कैलाली गाउँपालिका–८ की आस्मा चौधरीलाई महिनावारी भएको कुरा अरूलाई सुनाउन लाज लाग्ने गर्दथ्यो। पर सरेको कुरा सकेसम्म कसैले थाहा नपाओस् भन्ने उनको चाहना हुन्थ्यो।
त्यतिखेर उनीलाई स्वास्थ्य सरसफाइ कसरी गर्ने भन्ने कुराको पनि राम्रो ज्ञान थिएन। घर परिवार वा साथीभाइसँग महिनावारी भएको कुरा गर्दा केही भन्छन् कि भन्ने चिन्ता त थियो नै, कुरा गर्न पनि लाज लाग्ने गर्थ्यो उनलाई ।तर अहिले महिनावारी भएको कुरा घर परिवार र साथीभाइलाई नलजाई ढुक्कले सुनाउने गरेकी छिन् ।
महिनावारी भएको समयमा पीडासमेत लुकाउन खोज्ने आस्मा यति बेला भने महिनावारी लगायत यौन र प्रजननको कुरा खुलेर सुनाउने गरेकी छिन । उनीमा यतिसम्मको चेतना तथा परिवर्तन भने त्यसै आएको होइन। किशोरकिशोरीलाई लक्षित गरेर कैलाली–८ मा सञ्चालन गरिएको ‘रूपान्तरण’ कक्षामा सहभागी भएपछि आस्मामा यस किसिमको चेतना र परिवर्तन आएको हो। आस्माले भनिन् , “कसैले केही नभन्दा पनि लाज लाग्ने र डर नै लाग्थ्यो।” आस्मा जस्तै ग्रामीण क्षेत्रका किशोरकिशोरी अहिले यौन तथा प्रजनन स्वास्थ्यका बारेमा खुलेर कुरा मात्रै गर्दैनन्, यसबारे सचेत पनि हुन थालेका छन्।
रूपान्तरण कक्षामा सिकाइको स्वास्थ्य शिक्षा र प्रजननका विषयमा दिइएको प्रशिक्षणले किशोरकिशोरी पूर्ण रूपमा सचेत बन्न थालेका हुन्। यौन हिंसा, घरेलु हिंसा, बालश्रम, बालविवाह, बाल अधिकार, नागरिक अधिकारलगायत विविध विषयमा जानकार हुन थालेका छन्। उमेरसँगै आइपर्ने शारीरिक तथा मानसिक चुनौती, शारीरिक परिवर्तनलगायत विभिन्न समस्याका बारेमा साथीसँगी, दौँतरी र घर परिवारसँग खुलस्त रूपमा कुरा राख्ने गरेको किशोरकिशोरीको भनाइ छ।
आफूलाई परेको स्वास्थ्य तथा अन्य हिंसाजन्य समस्या विद्यालयका साथीभाइलाई सुनाउनुका साथै घरमा परिवारका सदस्यसँग पनि खुलेर राख्ने गरेको १६ वर्षीय किशोर सुमित चौधरीले बताए ।“आफूले भोगिरहेको समस्या र आफ्नो आवश्यकता परिवारलाई खुलेर सुनाउनुपर्छ,” उनले भने, “हाम्रो समस्या बुझेपछि न अभिभावकले समाधानको उपाय खोज्ने हो।” विगतमा जिद्दी गरेर अभिभावकबाट पैसा माग्ने र खर्चिने गरेको सुनाउँदै सुमितले आजकल बचत गर्ने बानी बसालेको बताए । “बचत गर्न थालेपछि अहिले मप्रति बा–आमाको विश्वास बढेको छ,” बढ्दो उमेरसँगै शरीरमा आउने परिवर्तनका कारण यही बेला बढी तनाव तथा समस्या हुने गरेकाले किशोरावस्थालाई सहज तथा सरल बनाउने र विविध कुराबारे जानकारी दिने उद्देश्यले रूपान्तरण कक्षा सञ्चालन गरिएको हो।
किशोरकिशोरीका लागि प्रत्येक हप्ताको एक दिन यो कक्षा सञ्चालन हुने गरेको छ। किशोरावस्थामा किशोरकिशोरीले सही शिक्षा नपाएमा बरालिने सम्भावना बढी हुने भएकाले जीवनोपयोगी शिक्षाको खाँचो रहेको उनले औँल्याए । किशोरकिशोरी उमेर काँचो उमेर हो, यो उमेरमा सही शिक्षा पाएमा भविष्य राम्रो बन्छ, गलत शिक्षाले किशोरकिशोरीको भविष्य अन्धकार बन्छ, उनले भने ।यौन तथा प्रजनन शिक्षाले किशोरकिशोरीको जीवनमा सकारात्मक प्रभाव पारेको कैलाली गाउँपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख बालकुमारी चौधरीले बताइन् । अभिभावकले पनि आफूले सिकेको सिप बालबालिकालाई सिकाउनुपर्ने बताए । गोरखापत्र
दिपायल, वैशाख १७ गते । डोटीमा इभि हाइस दुर्घटना हुँदा...