालें ।
‘विगुल’लाई त प्रशासनले हदैसम्म दमन गर्यो नि हैन ?
२०२८ को एक दिन विगुल काठमाडौंको प्रेसमा छापिँदै थियो । त्यस अंकमा विषेशतः शक्ति लम्सालको लेख र राल्फाली गीतहरू थिए । त्यहीबेला अञ्चलाधीश कार्यालयको टोली आएर छापिँदा छापिँदैको विगुल सबै जफत गरिदियो । जफतमात्र होइन, लगेर सबै जलाइयो । मैले एक प्रति पनि लुकाउन पाइनँ । अहिलेसम्म थकथक लागिरहन्छ ।
यसरी बिगुलको असामयिक अवशान भयो । पछि मैले ‘वेदना’ निकालें, ‘उत्साह’ सम्पादन गरें । अनि २०३९ मा विचारप्रधान ‘जनमत’ पाक्षिक र पछि जनमत साहित्यिक मासिक सुरु गरें ।
बेङ्गलुरु- भारतको बेङ्गलुरुमा रहेको मनिपाल हस्पिटलमा एक नेपाली उपचार अभावमा...