२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025, Thursday

आयुर्वेद चिकित्सालय दीर्घरोगका लागि उपयोगी

धनगढी – धनगढीकी खगिता रोकायालाई टाउको दुख्ने समस्या छ। उहाँले यस रोगको उपचारका लागि पाँच वर्षसम्म विभिन्न अस्पताल धाइन  तर समस्या ज्युँका त्युँ भयो। 

“उपचार गराउँदा गराउँदै ऋण लाग्यो,”  “तर पनि टाउको दुख्ने समस्याबाट छुटकारा मिलेन ।” अहिले त एलोपेथिक औषधि देखेर दिग्दार लाग्ने गरेको छ । उनी बताउँछिन् ।“अब त औषधि पनि खान छोडिदिएँ।” एलोपेथिक उपचार पद्धतिबाट टाउको दुख्ने समस्याबाट छुटकारा नपाएपछि रोकाया आयुर्वेद औषधि उपचार गराउन थाल्नुभयो ।

धनगढी उपमहानगरपालिका–१३, राजपुरमा यसै वर्षबाट प्रादेशिक आयुर्वेद चिकित्सालय सञ्चालनमा आएपछि उहाँलाई एलोपेथिक उपचार छाडेर आयुर्वेदिक उपचार गर्ने इच्छा जागेको हो। “आयुर्वेदिक उपचारपछि अलि सहज महसुस गरेकी छु,” उहाँले भन्नुभयो, “पहिले यस्तो सुविधा नभएर भारतसम्म धाउनु प–यो।” 

धनगढीमा ५० शय्याको आयुर्वेद चिकित्सालय सञ्चालनमा आएपछि खगिता मात्र हैन, उहाँजस्तै कैयौँ दीर्घ र जीर्ण रोगीलाई उपचार गर्न सहज भएको छ। अन्य उपचारबाट आजित भएका दीर्घरोगीले आयुर्वेद चिकित्सालयलाई रोज्न थालेका छन्। यहाँ औषधि पनि निःशुल्क पाइने भएकाले उपचार गर्न आउनेको लर्को नै लागेको छ।

धनगढी उपमहानगरपालिका–४, बोराडाँडीकी चन्द्रपति चौधरी उपचार राम्रो भएकाले आफू ‘फलो अप’मा आएको बताउनुहुन्छ। उहाँका अनुसार आयुर्वेद चिकित्सालयमा उपलब्ध भएका जति सबै औषधि निःशुल्क रूपमा पाइन्छ। “यहाँ नभएको औषधि मात्रै बाहिर आयुर्वेद औषधालयमा किन्नु पर्दछ,” उहाँले भन्नुभयो, “डाक्टरले पनि राम्रोसँग चेकजाँच तथा सुझाव सल्लाह दिने गरेका छन्।” 
यसअघि आयुर्वेद औषधालय नहुँदा धेरैजसो बिरामी उपचारका लागि नेपाल र भारतका विभिन्न अस्पतालमा भौँतारिनुपर्ने अवस्था रहेको थियो।

अब टाढा टाढाबाट पनि बिरामी उपचारका लागि प्रादेशिक आयुर्वेद चिकित्सालयमा पुग्ने गरेका छन्।चिकित्सालय व्यवस्थापन समितिका अध्यक्ष नरेश विष्टले दैनिक डेढदेखि दुई सय जना बिरामीले चिकित्सालयबाट निःशुल्क रूपमा सेवा लिइरहेको बताउनुहुन्छ ।

सङ्घीय सरकारको ३४ करोड रुपियाँ लगानीमा बनेको प्रादेशिक आयुर्वेद चिकित्सालय असोज ११ गतेबाट सञ्चालनमा आएको हो। चिकित्सालयमा ल्याब, ओपीडी, पञ्चकर्म र पूर्वकर्म सेवा रहेका छन्। पायल्स, पेट, बाथ, फिस्टुलालगायत विभिन्न कब्जियत रोगको उपचार भइरहेको वैद्य सुरेन्द्र शाहीले जानकारी दिनुभयो। बिरामीको चाप बढ्दै गएमा आगामी दिनमा सेवा थपिँदै लैजाने तयारी भएको उहाँ बताउनुहुन्छ ।

Related News

शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
  • २०७९ चैत्र २८

दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...

TOP