दिपायल- जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्ट जडान गरिएको छ । दिनको १० वटा सिलिन्डर भर्न सक्ने क्षमता रहेको उक्त प्लान्टको सोमबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेक बहादुर रैकाले उद्घाटन गर्नु भयो ।
संघीय सरकारले प्लान्ट स्थापनाका लागि ८० लाख बजेट विनियोजन गरेको भए पनि ६५ लाख २५ हजारमा टेण्डर परेको थियो । प्लान्ट जडान भएसँगै अक्सिजन भर्न डडेल्धुरा, धनगढी, नेपालगन्ज धाउनुपर्ने बाध्यता हटेको छ । यस अघि सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्लाहरुमध्य डडेल्धुरामा मात्रै अक्सिजन प्लान्ट जडान थियो । दोस्रो चरणको कोरोना महामारीका समयमा डोटी लगायत सुदूरपश्चिममा अक्सिजनको चरम अभाव देखिएको थियो ।
अक्सिजन प्लान्टको उद्घाटन गर्दै मन्त्री रैकाले स्वास्थ्य सेवामा जनताको सहज पहुँच पु¥याउन आफु लगायत प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनु भयो । स्वास्थ्य सेवा पनि गाँस बास, कपास जस्तै जनताको नैसर्गिक अधिकार हो,‘उहाँले भन्नु भयो,‘जनतालाई नैसर्गिक अधिकार दिलाउनु सरकारको दायित्व पनि हो । तसर्थ, हामी जनतालाई सहज, सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न प्रतिवद्ध छौं ।’ मन्त्री रैकाले जिल्ला अस्पताललाई शव बाहान र एम्बुलेन्स पनि उपलब्ध गराइने र निकट भविश्यमै इण्डोस्कोपी सेवा पनि विस्तार गर्ने लक्ष रहेको उहाँले बताउनु भयो ।
प्लान्ट जडान भएसँगै जिल्ला अस्पताल र स्थानीय तहमा रहेका स्वास्थ्यसंस्थाहरुमा अक्सिजन अभावको समस्या समाधान हुने अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन श्रेष्ठले बताउनु भयो । प्लान्टबाट पाइपलाइन बिच्छ्याएर बेडमा अक्सिजन लैजान सकिने र छुट्टै सिलिन्डर भरेर पनि दिन सकिने उहाँले बताउनु भयो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर नेपालीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण सिंह, उपप्रमुख स्मृति चुनार, शिखर नगरपालिकाका पूर्व मेयर सीताराम जोशी लगायतको सहभागिता रहेको थियो ।
दिपायल – शिखर नगरपालिकाका ३३ जना महिलाहरुलाई बाख्रा वितरण गरिएको...