२०८० जेष्ठ १४, आईतवार
May 28, 2023, Sunday

धनगढी उपमहानगरपालिकाले “भूत”ले बनाइरहेको घर भत्काए पछि..


कैलाली – धनगढी उपमहानगरपालिका–७, देवरियामा रहेको सड्वा बाबा प्राकृतिक ताल कब्जा गरी रामबकस राना उर्फ भूत राना समूहले बनाएको निर्माणाधीन घर उपमहानगरपालिकाले भत्काएको छ। सदियौंदेखि प्राकृतिक तथा धार्मिक महत्वको सड्वा बाबा ताल पछिल्ला वर्षहरुमा अतिक्रमण हुँदाहुँदै अहिले पूरै ताल कब्जागरि भूत रानालगायतको समूहले घर निर्माणका लागि पिल्लर खडा गरेका थिए। तालकै अस्तित्व मेटिनेगरी अवैधरुपमा कब्जा निर्माण गरिएको संरचना भत्काएरै ताललाई पुरानै अवस्थामा फर्काउन थालिएको हो।

सड्वा बाबा तालको निसान नै मेटिने गरी अतिक्रमण गरेर पक्की भौतिक संरचना निर्माण गरिएको भन्दै स्थानीय आक्रोसित थिए। नाम नबताउने शर्तमा एक स्थानीयले भने, ‘भूत रानाको समूहले आएर तालकै अस्तित्व मेटिने गरी संरचना बनाउन थालेपछि उनका विरुद्धमा कसैले आवाजै उठाउन सकेनन्।’ ठूलो ताल रहेको क्षेत्रमा वरिपरिबाट कब्जा गरी घर निर्माण भए पनि बचेको तालको क्षेत्रमा भने कोरोनाका बेला मौका छोप्दै भूत राना समूहले ५६ पिल्लर हालेर ४२ कोठाको जग निर्माण गरेका थिए। केही भूमाफियाले ताल वरपरको जमिन कब्जा गर्दै बेच्दै गरेर पाँच वटा घर निर्माण भइसकेका छन्। बचेको तालमा भने भूतको समूहले ५६ वटा पिल्लरसहितको ४२ कोठे जग निर्माण गरेर छाडेको उनले बताए। देवरिया गाउँमै वर्षौंदेखि बसोबास गर्दै आएका स्थानीयका अनुसार सड्वा बाबा तालको क्षेत्रफल विगतमा ठूलो थियो। तर, अहिले अतिक्रमणको चपेटामा परेपछि उक्त तालको नामोनिसाना मेटिनेगरी पक्की भौतिक संरचना निर्माण भइसकेका छन्। नापी कार्यालयको नक्सामा सड्वा बाबा तालको नक्सा देखिए पनि त्यहाँ पुग्दा तालको निसानासमेत देखिँदैनथ्यो। तर, अहिले उपमहानगरपालिकाले कब्जा गरी निर्माण गरिएको संरचना हटाएपछि भने थोरै भए पनि तालको स्वरुप पुरानै अवस्थामा फर्किएको छ। केही स्थानीयले तालको कुना कुनामा कब्जा गर्दै घर बनाए पनि पछिल्लो समयमा बाँकी रहेको पूरै तालमा पिल्लर गाडेर जग निर्माण गर्ने भूत रानाको समूहका विरुद्धमा भने कोही पनि बोल्न चाहँदैनथे। ‘भूत’ का विषयमा गाउँमा कसैले पनि आवाज उठाउन नसक्ने गरेको नाम नबताउने शर्तमा एक स्थानीयले भने,‘सड्वा बाबा ताल पूरै कब्जागरी भूतले घर बनाएका थिए, उनका विरुद्धमा कोही बोल्नै सक्दैनथ्यौँ। तर, नगरपालिकाले भने संरचना भत्काएपछि हामी खुसी छौँ।’

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले विगतमा सड्वा बाबा ताल कब्जा गरी निर्माण गरिएको संरचनालाई हटाएको बताए । उनले भने,‘हामीले सड्वा बाबा तालको नाप नक्सा लियौँ । पुरानो नक्सा अनुसार नै कब्जा गरिएको क्षेत्रफललाई उपमहानगरपालिकाको मातहतमा ल्याउन सफल भएका छौँ ।’

Related News

सरकारको स्पष्टीकरण : रेशम चौधरीलाई रिहाइ गर्न कानुनभन्दा बाहिर गएका छैनौँ
सरकारको स्पष्टीकरण : रेशम चौधरीलाई रिहाइ गर्न कानुनभन्दा बाहिर गएका छैनौँ
  • २०७९ चैत्र १

काठमाडौं – सरकारले कानुनविद्हरूको सल्लाह सुझावका आधारमा रेशम चौधरीलाई रिहाइ...

TOP