२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

बिसिजी खोपले कोरोना नियन्त्रण गर्न सक्छ ? नेपालको लागि अनुसन्धानको विषय

विश्वव्यापी बनेको कोरोना भाइरसको संक्रमण रोक्न यतिवेला विश्वभरका मेडिकल वैज्ञानिकहरू अनुसन्धानमा लागेका छन् । नयाँ औषधि र खोपको खोजी जारी छ भने पुरानै औषधि र खोपहरू कोरोनाको संक्रमणमाथि विजय हासिल गर्न उपयोगी हुन्छन् कि भन्ने अनुसन्धानसमेत भइरहेको छ । यसैक्रममा क्षयरोग नियन्त्रणका लागि दिइने बिसिजी (ब्यासिल क्यालामेट ग्रिएन) खोप कोरोना भाइरसका लागि पनि उपयोगी हुन सक्ने चिकित्सा क्षेत्रका केही अनुसन्धाताहरूले निष्कर्ष निकालेका छन् ।

बेलायत र अमेरिकी अनुसन्धानकर्ताहरूको समूहले बिसिजी खोप अनिवार्य नगरिएका मुलुकमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको दर १० गुणा बढी रहेको तथ्य सार्वजनिक गरेको हो । ९ देखि २४ मार्चसम्म बिसिजी खोप अनिवार्य भएका र नभएका एक सय ७८ देशको कोरोना संक्रमण र मृत्युदरसम्बन्धी तथ्यांक विश्लेषण गरी निष्कर्ष निकालिएको थियो । त्यसक्रममा खोप दिइएको देशमा प्रति १० लाखमा ३८.४ जनामा संक्रमण र मृत्युदरचाहिँ प्रति १० लाख संक्रमितमा मृत्युदर ४.२८ रहेको पाइयो । खोप नदिइएका देशमा चाहिँ संक्रमण र मृत्युदर उच्च रहेको देखियो । खोप नलगाइएका देशमा प्रति १० लाखमा ३ सय ५८ जनामा संक्रमण रहेको भेटियो भने मृत्युदर पनि प्रति १० लाखमा ४० देखियो ।  यो विश्लेषणका लागि उनीहरूले विभिन्न एक सय ७८ मुलुकको तथ्यांक संकलन गरेका थिए । त्यसमध्ये २१ मुलुकमा बिसिजी खोप अनिवार्य थिएन भने २६ मुलुकको तथ्यांकमा पूर्ण रूपमा समानता थिएन ।  

इटाली, अमेरिका र नेदरल्यान्डमा मृत्युदर बढ्नुको कारण बिसिजी खोप अनिवार्य नगरिनु

अमेरिकाको न्युयोर्क इन्स्टिच्युट अफ टेक्नोलोजीअन्तर्गतको ‘निट कलेज अफ ओस्टे ओप्याथिक मेडिसिन’ मा आबद्ध आरोन मिल्लरसहितको एउटा समूहले बिसिजी खोप अनिवार्य बनाएका मुलुकमा कोरोना भाइरसको संक्रमण र मृत्युदरसम्बन्धी अध्ययन गरेको थियो । सो अध्ययनको निष्कर्ष छ, ‘बिसिजी खोप अनिवार्य नगरिएका मुलुकहरू जस्तै, इटाली, नेदरल्यान्ड, अमेरिकाजस्ता मुलुकमा कोरोना भाइरसको संक्रमण र मृत्युदर बढी छ भने सन् १९८४ पछि बिसिजी खोप अनिवार्य गरिएको इरानमा वृद्ध अवस्थाका मानिसमा कोरोना संक्रमणको असर बढी छ ।’ यसै आधारमा उनीहरूको पनि उस्तै निष्कर्ष रह्यो, ‘बिसिजी खोप कोरोना भाइरसको संक्रमणलाई निस्तेज पार्न उपयोगी हुन सक्छ ।’  

कोरोना भाइरसको कुनै औषधि निर्माण र खोपको आविष्कार अझै हुन सकेको छैन । सो अनुसन्धानका आधारमा बिसिजी खोप लगाएका मुुलुकमा कोरोना भाइरसको मृत्युदर कम भएको दाबी गरिएका निष्कर्ष आउन थालेपछि कोरोना भाइरसको मारले आक्रान्त विश्वमा आशाको सञ्चार भएको छ । यसैक्रममा अस्ट्रेलियाको मर्डाेक रिसर्च इन्स्टिच्युट (एमसिआरआई)ले ‘बिसिजी खोपले कोरोना भाइरसको संक्रमणबाट बच्न उपयोगी हुन्छ कि भनेर परीक्षण सुरु गरेको रिपोर्ट चिकित्सासम्बन्धी समाचार दिने बेलायती अनलाइन पोर्टल मेडिकलन्युजटुडेडकटमले उल्लेख गरेको छ । 

नेपालको लागि अनुसन्धानको विषय :  

बिसिजी खोप र कोरोना भाइरसबीचको सम्बन्धमा जे–जति अनुसन्धान भएका छन्, तिनलाई हामी ‘अनुमानित निष्कर्ष’ भन्न सक्छौँ । यस्ता अनुमानित निष्कर्षका आधारमा कोरोना भाइरस संक्रमण हुन नदिन अपनाउनुपर्ने सचेतनामा चुक्यौँ भने हामी पनि महामारीको मारमा पर्नेछौँ ।- डा.दीर्घसिंह बम, वरिष्ठ क्षयरोग विशेषज्ञ
 

बिसिजी खोप कोरोना भाइरस नियन्त्रणका लागि उपयोगी छ कि छैन भनेर अनुसन्धान गर्नेहरूले विभिन्न देशलाई प्रतिव्यक्ति आय र बिसिजी खोप अनिवार्य भए–नभएका मुलुकमा विभाजित गरी तथ्यांक संकलन गरी निष्कर्ष निकालेको देखिन्छ । खोप अनिवार्य भएका केही मुलुकमा संक्रमण र मृत्युदर कम देखिनु संयोग मात्र हो ।
-डा. झलक गौतम, प्रमुख, बालस्वास्थ्य तथा खोप महाशाखा

नेपाल पनि बिसिजी खोप अनिवार्य गरिएका मुलुकहरूकै समूहमा पर्छ । ‘कोभिड–१९’ नामकरण गरिएको कोरोना भाइरसको उद्गम मुलुक मानिने चीन र पछिल्लो समय कोरोना संक्रमणको वृद्धि रफ्तारमा भइरहेको भारतका बीचमा भए पनि नेपालमा हालसम्म जम्मा १४ जनामा मात्र कोरोना भाइरस देखिएको छ, तीमध्ये एकजना निको भएर घर फर्केका छन् । बाँकी १३ जनाको स्वास्थ्य अवस्था पनि सामान्य रहेको समाचार सार्वजनिक भइरहेका छन् । कोरोना संक्रमणका कारण नेपालभित्र कुनै नागरिकको मृत्यु भएको पनि छैन । नेपालमा अहिलेसम्म नगन्य संख्यामा कोरोना संक्रमण हुनु, संक्रमितमध्ये पनि कतिपय निको हुनु, बाँकीको स्वास्थ्य सामान्य हुुनुका कारण बिसिजी खोप अनिवार्य भएकैले हो ? भन्ने प्रश्न पनि उठ्ने गरेको छ ।

सार्वजनिक भएका अध्ययन–निष्कर्षका आधारमा नेपाल हौसिन नहुने चिकित्सकहरूको भनाइ छ । वरिष्ठ क्षयरोग विशेषज्ञ एवं राष्ट्रिय क्षयरोग निवारण केन्द्रका पूर्वनिर्देशक डा. दीर्घसिंह बम भन्छन्, ‘बिसिजी खोप र कोरोना भाइरसबीचको सम्बन्धमा जे–जति अनुसन्धान भएका छन्, तिनलाई हामी ‘अनुमानित निष्कर्ष’ भन्न सक्छौँ । यस्ता अनुमानित निष्कर्षका आधारमा कोरोना भाइरस संक्रमण हुन नदिन अपनाउनुपर्ने सचेतनामा चुक्यौँ भने हामी पनि महामारीको मारमा पर्नेछौँ ।’   

नेपालमा बिसिजी खोप अनिवार्य

कोरोना भाइरसबाट संक्रमित व्यक्तिलाई खोकी लाग्ने, उच्च ज्वरो आउने र यसक्रममा शरीर पनि कमजोर हुँदै जाने लक्षण देखिने गर्छ । र, कतिपय बिरामीको मृत्यु नै हुन पुग्छ । खासगरी बुढ्यौली उमेरका व्यक्तिलाई कोरोना भाइरसको संक्रमण छिटो हुने र मृत्युदर पनि यस्तै उमेरका व्यक्तिको भएको विश्वव्यापी तथ्यांकहरूले देखाएका छन् । 

जानकारहरूको भनाइमा, जब शरीरमा कोरोना भाइरसको संक्रमण हुन्छ, हाम्रो शरीरभित्रको रोग प्रतिरोधी समूहले भाइरसविरुद्ध प्रतिरोध सुरु गर्छ । भाइरसमाथि विजय हासिल गर्न सक्यो भने त गरिहाल्यो । तर, यदि शरीरभित्रको प्रतिरोधी समूहले भाइरससँगको संघर्षमा विजय हासिल गर्न सकेन भने उसको मृत्यु हुन पुग्छ । संक्रमितहरूको शरीर कमजोर हुँदै जानुको कारण भाइरससँगको संघर्षको कारणले हो । 

क्षयरोग (ट्युबरक्लोसिस)विरुद्धको बिसिजी खोप पनि खासमा प्रतिरोधी क्षमता वृद्धिका लागि दिइने खोप हो । स्वास्थ्य सेवा विभागअन्तर्गत बालस्वास्थ्य तथा खोप महाशाखाका प्रमुख डा. झलक गौतमका भनाइमा यो खोपमा बिसिजी नामक ब्याक्टेरिया हुन्छ, निष्क्रिय पारिएको तर ज्युँदो प्रकृतिको यो ब्याक्टेरियाले शरीरलाई रोगसँग लड्नका लागि प्रतिरोधी क्षमता प्रदान गर्दछ । र, खोपमार्फत प्रवेश गरेको ब्याक्टेरियालाई हाम्रो शरीरले चिनेपछि वा स्वीकार गरेपछि क्षयरोगविरुद्ध लड्न यसले शक्ति दिन्छ ।’ 

सन् १९२१ मा पहिलोपटक आविष्कार गरिएको यो खोप नेपालमा भने ०३४ देखि नेपालीहरूलाई दिन सुरु गरिएको थियो । डा. गौतमका अनुसार सुरुवातमा सिन्धुपाल्चोक, रूपन्देही र धनुषाका बालबालिकालाई दिइएको यो खोप विभिन्न समयमा जिल्लाको संख्या बढाउँदै लगेर ०४५देखि देशव्यापी रूपमै अनिवार्य गरियो । 

अस्पतालमा जन्मेका बच्चाहरूलाई यो खोप जन्मनासाथ लगाउने गरिएको छ भने अस्पतालबाहिर जन्मेका बच्चाहरूलाई चाहिँ जन्मेको एक वर्षभित्र लगाउनुपर्ने गरी अनिवार्य गरिएको छ । ‘थापाथलीस्थित प्रसूतिगृहमा जन्मेको बच्चालाई त्यहाँका डाक्टर–नर्सहरूले तत्काल बिसिजी खोप लगाइदिने गरेका छन्,’ डा.बम भन्छन्, ‘तर अस्पतालको सुविधा नभएका स्थानमा जन्मेका बच्चाहरूलाई एक वर्षभित्र यो खोप लगाइदिनैपर्छ ।’ बच्चाहरूका लागि अनिवार्य गरिएका ११ मध्ये बिसिजी खोप पहिलो नम्बरमा पर्छ । र, यो नि:शुल्क पनि छ । 

विगत केही समययता नेपालमा वर्षेनी ६ लाखभन्दा बढी बालबच्चाले बिसिजी खोप पाउने गरेका छन् । आर्थिक वर्ष ०७४–७५ मा ६ लाख २० हजार बालबालिकालाई यो खोप दिइएको थियो । गौतम भन्छन्, ‘एक वर्षमा जति बच्चा जन्मन्छन्, तीमध्ये ९३ प्रतिशतसम्मले यो खोप पाउने गरेका छन् । देशभर अनिवार्य गरिएयता खोप पाउने बच्चाहरूको संख्या ९० प्रतिशतभन्दा कम कहिल्यै पनि भएको छैन ।’ 

मलेरिया, बिफरजस्तै क्षयरोग पनि एक प्रमुख स्वास्थ्य समस्याका रूपमा देखिएपछि त्यसको निदानका लागि बिसिजी खोप दिन थालिएको थियो ।  डा. बम भन्छन्, ‘बालबालिकासम्बन्धी संयुक्त राष्ट्रसंघीय कोष (युनिसेफ)ले यो खोपका लागि लगातार वकालत गर्दै आएको थियो । नेपालीहरूको मृत्युदर बढी हुनुमा क्षयरोग पनि एउटा कारण थियो । तर, बिसिजी खोप दिइन थालेपछि क्षयरोगबाट हुने मृत्युदरमा निकै कमी आउन थालेको हो ।’ तर, विश्वमा यस्ता मुलुकहरू पनि थिए, जसले आफ्नो मुलुकमा यो खोपलाई अनिवार्य गरेनन् । डा. गौतमका अनुसार प्रतिव्यक्ति आय मध्यमस्तर भएका केही युरोपेली मुलुक र एकदम कम आय भएका एसिया–अफ्रिकाका मुलुकमा यो खोप अनिवार्य गरियो । तर, प्रतिव्यक्ति आय उच्च भएका अमेरिका, स्विडेन, नर्वे, फ्रान्स, न्युजिल्यान्डलगायतका मुलुकमा भने अनिवार्य गरिएन । संयोगवश, अनुसन्धाताहरूले अहिले यिनै मुलुकमा कोरोना संक्रमण र मृत्युदर बढी देखिएको बताएका छन् । 

९ देखि २४ मार्चसम्म बिसिजी खोप अनिवार्य भएका र नभएका एक सय ७८ देशको कोरोना संक्रमण र मृत्युदरसम्बन्धी तथ्यांक विश्लेषण गरी निकालिएको निष्कर्षमा खोप दिइएका देशमा प्रति १० लाखमा ३८.४ जनामा संक्रमण र मृत्युदर प्रति १० लाख संक्रमितमा मृत्युदर ४.२८ रहेको पाइयो । खोप नलगाइएका देशमा प्रति १० लाखमा ३ सय ५८ जनामा संक्रमण र मृत्युदर प्रति १० लाखमा ४० देखियो ।

विश्वास छैन नेपाली विशेषज्ञहरूलाई 

क्षयरोग र बिसिजीबारे जानकारी राख्ने नेपाली विशेषज्ञहरूचाहिँ यो खोप कोरोना भाइरसको रोकथामका लागि उपयोगी हुने कुरामा विश्वस्त छैनन् । उनीहरूका भनाइमा कोरोना भाइरस संक्रमण र बिसिजी खोपबीचको सम्बन्धलाई केन्द्रमा राखेर पछिल्ला जे–जति अनुसन्धान गरिएका छन्, ती अनुसन्धानका दुई कमजोरी छन् । एक– ती अनुसन्धानको सीमा एकदम साँघुरो छ । दुई– गरिएका ती अनुसन्धान अत्यन्त प्रारम्भिक चरणमा गरिएकाले तिनले समग्र निष्कर्ष दिन सक्दैनन् ।  

‘बिसिजी खोप कोरोना भाइरस नियन्त्रणका लागि उपयोगी छ कि छैन भनेर अनुसन्धान गर्नेहरूले विभिन्न देशलाई प्रतिव्यक्ति आय र बिसिजी खोप अनिवार्य भए–नभएका मुलुकमा विभाजित गरी तथ्यांक संकलन गरी निष्कर्ष निकालेको देखिन्छ,’ डा. गौतम भन्छन्, ‘अनुसन्धानका विभिन्न प्रकारमध्ये यो सबैभन्दा ‘लो ग्रेड’ को विधि हो । खोप अनिवार्य भएका केही मुलुकमा संक्रमण र मृत्युदर कम देखिनु संयोग मात्र हो ।’

त्यसो भए, यो अनुसन्धानको कुनै महत्व छैन त ? उनी भन्छन्, ‘अहिले भएका भनिएका अनुसन्धानको निष्कर्ष थप अनुसन्धान गर्न हाइपोथेसिस (अनुमान) का लागि मात्र उपयोगी हुन्छ । अर्थात्, थप अनुसन्धानका लागि यो निष्कर्षलाई आधार बनाउन सकिन्छ । तर, यही निष्कर्षलाई अन्तिम सत्य मानेर हामीले नीति बनायौँ भने हामीले ठूलो मूल्य चुकाउनुपर्ने हुन सक्छ । उनले भनेजस्तै, अनुसन्धाताहरूले खोप अनिवार्य भएका मुलुक र नभएका मुलुकको तथ्यांक संकलन गरी विश्लेषण गरेर निष्कर्ष निकालेका थिए । खासमा यो कोठामा बसेर गरिएको अनुसन्धान र निष्कर्ष हो । उनीहरूले मुलुकको मात्र अध्ययन गरेका छन्, व्यक्तिको तहमा पुगेर अध्ययन–अनुसन्धान गरेकै छैनन् । अर्थात्, बिसिजी खोप लगाएको कुनै व्यक्तिलाई कोरोना संक्रमण भएको छ कि छैन वा यस्तो खोप लगाएका व्यक्तिहरूलाई कोरोना संक्रमण भएको छ भने त्यस्तो समूहका व्यक्तिको मृत्युदर कस्तो छ भन्ने तथ्यांक संकलन, विश्लेषण र सोही आधारमा निष्कर्ष निकालिएको छैन । 

अमेरिकी र बेलायती अनुसन्धानकर्ताहरूको निष्कर्ष सार्वजनिक भएलगत्तै त्यसलाई चुनौती दिने गरी भारतमा कोरोना संक्रमणमा तीव्र रूपमा विस्तार भएको छ, जब कि भारत पनि बिसिजी खोप अनिवार्य भएका मुलुकहरूकै सूचीमा पर्छ । बिसिजी खोप अनिवार्य नगरिएका मुलुकमा कोरोना संक्रमणबाट मृत्युदर उच्च रहेको मान्ने हो भने दुई हप्ताअघिसम्म अमेरिकाको स्थितिले सो निष्कर्षलाई चुनौती दिन्छ, जहाँ दुई हप्ताअघिसम्म संक्रमित हुनेहरूको तुलनामा मृत्यु हुनेहरूको संख्या निकै कम थियो । र, यसै आधारमा राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापक संख्यामा परीक्षण गरिएका कारण मात्र अमेरिकामा संक्रमितको संख्या बढी देखिएको र मृत्यु कम भएको दाबी गरेका थिए । अमेरिकामा संक्रमणबाट मृत्यु हुनेहरूको दर ह्वात्तै बढेको पछिल्लो दुई हप्तायता मात्र हो ।   

अन्तर्राष्ट्रिय रूपमा यी अनुसन्धानहरूको आलोचना पनि भइरहेको छ । अनुसन्धानकर्ता इमिली म्याकलिन, जो क्यानाडास्थित महामारी विज्ञान, नीति–निर्धारणसम्बन्धी अनुसन्धान गर्ने संस्था ‘म्याकगिल इन्टरनेसनल टिबी सेन्टर’ मा कार्यरत छिन् । नेचर माइक्रोबायोलोजी कम्युनिटी डट नेचर डटकममा म्याकलिनले बिसिजी खोप अनिवार्य गरिएको भारतको पछिल्लो स्थितिलाई उदाहरणका रूपमा पेस गर्दै भनेकी छिन्, ‘कोरोना भाइरस संक्रमण र महामारीको पूर्ण तस्बिर नआउँदै गरिएको यो अनुसन्धान भएकाले यसले सही निष्कर्ष निकाल्न सकेको छैन ।’ कोरोना भाइरसको संक्रमण बिसिजी खोप लगाइएको मुलुक हो वा होइन भन्ने आधारमा होइन, त्यहाँ कति संख्यालाई परीक्षण गरियो भन्ने आधारमा गरिनुपर्ने तर्क उनको छ ।   

अहिले देखापरेको कोभिड–१९ पहिलेका भाइरसभन्दा विल्कुल भिन्न, संक्रामक क्षमता र असर पनि भयावह भएकाले यसको औषधि र खोपको आविष्कार पनि नयाँ नै हुने बताउँछन्, नेपाली विशेषज्ञ डा. गौतम । उनी भन्छन्, ‘कोरोना भाइरसको औषधि वा खोप विभिन्न चरणमा गरिने अनुसन्धानबाट पत्ता लाग्ने नै छ । तर, हामी बिसिजी खोप अनिवार्य भएको मुलुक हौँ भनेर ढुक्क भयौँ भने हाम्रा लागि त्योभन्दा ठूलो दुर्भाग्य केही हुनेछैन ।’ 

राष्ट्रिय क्षयरोग निवारण केन्द्रका निर्देशक डा. निरज गौचनले पनि बिसिजी खोप र कोरोना भाइरससँग त्यसको सम्बन्धमा केन्द्रित रहेर गरिएका अनुसन्धान–निष्कर्षहरूलाई मिहीन पाराले अध्ययन गरिरहेका छन् । ‘प्रारम्भिक अनुसन्धानबाट बिसिजी खोप अनिवार्य भएका मुलुकमा कोरोना संक्रमण र मृत्युदर कम देखियो होला । तर, यो संयोग मात्र हो । ती निष्कर्षलाई आधार मानेर हामी पनि बिसिजी खोप अनिवार्य भएका मुलुक हौँ भनेर बेपर्वाह भयौँ भने पक्का छ, हामी पनि कोरोना भाइरसको महामारीमा फस्नेछौँ ।’  

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७७ बैशाख २

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP