२०७८ बैशाख ४, शनिबार
April 17, 2021, Saturday

इम्युनिटी के हो, हाम्रो शरीर कसरी लड्छ संक्रमणसँग ?

स्कन्द शुक्ल
इम्युनिटी अर्थात् प्रतिरक्षा शब्द जति विज्ञानमा प्रयोग हुन्छ, त्योभन्दा धेरै बोलीचालीमा। कोरोना संकटका कारण सबैले इम्युनिटी बढाउने अनेक उपाय खोजिरहेका छन्।

वैज्ञानिक र चिकित्सकबाहेक अधिकांशले इम्युनिटीलाई हल्का रुपमा प्रयोग गरिरहेको देखिन्छ। तपाईंलाई बारम्बार ज्वरो आउँछ भने भनिन्छ, तपाईंको रोग प्रतिरोधी क्षमता अर्थात् इम्युनिटी कम छ। तपाईंलाई कमजोरी महसुस हुन्छ? डाक्टरसँग जाँच गराएर सोध्नुस् इम्युनिटी बढाउन के खाने, के गर्ने र जीवनशैली कस्तो बनाउने?

इम्युनिटी बुझ्न शरीरको मूल व्यवहार बुझ्नु जरुरी छ। सबै जीवको शरीरले आफ्नो र अर्कोको भेद सजिलै थाहा पाउँछ। शरीरका लागि आफ्नो र अर्को थाहा पाइराख्नु जरुरी हुन्छ। यो थाहा पाएपछि शरीरले आफ्नो रक्षा गर्छ र अर्कोबाट सावधान हुन्छ। जो बाहिरबाट शरीरमा आक्रमण गर्न आउँछ… ऊसँग लड्छ, त्यसलाई नष्ट गर्ने प्रयास गर्छ।

शरीरको प्रतिरक्षा प्रणाली अर्थात् इम्युन सिस्टमले आफ्नो र अरुको भेद राम्रोसँग बुझेको हुन्छ। उदाहरणका लागि मनुष्यको शरीरको प्रतिरक्षा कोशिकालाई अमुक कोशिका आफ्नो र क्तको हो र अमुक बाहिरबाट आएको जीवाणु कोशिका हो भन्ने सजिलै थाहा हुन्छ।
उसले आफ्नो परिवारको रक्त कोशिकासँग बेग्लै व्यवहार गर्छ र बाहिरबाट आएको जीवाणु कोशिकासँग बेग्लै। यो बेग्लाबेग्लै व्यवहार प्रतिरक्षा प्रणालीका लागि निकै जरुरी हुन्छ।

प्रतिरक्षा प्रणाली अधिकांश मानिसले ठानेजस्तो सरल हुँदैन। इम्युनिटी कुनै एक वस्तु खाएर वा नखाएर बढाउन सकिँदैन। न त कुनै राम्रो–नराम्रो व्यवहार यसका लागि जिम्मेवार हुन्छ।

प्रतिरक्षा प्रणालीमा अनेक रसायन हुन्छन्, भिन्नभिन्न प्रकारका कोशिका हुन्छन्। यी सबैका क्रियाकलाप बेग्लाबेग्लै हुन्छन्। हजारौं तार भएको कुनै वाद्ययन्त्रजस्तो। जसको एउटा मात्र तारबारे थाहा पाएर न त संगीत बुझिन्छ, न बजाउन सकिन्छ।

प्रतिरक्षा प्रणाली सम्पूर्ण शरीरमा व्याप्त हुन्छ। रगतमा, छालाभित्र, फोक्सोमा, मस्तिस्क र आन्द्रामा पनि। जताततै। यो प्रणालीलाई मोटामोटी दुई भागमा वर्गीकरण गर्न सकिन्छः पहिलो जन्मजात प्रतिरक्षा प्रणाली र दोस्रो आर्जित प्रतिरक्षा प्रणाली।

जन्मजात वा इनेट प्रणालीे हाम्रो शरीरमा पहिलेदेखि नै हुन्छ। प्रतिरक्षा प्रणालीको यो भागमा ती संरचना, रसायन र कोशिका हुन्छन्, जुन प्राचीन समयदेखि जीवमा हुन्छन्। मानिसबाहेक अन्य जीवजन्तुमा पनि यस्तै खालका संरचना–रसायन–कोशिका हुन्छन् जसले संक्रमणबाट शरीरको रक्षा गर्छन्।

उदाहरणका लागि हाम्रो छालाको पत्र र आमाशयमा हुने हाइड्रोक्लोरिक एसिड अन्य जीवमा पनि हुन्छ। यसैगरी हाम्रो शरीरभित्र अनेक न्युट्रोफिल र मोनोसाइटजस्ता प्रतिरक्षक कोशिका हुन्छन्। यी सबै मानिसभित्र जन्मजात हुन्छन्।

हामीभित्रको प्रतिरक्षा प्रणालीले सबैभन्दा पहिले कुनै किटाणु शरीरमा प्रवेश गर्यो भने त्यससँग संघर्ष गर्छ। तर यो धेरै उन्नत र विशिष्ट हुँदैन। यो प्रणालीका कोशिकाले बेग्लाबेग्लै शत्रुलाई पहिचान गर्न सक्दैन।

शत्रुलाई नष्ट गरेपछि यी कोशिकाले यो लडाइँंको कुनै स्मृति राख्दैनन्। यी सबै कुरालाई ध्यानमा राखेर प्रतिरक्षा प्रणालीको अर्को भाग आर्जित प्रतिरक्षा प्रणालीलाई बुझ्न सकिन्छ।

आर्जित अर्थात् अक्वायर्ड। त्यो जुन हामीसँग छैन तर, आर्जन गर्नु छ। पछि बनाउनुपर्ने यो भाग अधिक उन्नत हुन्छ। यसका रसायन र कोशिका विशिष्ट हुन्छन्। अर्थात् खास रसायन र कोशिका खास शत्रु किटाणुसँग लड्छन्। प्रत्येक खालका किटाणु शरीरमा प्रवेश गरेपछि खास किसिमका प्रतिरक्षक कोशको विकास गरिन्छ, जसले ती किटाणुसँग लडुन् र नष्ट गरुन्।

लडाइँमा यी कीटाणुलाई हराएपछि कोशिकाले आफूले हराएका किटाणुको स्मृति आफूभित्र राख्छन् र फेरि आक्रमण भयो भने अझ सहज रुपमा ती किटाणुलाई हराउँछन्। लिम्फोसाइट कोशिका आर्जित प्रतिरक्षा प्रणालीको प्रमुख प्रकारको कोशिका हो।

जन्मजात र आर्जित, प्रतिरक्षा प्रणलीका दुवै हिस्सा मिलेर शत्रु किटाणुसँग लड्छन्। कुनै संक्रमणमा जन्मजात प्रतिरक्षा अधिक काममा आउँछ, कुनैमा आर्जित प्रतिरक्षा र कुनैमा दुवै। यतिमात्र होइन क्यान्सरजस्ता रोगमा पनि प्रतिरक्षा प्रणालीका कोशिका लडेर त्यसबाट शरीरलाई बचाउने कोसिस गर्छन्।

यद्यपि, क्यान्सरका कोशिका शरीरभित्रै पैदा हुन्छन् तर प्रतिरक्षा प्रणालीले यी आफ्ना होइनन् भन्ने पहिचान गर्न सक्छन्। यस्तोमा प्रतिरक्षा प्रणालीले क्यान्सर कोशिकालाई विभिन्न तरिकाबाट नष्ट गर्ने प्रयास गर्छ।

आर्जित प्रतिरक्षा प्रणालीको विकास संक्रमणबाट वा खोप लगाएर हुन्छ। संक्रमणबाट हुने विकास प्राकृतिक हुन्छ भने खोप लगाएर हुने विकास मानव निर्मित।

वर्तमान कोभिड– १९ महामारी सार्स सीओभी– २ विषाणुका कारण भइरहेको छ। यो विषाणु शरीरमा प्रवेश गरेपछि प्रतिरक्षा प्रणालीका दुवै भाग सक्रिय हुन्छन्। प्रतिरक्षा प्रणालीले विषाणु भरिएको कोशिकालाई नष्ट गर्न प्रयास गर्छ।

तर, यो विषाणु नयाँ भएकाले, जन्मजात प्रतिरक्षा प्रणालीले यसमा ठूलो योगदान दिन सक्दैन। यो विषाणुसँग लड्ने जिम्मेवारी आर्जित प्रतिरक्षा प्रणालीमा आउँछ। आर्जित प्रतिरक्षा प्रणालीले उपयुक्त कोशिका र रसायनको विकास गरेर यो विषाणुबाट शरीर रक्षाको प्रयास गर्छ।

मानिसको प्रतिरक्षा प्रणालीका लागि कोभिड– १९ कोे संक्रमण नयाँ हो। त्यसैले यसलाई पहिचान गर्न र लड्न अन्य संक्रमणभन्दा गाह्रो भएको हो। यस्तो बेला उपयुक्त खोपको विकास भयो भने त्यसले आर्जित प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ।

खोपबाट उचित प्रशिक्षण पाएको योद्धा कोशिका शरीरमा पहिल्यैदेखि हुने हो भने शरीरभित्र जब सार्स–सीओभी २ प्रवेश गर्छ तब ती कोशिकाले यसलाई सजिलै नष्ट गर्न सक्छन्। तर, सफल खोप निर्माण र प्रयोगमा अझै एक डेढ वर्ष लाग्न सक्ने विशेषज्ञहरु बताउँछन्।

आफ्नो र बाहिरको रसयान वा किटाणुमा भेद गर्न सक्नु, जटिलता र शरीरभरि उपस्थित, जन्मजात र आर्जितका रुपमा हुनु प्रतिरक्षा प्रणालीका महत्वपूर्ण विशेषता हुन्।

प्रतिरक्षा प्रणाली न सजिलै बुझ्न सकिन्छ न केही प्रयास गरेर सधैं स्वस्थ राख्न सकिन्छ। प्रतिरक्षा प्रणाली धेरै हदसम्म हाम्रो आनुवंशिकी अर्थात् जेनेटिक्समा निर्भर गर्छ। कोशिकाको भित्र स्वास्थ्य जिनमात्रै आओस्, यसका लागि हामीले धेरै केही गर्न सक्दैनौं।

यद्यपि, सही र सन्तुलित भोजन, निरन्तर शारीरिक र मानसिक व्यायाम, उचित निद्रा र तनावबाट मुक्तिले शरीर स्वस्थ्य राख्न मद्दत पुग्छ।

साथै वरपरको पर्यावरणबाट प्रदूषण घटाएर प्रतिरक्षा प्रणालीलाई स्वस्थ्य राख्ने साझा प्रयास पनि गर्न सक्छौं।
यहाँनिर एउटा कुरा महत्त्वपूर्ण छ, जस्तै: कोही पढेरमात्र पास हुन सक्दैन त्यस्तै प्रयास गरेर मात्र इम्युन सिस्टम बलियो हुँदैन। किनभने पढ्नु पास हुने प्रयास हो तर, पास हुने ग्यारेन्टी होइन। त्यसैगरी प्रतिरक्षा प्रणालीलाई सन्तुलित भोजन खाएर, ठिकसँग सुतेर, तनावबाट टाढा रहेर र व्यायाम गरेर स्वास्थ्य राख्ने प्रयास गर्न सकिन्छ।

व्यक्तिगत र सार्वजनिक पर्यावरणलाई यथासम्भव स्वस्थ राख्नु नै प्रतिरक्षा प्रणालीका लागि हाम्रो योगदान हुन सक्छ। तर, आनुवंशिकी (जेनेटिक्स) त शरीरमा जस्तो छ, त्यस्तै रहन्छ।

इम्युनोलोजिस्ट डा. स्कन्द शुक्लको यो लेख डाउन टू अर्थबाट साभार गरिएको हो। nepalsamaya

Related News

डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन : संयोजकमा बलायर
डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन : संयोजकमा बलायर
  • २०७७ जेष्ठ १४

कैलाली- डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन गरिएको छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशको लोक संस्कृती, डेउडाको संरक्षण एबं सम्बद्र्धन गर्न...

नेपालमा फैलियो डबल म्युटेन्ट र  यूके भेरियन्ट कोरोना
नेपालमा फैलियो डबल म्युटेन्ट र यूके भेरियन्ट कोरोना
  • २०७७ जेष्ठ १४

काठमाडौं- नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट (यूके भेरियन्ट) फैलिएको पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्णप्रसाद पौडेलका अनुसार...

केआइसिंहमा शुभकामना आदान प्रदान
केआइसिंहमा शुभकामना आदान प्रदान
  • २०७७ जेष्ठ १४

डोटी- केआइसिंह गाउँपालिकामा नयाँ वर्ष २०७८ एवं बिसौं पर्वको शुभकामना आदान प्रदान गरिएको छ । नेपाली कांग्रेस केआइसिंह गाउँपालिका वडा...

TOP