दिपायल- शिखर नगरपालिका–१० बानीडुग्रीसैनकी ७९ वर्षीया पशुपति बलायर घरको आँगनमा घाम ताप्दै बस्नु भएको थियो । स्वास्थ्यकर्मीको टोलीसहित नगर प्रमुख दीर्घ बलायर एक्कासि उहाँ भए तीर जानु भयो र सोध्नु भयो, “बजै (हजुरआमा) तपाईँलाई कस्तो छ ? मलाई चिन्नु भयो ?”
उहाँले विस्तारै चिनेन भनेर जवाफ दिनु भयो । प्रतिउत्तरमा नगर प्रमुख बलायरले भन्नु भयो,“म मेयर हुँ, तपाईँको स्वास्थ्य चेकजाँच गर्न र औषधि दिन स्वास्थ्यकर्मी ल्याएर आएको हुँ ।” जेष्ठ नागरिक पशुपतिले मेयर बलायरको कुरा नसकिदै भन्नु भयो,“आउनु परेन त ! हामीले भोट दिएर जिताएका हौं, म त हिड्न पनि सक्दैन, आँखा पनि राम्रोसँग देख्दैन, कतै जान पनि सक्दैन । घरमै बसेर औषधि उपचार चाहियो, बरु पैंसा दिन्छु ।” नगर प्रमुखले सम्झाउदै भन्नु भयो,“हामीले निःशुल्क औषधि पनि दिन्छौ, चेकजाँच पनि गर्छौ र हाम्रा स्वास्थ्यकर्मीहरुले नियमित औषधि सेवन गर्नु विरामीहरुलाई निगरानीमा राख्छन् ।”
सोही ठाउँका ६५ वर्षीय कर्ण बहादुर बलायरमा स्वास प्रस्वासको समस्या देखियो । उहाँ घरमा लामो स्वास लिदै खोक्दै बस्नु भएको थियो । स्वास्थ्यकर्मीको टोलीले उहाँको चेकजाँच ग¥यो र नेवुलाइजर मसिनबाट वाफ दियो । उहाँलाई नियमित वाफ लिन नजिकैको सवास्थ्य संस्थामा आउन सुझाव दिदै औषधि दिएर जेष्ठ नागरिक भएको अर्को घरमा पस्यो ।
शिखर नगरपालिकाले वर्षेनी नगरका जेष्ठ नागरिकहरुलाई यसै गरी स्वास्थ्य सेवा दिदै आएको छ । नगरको “जेष्ठ नागरिकसँग मेयर” कार्यक्रम अन्तरगत नगरका ११ वटै वडाहरुमा मेयर, उप–मेयर, वडाध्यक्ष लगायतका जनप्रतिधिहरु स्वास्थ्यकर्मीसहित जेष्ठ नागरिकका घर–घरमा पुगेर स्वास्थ्य सेवा दिदै आएका छन् ।
वर्षको एक पटक जेष्ठ नागरिकको स्वास्थ्य जाँच गर्ने, औषधि वितरण गर्ने र दीर्घरोगीहरुलाई नियमित औषधि उपचारमा सहयोग गर्ने गरेको स्वास्थ्य शाखा प्रमुख हरिष शाहले शिखर समाचारसँग बताउनु भयो । “जाडो मौसममा जेष्ठ नागरिकहरुमा बढी समस्या देखिन्छ,“उहाँले भन्नु भयो,“दीर्घरोगीहरुलाई बढी स्याहार चाहिन्छ । उहाँहरु सामान्य समस्या लिएर स्वास्थ्य संस्था आउन मान्नु हुन्न । तसर्थ हामीले नगरका नियमित औषधि सेवन र चेकजाँच गर्नु पर्ने व्यक्तिहरुको विवरण राखेका हुन्छौं त्यही विवरण अनुसार औषधि र उपचारको व्यवस्था गछौं । वर्षेनी एक हजार देखि १२ सय जना जेष्ठ नागरिकहरुलाई सेवा दिने गरेका छौं ।”
यस वर्षको जेष्ठ नागरिकसँग मेयर कार्यक्रम आइतबाट वडा नं. १० बाट सुरु गरिएको हो । नगरपालिकाले नेपाल सरकारबाट स्वास्थ्य संस्थामा प्राप्त औषधिसहित थप आवश्यक औषधि खरिद गरेर आवश्यकता अनुसार उपलब्ध गराउने गरेको नगर प्रमुख दीर्घ बलायरले शिखर समाचारसँग बताउनु भयो । दीर्घरोगी जेष्ठ नागरिकहरुले सेवन गर्दै आएका कतिपय औषधिहरु सरकारबाट प्राप्त हुँदैनन्,“उहाँले भन्नु भयो,“त्यस्ता औषधिहरु हामीले नगरको आन्तरिक श्रोतबाट खरिद गरेर उपलब्ध गराउने गरेका छौं । अभियानका क्रममा विरामीहरुको स्वास्थ्य जाँच, परामर्श औषधि वितरण गर्ने गरेका छौं । सामान्यतया प्रेसर, सुगर, अक्सिजन लेवल जाँच गरिन्छ र त्यहि अनुसारको परामर्श र औषधि दिइन्छ ।”
यो वाहेक नगरपालिकाले जेष्ठ नागरिकहरुलाई आवत जावत गर्न सहज होस भनेर नगर वसमा भाडा छुटको व्यवस्था गरेको छ । बेलाबेला जेष्ठ नागरिकहरुलाई न्यानो कपडा पनि वितरण गर्ने गरिएको र एकल महिलासँग उप–मेयर जस्ता अन्य कार्यक्रमहरु मार्फत पनि घर–घरमा सरकार पुग्ने गरेको उप–मेयर सुनिता रावलले बताउनु भयो ।
शिखर नगरपालिकाले वर्षेनी गर्दै आएको यस्ता कार्यक्रमले जेष्ठ नागरिकलाई सहज भएको स्थानीय नरपता दमाइले बताउनु भयो । बुढेस्कालमा घरमै डक्टर आएर सोधपुछ गर्ने, औषधि दिने, सम्झाउने गरेकाले बुढापाकालाई सहज भएको उहाँले बताउनु भयो । हाम्रा लागि त यो धेरै राम्रो काम हो । भोट माग्न आएका मान्छे सेवा दिन पनि आउनु भएको छ । यसै गरि सधैं सेवा पाएको भए हुन्थ्यो । बरु, दुई तीन महिनाको फरकमा आइदिएको भए हुन्थ्यो ।”
दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...