२०७९ जेष्ठ १०, मंगलवार
May 24, 2022, Tuesday

कांग्रेस शीर्ष नेताहरु ‘सेल्फ क्वारेन्टाइन’ मा

विश्वव्यापी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमण खतरा बढेपछि नेपाली कांग्रेसका शीर्ष नेताहरूले छलफल र भेटघाट बन्द गरेका छन् । कोरोना भाइरसको बढ्दो खतराबाट जोगिन सावधानी अपनाउन कांग्रेसका शीर्ष नेताहरूले निवासमा हुँदै आएका छलफल र भेटघाट बन्द गरेका हुन् । 

कांग्रेस सभापति शेरबहादुर देउवाले विगत तीन दिनदेखि कसैसँग पनि भेटघाट गरेका छैनन् । यसअघि उनको बूढानीलकण्ठस्थित निवासमा बिहानैबाट नेता–कार्यकर्ताहरूको बाक्लो उपस्थिति हुन्थ्यो । “तीन दिनदेखि भेटघाट बन्द पूर्णतः बन्द छ,” सभापति देउवाका स्वकीय सचिव भानु देउवाले भने ।  

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि कोरोना भाइरसको संक्रमणबाट जोगिन नेता–कार्यकर्तासँगको भेटघाट बन्द गरेका छन् । उनले चैत ३ गतेबाट क्रमशः भेटघाटलाई पातलो गर्दै लगेको स्वकीय सचिव चिरञ्जीवी अधिकारीले बताए । नेता पौडेलले चैत ३ गते विज्ञप्ति जारी गरेर कोरोना भाइरसको संक्रमणबाट बच्न सामाजिक दूरी कायम गर्न र अत्यावश्यक काम तथा कुराकानी टेलिफोनमार्फत् गर्न आग्रह गरेका थिए । 

“कोरोना –कोभिड–१९) भाइरसको विश्वव्यापी महामारी फैलिरेहको अवस्थामा हामी नेपालीहरूले पनि रोगले आक्रान्त पार्नुअगावै सावधानी अपनाउनु आवश्यकता महसुस गरी म आफ्ना सबै मित्रलाई आह्वान गर्न चाहन्छु– हामी सबैले स्वयंबाट सामाजिक दूरी कायम गर्न सुरु गरौँं । आत्यावश्क काम÷कुराकानी टेलिफोन सम्पर्कबाटै गर्न सुरु गरौं,” पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको थियो । 

कांग्रेस उपसभापति विमलेन्द्र निधिले पनि राजीनतिक तथा सामाजिक भेटघाट पूर्णतः स्थगित गरेका छन् । कोरोना भाइरसको संक्रमणबाट जोगिन सावधानी अपनाउँदै भेटघाटहरू बन्द गरिएको उनका स्वकीय सचिव विश्वास विक्रमले जानकारी दिए । “दुई दिनदेखि भेटघाट टोटल्ली क्लोज छ,” उनले भने । 

कांग्रेस महामन्त्री शशांक कोइरालाले भने भेटघाट बन्द गरेका छैनन् । उनी आफ्नो निवासमा आउने नेता–कार्यकर्ताहरूसँग नियमित झै भेटघाट गर्दै आएका छन् । “भेटघाट बन्दै भनेर बन्द छैन, खुला भनेर खुला पनि छैन । आउने मान्छेले भेटेकै छन्,” उनको सचिवालय स्रोतले भन्यो ।    

यस्तै कांग्रेसमा तेस्रो धारको नेतृत्व गर्दै आएका नेता कृष्णप्रसाद सिटौलाले पनि संक्रमणबाट जोगिन सजगता अपनाए पनि भेटघाट भने बन्द गरेका छैनन् । उनले शनिबारसम्म निवासमा पार्टीका नेता–कार्यकर्ताहरूसँग भेटघाट गरेका छन् । भेटघाटका क्रममा संक्रमण फैलिन नदिन अपनाउनुपर्ने उपाय भने अबलम्बन गरिएको सिटौलाका स्वकीय सचिव किरण सिटौलाले बताए ।   

“शनिबारसम्म भेटघाट थियो । तीन मिटरको दूरी राखेर । भेट्न आउनेहरूका बीचमा पनि तीन मिटरको दूरी राखेका थियौं,” उनले भने, “सेनिटाइजर, मास्क प्रयोग गरेका थियौं ।” उनका अनुसार नेता सिटौला गृहजिल्ला झापाबाट फर्किएपछि भने भेटघाट बन्द हुनेछ । “बन्द गर्ने भन्ने थियो । उहाँ झापा जानुभएको छ । फर्किएपछि भेटघाट बन्द गर्छौं,” स्वकीय सचिव सिटौलाले भने । 

कांग्रेसले यसअघि फागुन २१ गते पत्रकार सम्मेलनमार्फत जोखिमसँग राख्नुपर्ने सतर्कतालाई दृष्टिगत गर्दै पार्टी र पार्टीसँग आवद्ध संस्थाहरूका सबै तहका ठूला भेला, सम्मेलन र सभालगायत कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरेको जनाएको थियो । 

यस्तै कांग्रेसले १४औं महाधिवेशन तयारीसँग सम्बन्धित क्रियाशील सदस्यता नवीकरण र वितरण तथा बाँकी समायोजनका काम पनि चैत ९ देखि लागु हुने गरी चैत मसान्तसम्मका लागि स्थगित गरिसकेको छ । 

Related News

दिसिनपा–२ का वडाध्यक्षको पहिलो निर्णय : एम्बुलेन्स खरिद र सहज स्वास्थ्य सेवा
दिसिनपा–२ का वडाध्यक्षको पहिलो निर्णय : एम्बुलेन्स खरिद र सहज स्वास्थ्य सेवा
  • २०७६ चैत्र ९

दिपायल- दिपायल सिलगढी नगरपालिका वडा नं. २ का वडाध्यक्ष राजेन्द्र...

TOP