दिपायल- डोटीको शिखर शिखर नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा गरिएको छ । नगरपालिकाका बालबालिकाहरुले १५ महिनाको उमेर भित्र सबै प्रकारका खोप पूर्ण रुपमा लगाइ सकेपछि नगरलाई पूर्णखोपयुक्त नगरपालिका घोषणा गरिएको हो ।
‘नगरका १६ देखि २३ महिनासम्मका सबै बालबालिकाहरुले १५ महिनाको उमेर भित्र पाउनुपर्ने सबै खोप पाइसकेका छन्,‘ नगरपालिकाका स्वास्थ्य इकाई प्रमुख हरिश शाहले भन्नुभयो,‘बालबालिकाहरुले २०७८ चैत मसान्तसम्म पूर्णखोप पाएको सुनिश्चित गरिए पछि पूर्णखोपयुक्त नगरपालिका घोषणा गरिएको हो ।’
बाल मृत्युदर घटाउने उद्देश्यका साथ १५ महिना भित्रका बालबालिकाहरुलाई १४ वटा रोगविरुद्धमा ९ वटा खोपहरु लाउने गरिएको जिल्ला पूर्णखोप समन्वय समितिका सदस्य सचिब एवं स्वास्थ्य कार्यालय डोटीका प्रमुख डिल्ली रमण जोशीले बताउनुभयो । अहिले डोटी जिल्लाका सबै स्थानीय तहमा पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा अभियान संचालन भइरहेको उहाँले जानकारी दिनुभयो ।
पूर्णखोप नगर समन्वय समिति संयोजक एवं शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बलायरले नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न स्वास्थ्यकर्मीहरुको महत्वपूर्ण भुमिका रहेको बताउँदै खाप अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै जिल्ला पूर्णखोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मणबहादुर सिंहले खोप अभियानले मानव स्वास्थ्यको रक्षा गर्दै आएको बताउँदै जिल्लाका सबै पालिकाहरुमा पूर्णखोप सुनिश्चितता गर्नुपर्ने बताउनु भयो ।
यसअघि जिल्लाको बोगटान फुड्सिल गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा भइसकेको छ । बैशाखमा हुनुपर्ने घोषणा अभियान स्थानीय निर्वाचनका कारण ढिलो भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यस पछि क्रमश सबै पालिका हुँदै जिल्लालाई नै पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषण गर्ने लक्ष रहेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख जोशीले बताउनु भयो ।
दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...