दिपायल – भारतबाट स्वदेश फर्किने नेपाली नागरिकमा कोरोना सङ्क्रमण देखा पर्न थालेको छ ।
सीमा नाकाहरुमा परीक्षण गर्दा भारतबाट स्वदेश फर्किएकाहरुमा सङ्क्रमण देखिन थालेको हो । सुदूरपश्चिमका भारतसँग जोडिएका सबै नाकाहरुमा नियमित रुपमा कोरोना परीक्षणको कार्य जारी रहेको छ ।
यहाँका सीमा नाकाहरुमा परीक्षण गर्दा दैनिक रुपमा कोरोना सङ्क्रमण देखिरहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड-१९ सम्र्पक व्यक्ति हेमराज जोशीले जानकारी दिए । चैत महिना सुरु भएयता मात्रै यस प्रदेशमा भारतबाट फर्किएका ४३ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । उनले भने, “यो महिना कोरोना सङ्क्रमण बढ्दै गएको छ । सङ्क्रमित सबै भारतबाट फर्किएका रहेका छन् । भारतबाट फर्किनेमा कोरोना देखिन थालेपछि सीमा क्षेत्रमा जोखिम बढेको छ ।”
भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका झुलाघाट, पुलघाट, जौलजीवी, गड्डाचौकी र त्रिनगर नाकाबाट हाल दैनिक रुपमा स्वदेश फर्किनेको क्रम पनि बढेको हो । नयाँ वर्ष नजिक आइरहेका बेला यहाँका नाकाहरुमा भारतबाट स्वदेश फर्किनेको सङ्ख्या पनि बढ्दै गएको छ । नयाँ वर्ष तथा बिशु पर्व मनाउन गाउँ फर्किनेको सङ्ख्या बढेकाले सङ्क्रमणदर पनि वृद्धि भएको जोशीले बताए । नाकामा हेल्थ डेस्क स्थापना गरेर एन्टीजेन परीक्षणको व्यवस्था गरिएको छ। भारतमा सङ्क्रमण तीव्र रुपमा फैलिरहेकाले यहाँका नाकामा स्वास्थ्य चेकजाँचमा कडाइ गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड-१९ सम्पर्क व्यक्ति जोशीले बताए ।
भारतका विभिन्न कोरोना सङ्क्रमण देखिन थालेकाले त्यसको प्रभाव सुदूरपश्चिम प्रदेशमा पनि देखिन थालेको हो। जोखिम बढेसँगै सीमा नाकामा स्वास्थ्य जाँचमा कडाइ गर्नाका साथै खोप अभियानलाई पनि निरन्तरता दिइएको जोशीको भनाइ छ । सीमानाकामै हेल्थ डेस्क स्थापना गरी एन्टीजेन परीक्षणमार्फत परीक्षणको काम भइरहेको छ । प्रदेशभरि नै हाल ५५ वर्षमाथिका सबैलाई बुस्टर डोज लगाउने क्रम जारी रहेको निर्देशनालयले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशमा हालसम्म छ लाख ४४ हजार चार सय ५४ जनाको कोरोना परीक्षण गरिएकामा ६१ हजार नौ सय २७ जनामा सङ्क्रमण भइसकेको छ । सङ्क्रमणकै कारण यस प्रदेशमा छ सय ३५ जनाको ज्यान गइसकेको छ ।
दिपायल – वरिष्ठ नृत्य निर्देशक राम बहादुर रावल “प्रज्ञा प्रादेशिक...