२०७९ आश्विन १७, सोमबार
October 3, 2022, Monday

सुदूरपश्चिमका १५४९ जनामा कोरोना संक्रमण : पाँच पालिका सिल

सुदूरपश्चिम प्रदेशमा २४ घण्टामा सवै भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, बिर अस्पताल र धनगढी प्रयोगशालामा गरिएको परिक्षणमा २ सय ७२ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

यो संगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको कुल संख्या १ हजार ५ सय ४९ पुगेको छ ।

पाँच पालिका सिल

एकै पटक ५६ जना कोरोना संक्रमित भेटिएपछि असार ४ गते डडेल्धुराको गन्यापधुरा गाउँपालिका सिल गरियो । एक साताका लागि गरिएको सिलको अवधिमा गन्यापधुराका स्वास्थ्य सेवा बाहेक अन्य सेवा बन्द गरिएका छन् । गाउँपालिकामा रहेका बजार, पसल तथा राजमार्ग बाहेकका अन्य सडकमा स्थानीयहरुका यातायातका साधन समेत चल्न रोक लगाइएको छ । गाउँपलिका सील गरी हिडडुल लगायतका गतिबिधिमा समेत रोक लगाइएको अध्यक्ष मल्लले बताए । अध्यक्ष मल्लले भने ‘गाउँपालिकाको नाकामा बसेर प्रहरीले निगरानी गरिरहेको छ ।’

गन्यापधुरा नगरपालिका सिल भएको एक साता नबित्दै सुदुरपश्चिम प्रदेशमा सिल गर्ने पालिाहरुको संख्या ५ पुगेको छ । पछिल्लो समय हरेक दिन संक्रमितको संख्या बढ्दै जाँदा सिल गर्ने र पालिकाहरुको संख्या बढ्ने क्रम जारी छ ।

गन्यापधुरा सिल गरिएको दोश्रो दिन असार ५ गते दिउसोदेखि डडेल्धुराको सदरमुकाम समेत रहेको अमरगढी नगरपालिका सिल गरियो । अमरगढी नगरपालिकामा संक्रमित संख्या बढी भएर नभइ, नजीकका पालिकाहरुमा बढेको संक्रमणले प्रभाव पार्न सक्ने भएकोले सिल गरिएको हो । अमरगढीमा संक्रमित थोरै संख्या (त्यतिखेर ४ जना) मा पत्ता लागे पनि अन्य स्थानीय तहमा क्वारेन्टिइनबाट घर पठाइएका शंकास्पद संक्रमितहरु बजार घुम्न थालेपछि जोखिम बढेको आकलन नगरपालिकाले गरेको थियो । मेयर बिशेश्वर प्रसाद ओझाले भने ‘नजीकका पालिकाहरुमा बढेको संक्रमणले प्रभाव पार्न सक्ने भएकोले सिल गरिएको हो ।’

सिल गरिएपछि बजार बन्द, कार्यालय बन्द हुने र जनजीवन झन प्रभावित हुने गरेको छ । तर कोरोनाबाट बच्न भौतिक दुरी कायम गर्नु पर्ने नियमको पुर्ण पालना कार्यान्वयन गराउन पालिकाहरुले स्थानीय प्रहरी प्रशासनसँग समन्वय गरेर सिल गर्दै आएका छन् । सिल गरिएपछि चहलपहल कम भएर कोरोना संक्रमण कम हुने आकलन पालिकाहरुको छ ।

कोरोनाको संक्रमण बढ्दै गएपछि सुदुरपश्चिमका सात पहाडी जिल्ला जाने मुख्य राजमार्गमा रहेको गोदावरी नगरपालिकाममा बजार बन्द गरिएको छ । शुरुमा सिल गर्ने भनिए पनि सरकारले कर संकलनका लागि बजार खुला गरेको बेलामा पहाडी र पुर्व पश्चिमको पुरै आवतजावत बन्द हुने भन्दै पछि बजार मात्र बन्द गरिएको छ । भारतबाट आएका नेपालीहरुलाई गड्डाचौकीबाट जिल्ला जिल्लामा पुरयाउने काममा खटिएका पुष्कर भट्टको कोरोना संक्रमणका कारण सेती प्रादेशिक अस्पतालमा मृत्यु भएपछि गोदावरी नगरपालिकाले उद्योग वाणिज्य संघसँग सल्लाह गरेर बजार बन्द गराएको हो । गोदावरी बन्द गराउने तेश्रो पालिका हो ।

क्वारेन्टिनबाट भागेर घर गएका १८ जनामा कोरोना संक्रमण भेटिएपछि पुर्व पश्चिम राजमार्गमै रहेको गौरीगंगा नगरपालिकाले पनि असार ८ देखि पालिका सिल गर्ने निर्णय गरेको छ । समुदायमा जोखिम बढेको भन्दै गौरीगंगाले सिल गर्ने निर्णय गरेपछि मसुरिया, चौमाला, बढैपुर बजारहरु बन्द छन् । चहलपहल निकै घटेको छ ।

पालिका सिल गर्ने पछिल्लो पालिका बैतडी जिल्लाको सदरमुकाम समेत रहेको दशरथ चन्द नगरपालिका हो । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि दशरथ चन्द नगरापलिकाले असार १० देखि १६ गतेसम्मका लागि सिल गरेको हो । नगरपालिकाका प्रमुख नरेन्द्र सिंह थापाले कोरोनाको समुदायसम्म जान सक्ने भएकोले सिल गरिएको बताए । अत्यावश्यक खाद्यान्न, दुधका ट्यांकर, एम्बुलेन्स लगायतका साधनहरु सञ्चालन हुन पाउने, सामाजिक दुरी कायम गर्दै औषधि पसल खोल्न पाइने, जन्ती र ब्रतबन्धमा १५ जनासम्म सम्मिलित हुन पाइने नगरपालिकाले प्रकाशीत गरेको सूचनामा उल्लेख गरिएको छ । यस्तै नगरपालिकाभित्रका बैङ्क तथा वित्तीय संस्था हप्ताको ३ दिन आइतबार, मङ्गलबार र बिहीबार खोल्न सकिने उल्लेख गरिएको छ ।

Related News

आइतबार सिलगढी सांस्कृतिक कार्यक्रम हुने
आइतबार सिलगढी सांस्कृतिक कार्यक्रम हुने
  • २०७७ असार ११

दिपायल – हिन्दुहरूको महान् चाड वडा दशैं, दीपावली तथा छठ पर्वको...

TOP