२०८१ फाल्गुन ६, मंगलवार
February 18, 2025, Tuesday

सुदूरपश्चिमका ९ वटै जिल्ला अस्पतालमा आइसोलेसन कक्ष

धनगढी– कोरोना भाइरसको आशंका लागेका व्यक्तिको स्वास्थ्य परीक्षणका लागि सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्ला अस्पतालमा आइसोलेसन कक्ष निर्माण गरिएका छन्।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार आइसोलेसन कक्षमा शंकास्पद बिरामीलाई निगरानीका लागि राखिने छ।

आइसोलेसन कक्षमा हेरचाह गर्ने अलग्गै स्वास्थ्यकर्मी व्यवस्थापनसमेत गरिएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खडकाले बताए।

‘कोरोना भाइरसका लक्षण देखिएका व्यक्तिको उपचारका लागि हरेक जिल्ला अस्पतालमा कम्तिमा दुई बेडसहित आइसोलेसन कक्ष स्थापना गरेका छौँ’, उनले भने, ‘सीमा क्षेत्रमा राखिएका स्वास्थ्य हेल्थ डेस्कमा स्ट्याण्डवाई एम्बुलेन्सको समेत व्यवस्था गरिएको छ ।’

उनले सीमामा शंकास्पद व्यक्ति देखापरेमा तत्कालै एम्बुलेन्समार्फत आइसोलेसन कक्षमा राखेर स्वास्थ्य परिक्षण गर्ने गरेको बताए।

सीमा क्षेत्रमा बढी ओहोर–दोहोर हुने कैलालीको त्रिनगर नाका र कञ्चनपुरको गड्डाचौकी नाकामा रहेका स्वास्थ्य परीक्षण केन्द्रमा हरेक समय उपलब्ध हुनेगरी एम्बुलेन्स तैनाथ गरिएको उनले बताए।

हरेक अस्पतालमा आइसोलेसन कक्ष र स्वास्थ्यकर्मीको व्यवस्था भइसकेको बताउँदै उनले आवश्यक औषधिको व्यवस्थापन तथा उपकरणको व्यवस्थापन गर्न आपूर्ति शाखालाई निर्देशन गरिएको बताए।

उनले भने,  ‘त्यसै अनुसार आपूर्ति शाखाले व्यवस्थापन गरिरहेको छ। एक दुई दिनमै सबै जिल्लामा औषधि र आवश्यक उपकरण उपलब्ध हुनेछन्।’

भारतबाट आउने मानिसहरुकाे तापक्रम परीक्षण तथा निगरानी गरी सीमा क्षेत्रमा रहेका हेल्थ डेस्कमा थर्मल स्क्यानरको माध्यमबाट चेकजाँचपछि मात्रै नाका प्रवेश गर्न दिने गरिएको छ। कोरोना भाइरसबारे सर्वसाधारणलाई जानकारी दिनका लागि जनचेतनामूलक कार्यक्रमसमेत आयोजना भइरहेका उनले बताए।

उनका अनुसार सामाजिक विकास मन्त्रालयले सुदूरपश्चिमका ८८ वटै स्थानीय तहका प्रमुख उप–प्रमुख तथा स्वास्थ्य शाखाका कर्मचारीसँग आवश्यक समन्वय गरिरहेको छ।

स्थानीय तहले सरोकारवालाहरूसँग बैठक अन्तर्क्रिया लगायतका कार्यक्रम गरी महामारीका रूपमा फैलिएको कोरोनाबारे सचेत गराउन थालिएको सूचना अधिकारी खड्काले बताए। हालसम्म सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसका शंकास्पद बिरामी भने फेला परेका छैनन्।

सेती प्रादेशिक अस्पतालले कोरोनाको आशंकामा हालसम्म ६ जनालाई आइसोलेसन कक्षमा राखेर स्वास्थ्य परीक्षण गरेको छ । तर कसैमा पनि कोरोनाको रिपाेर्ट पोजेटिभ नभेटिएको आइसोलेसन वार्ड इन्चार्ज डाक्टर जगदिश जोशीले बताए।

शुक्रबार भारतबाट नेपाल फर्किएका तीन जनालाई कोरोना भएको आशंकामा सेती प्रादेशिक अस्पतालको आइसोलेसन कक्षमा राखिएको थियो। अत्तरियाबाट नियन्त्रणमा लिएर आइसोलेसनमा राखिएका उनीहरुमा कोरोनाको रिपाेर्ट नेगेटिभ देखिएपछि शुक्रबार नै अस्पतालबाट डिस्चार्ज गरिएकाे थियाे।

Related News

प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
  • २०७६ चैत्र ५

दिपायल – “प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिता २०८१”...

TOP