२०८१ आश्विन २४, बिहीबार
October 10, 2024, Thursday

प्रवासमा अलपत्र नेपालीहरुको तुरुन्त उद्धार होस् : पूर्वमन्त्री बलायर

वन महरा , डोटी

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एबं पूर्व भौतिक पूर्बाधार तथा यातायात मन्त्री वीर बहादुर बलायरले प्रवासमा अलपत्र परेका, नेपालीहरुको उद्धार गरेर स्वदेश पर्काउनु पर्नेमा जोड दिए । उनले शनिबार रेडियो डोटीको कोरोना बहस कार्यक्रममा नेपाल फर्किन चाहने र प्रवासमा अलपत्र परेका व्यक्तिहरुलाई स्वदेश फर्काउँन सरकाले चाँडै पहल गर्नुपर्नेमा जोड दिएका हुन् ।

सरकारले सुदूरपश्चिमबासी तथा भारतमा रहेका नेपालीहरुप्रती बर्गिकृत व्यवहार गरेको आरोप लगाउँदै सरकारको यस्तो व्यवहार मान्य नहुने बताए । उनले सरकारले यस्तै व्यवहार गर्दै आए लकडाउन तोडेर संघर्षमा उत्रीनु पर्ने परिस्थिति सृजना हुनसक्ने भन्दै सबै जनताहरुलाई समान नगरले हेर्न र व्यवहार गर्न समेत अनुध गरे ।

केन्द्रिय सदस्य बलायरले विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड १९) का कारण हजारौं नेपालीहरु भारत लगायतका अन्य मुलुकहरुमा अलपत्र परेको अवस्थामा सरकारले उनिहरुको पीडा महशुस गर्न नसक्नु र आफ्ना नागरिक प्रति जिम्मेवार हुन नसक्कु निर्लज्ज कार्य भएको बताए । सिमानामा अलपत्र परेका नागरिकहरुलाई, परदेशमा विचल्लिमा परेका नागरिकहरुलाई, संकटमा आफ्नो माटो टेक्न चाहने नागरिकहरुलाई नेपालमा ल्याएर सरकारले उनिहरुलाई सुरक्षित क्वारेण्टाइनमा राख्नु पर्ने र संक्रमित भए स्वदेशमै उपचारको व्यवस्था मिलाउँनु पर्ने उनको भनाई थियो ।

सरकार संग प्रवासमा नेपालीहरुलाई थुन्ने, स्वदेश फर्किन रोक लगाउँने अधिकार नभएको भन्दै बलयारले उनिहरुको उद्धारकार्य चाँडै हुनुपर्ने बताए । सरकारले जनताहरुलाई काखापाखा गर्न नहुने बताउँदै भारतमा रहेका नेपालीलाई पनि चाइनाबाट ल्याइएका नेपाली जस्तै उद्धार गर्न माग गर्दै उनले भने,‘कुनै मुलुकबाट लाखौं लगानी लगायर प्लेन चार्टर गरि ल्यायर ज्वाँई पाले जस्तै गर्ने ? भारतमा रहेका गरिव परिवारका नागरिकलाई सिमाबाट समेत प्रवेश गर्न नदिने । यो न्यायोचित कार्य होईन राष्ट्रका लागि सबै नागरिक बराबर हुन् । बराबर अधिकार छ ।’ सरकार सैद्धानितक रुपमा हारेको आरोप लगाउँदै उनले प्रश्न गरे,“बर्गिय संघर्षबाट आएका हुँ भन्नेले गरिव मजदुरको पीडा बुझ्नु पर्दैन ? पेट पाल्न, घरपरिवार पाल्न, मजदुरी गर्न परदेशीएका हरुको भावना बुझ्नु पर्दैन ?”

रेडियो वहसमा बलायरले प्रदेश सरकार पनि कोरोना नियन्त्रणका बिषयमा चुकिरहेको र भारतमा रहेका नेपालीहरु प्रति गैरजिम्मेबार रहेको बताए । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई संकेत गर्दै उनले भने,‘भारतमा चौकीदारी गरेको मान्छे हुँ, चौकीदार हुँ, प्रवासबाट राजनीति गरेर आएको हुँ , गरिवको छोरो हुँ भनेर हुँकार पिट्नेले भारतमा रहेका प्रवासीहरुको पीडा बुझ्नु पर्दैन, उनिहरुको उद्धार गरेर व्यवस्थित ढंगबाट सुरक्षित तबरबाट क्वारेण्टाइनमा राख्ने व्यवस्था र उपचारको व्यवस्था गर्न सक्नु पर्दैन ?’

यसभन्दा पहिला नेपाल प्रवेश गराइएका नेपालीहरुलाई समेत सुरक्षित, सामाजिक दुरी कायम गरायर व्यवस्थित ढंगले भिœयाउँन नसक्दा झनै जोखिम बढेको उनको भनाई थियो । स्थानिय सरकार संग बलियो स्रोत साधन नभएको अवस्थामा एउटै गाडीमा कोचाकोच गरि सबैलाई हचुवाको भरमा स्थानिय तहलाई जिम्मा दिनुले पनि जोखिम उच्च देखिएको भन्दै उनले कोरोना संग जुझ्न स्थानीय तहमा ३ लाख मात्रै पठाउँने जोखिमा भएका ब्यक्तिलाई पनि स्थानिय सरकारकै जिम्मा लगाउँने कार्य पनि गलत रहेको बताए ।

कोरोना संक्रमले विश्व त्रसित भईरहेको अवस्थामा दुई महिना अघि नै कोरोना नियन्त्रण तथा उपचार स्वास्थ्य सामग्रीको तयारी हुनु पर्ने बताउँदै उनले सरकारले अहिले सम्म पनि पर्याप्त मात्रामा स्वास्थ्य सामग्रीको जोह गर्न नसकेको बताए । सरकारले कृतिम कम्पनी खडा गरेर, टेण्डर प्रक्रिया नै नचाली भ्रष्टाचार गर्ने उद्येश्यले पाँचगुणा महंगोमा सामन खरिद गरी संकटको घडिमा जनस्वास्थ्यमाथी खेलडवाड गर्ने, आर्थिक चलखेल गर्ने कार्य गरेको आरोप लगाउँर्दै सरकार जनता र राष्ट्रप्रति गैरजिम्मेबार रहेको बताए । नेपाली सेनालाई स्वास्थ्यसामग्री खरिद गर्ने जिम्मेबारी दिनुले पनि सरकारको नैतिकता माथि प्रश्न उठेको उनको भनाई थियो ।

कोरोना रोकथाम तथा नियन्त्रण र उपचारका लागि नेपाली काँग्रेसले सरकारलाई सघाउँने , प्रोत्साहन दिने, सुझाब सल्लाह र दवाब दिने कार्य गरिरहेको बताउँदै केन्द्रिय सदस्य बलायरले आफुहरु लकडाउँनको पुर्ण पालना गरिरहेको बताए । उनले भने,‘हामी सरकारलाई सघाउँन, सुझाब सल्लाह दिईरहेका छौं । लकडाउँनको पालना गर्न कार्यकर्तालाई अनुरोध गरिरहेका छौं तर सरकारले यहि मौका छोपेर आर्थिक चलखेल गर्ने, कार्यालय सार्ने, कर्मचारी सरुवा वडुवा गर्ने, सरकारी स्रोत साधनको दोहन गरेर प्रतिपक्षी लाई थुनेको अनुभुति गर्दै कालोबजारी, राहतका नाममा प्रचारप्रसार, लकडाउनको उलंघन, कार्यकर्तालाई पास वितरण जस्ता कार्य गरिरहेको छ । हामी तरकारी समेत किन्न बाहिर निस्केका छैनौ सरकार पक्षकाहरु पास छ भन्दै जथाभावी लकडाउनको उलंघन गर्दै हुइकी रहेका छन् । नेपाली काँग्रेस अझै संयमित भयर नियालीरहेको छ । यदि सरकारका गनिबिधि यस्तै रहिरहे भने लकडाउन तोडिन सक्छ । संघर्ष अघि बढाउँनु पर्ने बाध्यता आउँन सक्छ त्यसैले सरकार अहिलेनै सचेत र संबेदनशिल होस् ।’

बहसका क्रममा उनले भाइरसको बढ्दो संक्रमण संघै मुलुकमा खाद्यन्नको अभाव, भोकमरीको सृजना हुनसक्ने भएकाले विकासे योजनाहरुलाई छोडेर सबै तहका सरकारले त्यसको जोह तथा महामारी संग जुझ्न पूर्ण तयारिमा जुट्न आग्रह गरे ।

वहसको अन्यमा बलायरले जनताहरुलाई सम्बोधन गर्दै विश्वभरी फैलिएको महामारीलाई हल्का रुपमा नलिन अनुरोध गरे । उनले भने,‘कोभिड १९ का कारण अहिले विश्व नै आतंकित छ । यसको असर नेपालमा पनि परेको छ । सुदूरपश्चिम प्रदेश त्यसको उच्च जोखिममा छ । तपाइहरु अतिआवस्यक काम बाहेक बाहिर नजानुस् । समुदाय तथा घरमा बाहिरि मुलुकबाट आएका ब्यक्तिहरुलाई खानपिनको व्यवस्था सहित छुट्टै राख्ने व्यवस्था गर्नुस् । यस्तो अवस्था एकअर्काको घरमा नजानुस्, भिडभाड नगर्नुस् यति गर्दा पनि संक्रमण फैलिहाल्यो भने हामी तपाइहरुको साथमा छौं । हामी पनि तपाइहरु संग आउँछौं । जनता नै रहनु भएन भने हामीले कस्का लागि बाँच्ने, कस्का लागि राजनीति गर्ने ? अहिले लाई आफु संक्रमण हुनबाट बच्नुस् , आफ्नालाई बचाउँनुस् , गाउँसमाजलाई बचाउँनुस् । बाहिरबाट आएका सबै अनिवार्य क्वारेण्टाइनमा बसिदिनुस् ।’

Related News

कञ्चनपुरमा स्रोत नखुलेको २५ लाख रकम बरामद
कञ्चनपुरमा स्रोत नखुलेको २५ लाख रकम बरामद
  • २०७६ चैत्र २९

कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका ९ ब्रम्हदेवबाट स्रोत नखुलेको २५...

TOP