डोटी – नौ वटा जिल्ला रहेको सुदूरपश्चिम प्रदेशमा २०६८ सालको जनगणना अनुसार २८ लाख बढी जनसंख्या उल्लेख छ । यस जनसंख्या अनुसार स्वास्थ्य क्षेत्रमा नत जनशक्ति छ नत प्रयाप्त उपकरण नै ।
त्यसैमा सुदूरपश्चिम प्रदेश कोरोनाको उच्च जोखिममा रहेको विज्ञको चेतावनी छ । विज्ञको चेतावनी अनुसार कोरोना संक्रमण फैलिए आवश्यक भेन्टीलेटर र आइसियू यहाँ स्थित सरकारी तथा नीजि अस्पतालमा छैनन् । सुदूरपश्चिममा सरकारी र निजी अस्पतालमा गरी २५ बेड आइसियू र १० वटा भेन्टिलेटर रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
प्रदेशको महाकाली अस्पतालमा चार बेड तथा धनगढीको निजी अस्पताल नवजीवन र माया मेट्रोमा पाँच–पाँच तथा निसर्ग अस्पतालमा छ बेडको आइसियू छन् । सेती र महाकाली अस्पताल तथा दार्चुला र डडेल्धुरा जिल्ला अस्पतालमा एक–एक भेन्टिलेटर रहेको मेडिकल अधिकृत भूषण मिश्रले जानकारी दिए । उनका अनुसार बाँकी छ वटा भेन्टिलेटर निजी अस्पतालमा रहेका छन् ।
सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर हेमराज पाण्डेले प्रदेशमा २५ वटा आइसियू र १० वटा भेन्टिलेटर हात्तीको मुखमा जिरा जस्तै भएको बताए । ‘अहिले नै उपकरण र जनशक्तिको न्यूनतम तयारी नगरे संक्रमण फैलिएको अवस्थामा हुने परिस्थितिको सामना गर्न सकिन्न’ डाक्टर पाण्डेयले भने– ‘तर पूर्वतयारी गरिएको छैन ।’
प्रदेशमा जनशक्ति र औषधि उपकरण तथा सामग्रीको एकदमै अभाव रहेको छ । प्रदेशमा उपचारमा खटिने कन्सल्ट्यान्ट फिजिसियन, क्रिटिकल केयर फिजिसियनको संख्या प्रदेशभरिका सरकारी अस्पतालमा नौ मात्र रहेको छ । त्यस्तै, मेडिकल अफिसर ५९ जना, स्टाफ नर्स एक सय ५२ जना, अनमि ८७ जना र ल्याब टेक्नेसियन ५३ जना रहेका मेडिकल अधिकृत मिश्रले जानकारी दिए ।
महाकाली अस्पतालमा ११ औं तहको मेडिकल सुपरिन्टेन्डेन्ट हुनुपर्नेमा नवौं तहका स्त्रीरोग विशेषज्ञ डाक्टर हरि श्रेष्ठले निमित्त भएर चलाइरहेका छन् । प्रदेशभित्र सञ्चालित १४ सरकारी अस्पतालमा एक सय ३४ जनाको दरबन्दी छ ।
तर, हाल पदपूर्ति ४१ जनाको मात्रै छ । स्थानीय तह र अन्य निकायहरूले वैकल्पिक श्रोतको व्यवस्था गरी ५८ चिकित्सक करारमा राखेका छन् । प्रदेशभित्रका सरकारी अस्पतालहरूमा एक सय २९ स्टाफ नर्सको दरबन्दी छ । तर, ४१ प्रतिशत रिक्त छन् । करारमा ४९ जना स्टाफ नर्स भर्ना गरिएको छ ।
प्रदेशका अन्य अस्पताल भन्दा केही जनशक्ति र भएको सेती प्रादेशिक अस्पताल कोरोना अस्पताल बनाउने निर्णयसँगै त्यसैमा केन्द्रित भएको छ । सुदूरपश्चिमका हरेक जिल्लाका संक्रमितको उपचार सेती प्रादेशिक अस्पतालमा हुन थालेको छ । हाल ४ जना कोरोना संक्रमित सेती प्रादेशिक अस्पतालमा उपचाररत छन् ।
सेती प्रादेशिक अस्पताललाई कोरोना अस्पताल बनाउँदा अन्य बिरामी र स्वास्थ्यकर्मीहरू जोखिममा परेको भन्दै कोरोना बिरामीहरूको उपचार अन्यत्र गर्न चिकित्सकले आग्रह गरेका छन् । सेती अस्पतालमा कार्यरत डाक्टर जगदिश जोशीले भने– ‘या त सरकारले कोरोनाको उपचारका लागि अलग्गै अस्पतालको व्यवस्था गर्नुपर्यो, होइन भने सेती अस्पतालमा आउने नियमित र आकस्मिक विरामीहरूको उपचारको तत्काल विकल्प खोज्नुपर्यो ।’
अस्पतालमा कार्यरत प्रसुति तथा स्त्री रोग विशेषज्ञ डाक्टर प्रतिक्षा सिंह राठौरले भनेकी छन् – ‘कोरोनाको कहर बीच हामी लागिरहेका छौं । सुदूरपश्चिमको एक मात्र रेफरल सेन्टरको रूपमा रहेको सेती प्रादेशिक अस्पताल जुन अब कोरोना अस्पताल बनाउनु पर्छ भन्नेहरूलाई मेरो प्रश्न । कोरोनाको कहर त छदै छ, तर यी निर्दोष आमाहरूलाई बचाउने जिम्मा कसको हो ?’
नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेश शाखाका सचिव डाक्टर प्रदीप मिश्रले अन्य बिरामीहरूसँगै संक्रमितहरूको समेत उपचार शुरु गरेपछि सेती प्रादेशिक अस्पतालका बिरामी र स्वास्थ्यकर्मीहरू जोखिममा परेको बताए ।
‘सेती प्रादेशिक अस्पतालमा जति सुबिधा र साधन, स्रोतहरू छन, त्यो अन्यत्र छैन’ डाक्टर मिश्रले भने– ‘यो सबै स्रोत यहाँ छोडेर अन्य नियमित रुपमा आउने बिरामी, गर्भवती महिलाको उपचार अन्यत्र गर्न संभव छैन । त्यसैले कोरोनाको छुट्टै उपचार केन्द्र हुनुपर्छ ।’
सुदूरपश्चिममा ४ जना कोरोना संक्रमित देखिएसँगै अन्य बिरामीको उपचारमा समस्या भएको छ ।
‘सबैको आशाको केन्द्र सेती प्रादेशीक अस्पताल कोरोनाको उपचारमा केन्द्रित भएपछि हामी अन्य बिरामीलाई समस्या भएको छ’ बझाङबाट उपचारका लागि धनगढी पुगेका जयराज जोशीले भने–‘दुई दिन सेतीको आईसियुमा बसेर उपचार गराएँ तर तयहाँ सबैको ध्यान कोरोनामा छ, खाली बसिराख्नु भन्दा कोठा भाडामा लिएर डेरामा बसिरहेको छु ।’ उनले थपे–‘लकडाउनका कारण वाहिर जान सक्ने अवस्था पनि छैन रोग ठिक भएको पनि छैन, बिराम पालेर बस्नुपर्ने अवस्था छ ।’
धनगढीमा रहेका निजी अस्पतालले पनि बिरामी भर्ना गर्न मानिरहेका छैनन् । चैत २६ गते मात्र गोदावरी नगरपालिकाका जनकराज भट्टलाई स्वास्थयमा समस्या भएपछि धनगढीको मायामेट्रो अस्पतालमा भर्ना गरियो तर त्यहाँ डाक्टरले वास्ता नगरेपछि त्यही बेलुका उनको मृत्यु भएको पत्रकार समेत रहेका मृतकका भतिजा हेमराज भट्टले बताए । यस्ता थुप्रै घटनाहरु दैनिक घटिरहेका छन् । निजि अस्पतालहरुले सेवा दिन तयार रहेको बताए पनि बिरामीले भने उपचार पाएका छैनन् ।
अहिले सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको उपचार हुन लागेपछि अन्य विरामीहरू उपचारका लागि न्यून गइरहेका छन् । धनगढीमै एक निजी अस्पताल सञ्चालन गरिरहेका सञ्चालकले भने– सेतीमा अन्य विरामी उपचार गर्न जान मानिरहेका छैनन् । यस्तो बेलामा निजी अस्पतालहरूले पनि सेवा सहज रुपमा दिइरहेका छैनन् ।
सुदूरपश्चिम प्रदेशको कैलालीमा तीन र कञ्चनपुरमा एक गरि चार जना कोरोना संक्रमित देखिइसकेका छन् । संक्रमित चारै जनाको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । अस्पतालले चारै जना बिरामीकोे अवस्था सामान्य रहेको जनाएको छ । सरकारले सेती प्रादेशिक अस्पताललाई कोरोना डेडिकेटेड अस्पतालमा रुपान्तरण गरेको छ ।
तर, अस्पताल भने समस्या नै समस्यामा बल्झिएको छ । प्रदेशमा कोरोना संक्रमणले गम्भीर रूप लिएको अवस्थामा बिरामी राख्न अस्पतालमा पर्याप्त मात्रामा आइसियू र भेन्टिलेटरसँगै आवश्यकता अनुसारको जनशक्ति छैन । हाल सेती प्रादेशिक अस्पतालमा पाँच बेड रहेको सघन उपचार कक्ष (आइसीयू) र एउटा भेन्टिलेटर मात्र रहेको छ ।
कोरोना संक्रमणको जोखिमलाई ध्यान दिँदै अस्पतालमा २३ वटा आइसोलेसन वार्ड बनाइएका छन् । अस्पतालका डाक्टर जगदिश जोशीले संक्रमण फैलिएको अवस्थामा यो तयारी पर्याप्त नरहेको बताए ।
अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले भने– अहिले हामीसँग एउटा मात्रै भेन्टिलेटर छ । अब तत्काल दुईवटा किन्ने तयारी भइरहेको छ । सेती प्रादेशिक अस्पतालमा तीन जना कन्सल्ट्यान्ट फिजिसियन र क्रिटिकल कन्सल्ट्यान्ट फिजिसियन रहेका छन् ।
११ औं तहका ३० जना चिकित्सकको दरबन्दी भए पनि हाल १४ जना मात्रै कार्यरत रहेको अस्पतालका सूचना अधिकारी श्रेष्ठले बताए ।
हाल सेती प्रादेशिक अस्पतालमा फिजिसियन, स्त्रीरोग विशेषज्ञ र मेडिकल सुपरिटेन्डेन्टको पद रिक्त रहेको छ । हाल बाल रोग विशेषज्ञ हेमराज पाण्डेयले मेडिकल सुपरिन्टेन्डेन्टको जिम्मेवारी सम्हालिरहेका छन् ।
बेङ्गलुरु- भारतको बेङ्गलुरुमा रहेको मनिपाल हस्पिटलमा एक नेपाली उपचार अभावमा...