२०८१ श्रावण ३, बिहीबार
July 18, 2024, Thursday

डोटी पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

दिपायल– डोटीलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । ’स्थानीय स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ डोटी जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले सोमबार दिपायलमा आयोजित एक समारोहका बीच पूर्णखोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा गरेका हुन् । जिल्लाका १६ देखि २३ महिनासम्मका तीन हजार ८६ बालबालिकाहरुले असार २२ गते भित्र पूर्ण रूपमा नियमित खोप पाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख डिल्लीरमण जोशीले बताउनु भयो ।

राष्ट्रिय खोप तालिकाअनुसार जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई १३ वटा रोग विरुद्ध खोप प्रदान गरिन्छ । यसअघि बालबालिकालाई १२ वटा मात्रै खोप प्रदान गरिँदै आएकोमा हाल टाइफाइडविरुद्धको खोप थप भएको छ । जिल्लाका बालबालिकाहरूले यी सबै खोपहरु पूर्णमात्रामा पाएको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।

डोटी जिल्लालाई २०७५ सालमा पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको थियो । राष्ट्रिय खोप तालिकाअनुसार खोप पाए÷नपाएको अनुगमन र घरधुरी सर्वेक्षण गरेपछि जिल्लाका नौवटै स्थानीय तहलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेर जिल्लालाई घोषणा गरिएको जिल्ला पूर्णखोप समन्वय समितिका संयोजक लक्ष्मण बहादुर सिंहले बताउनु भयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि राज्यमन्त्री रैकाले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रम संचालन गर्ने बताउनु भयो । प्रदेशमा पूर्ण खोप सुनिश्चितताका लागि हामी प्रतिबद्ध छौं,‘उहाँले भन्नुभयो,‘यसको दिगोपनाका लागि स्वास्थ्यकर्मी र सरोकारवालाले खोप अभियानलाई निरन्तरता दिन जरुरी छ ।’

Related News

बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालबालिका
बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालबालिका
  • २०७९ असार २७

दिपायल- सुदूरपश्चिम प्रदेशमा एउटा मात्रै बाल सुधार गृह छ ।...

TOP