२०८१ बैशाख ४, मंगलवार
April 16, 2024, Tuesday

धनगढीमा फुड बैंकको स्थापना

कैलाली – धनगढी उपमहानगरपालिका–३ गुरुद्वार टोलका स्थानीय युवाले टोलवासीको घरदैलोबाट राहत सङ्कलन गरेर फुड बैंकको स्थापना गरेका छन् ।

कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि सरकारले आह्वान गरेको लकडाउनका कारण दैनिक छाक टार्न मजदुरी गर्ने मजदुरका लागि घरदैलोबाट राहत सङ्कलन गरेर फुडबैंक स्थापना गरिएको युवा समाजसेवी मदन भट्टले बताए ।

लकडाउनमा आय आर्जनको बाटो बन्द हुँदा असहाय, गरीबलाई रोगसँगै भोकले महामारी ल्याउन सक्ने अवस्थालाई मध्यनजर गरेर फुडबैंक स्थापना गरिएको स्थानीय युवा समूहले जनाएको छ ।

युवा समूहले उपमहानगरपालिका–३ को मसानटोलका दैनिक काम गरेर घर खर्च चलाउने विपन्न ९४ परिवारलाई खाद्यान्न वितरण गरेको छ ।

उपमहानगरपालिकाद्वारा लकडाउनका कारण छाक टार्न समस्या भएका करिब २०० परिवारलाई राहतस्वरुपको खाद्यान्न वितरण गरिएको छ । नगरप्रमुख नृपबहादुर वडका अनुसार राहत वितरणका लागि प्रत्येक वडामा अध्यक्षको संयोजकत्वमा सर्वदलीय तथा सर्वपक्षीय समिति गठन गरी लकडाउनले छाक टार्न समस्या भएकाको विवरण सङ्कलन गरिएको थियो । उक्त समितिले सङ्कलन गरेको विवरणका आधारमा राहत वितरण शुरु गरिएको हो ।

वडा नं ८ र ५ मा बिहीबार बिहानैदेखि राहत वितरण गरिएको थियो । अन्य वडामा पनि वितरणका लागि खाद्यान्न पु¥याउने काम भइरहेको बताइएको छ । धनगढी–८ का अध्यक्ष नारायणप्रसाद बरालले लकडाउनका कारण छाक नै चल्न नसकेका करिब दुई सय परिवारलाई राहत स्वरुपको खाद्यान्न वितरण गरिएको जानकारी दिए।

त्यस्तै वडा नं ५ मा पनि खाद्यान्न वितरण गर्ने काम सुरु भएको अध्यक्ष हिरासिंह पातलीले बताए ।

वडाध्यक्षको सहयोग

धनगढी उपमहानगरपालिका–४ का वडाध्यक्ष दीपककुमार थापा क्षेत्रीले दैनिक मजदुरी गरेर छाक टार्ने मजदुर, सुत्केरी महिला र अनाथका लागि खाद्यान्न सहयोग गरेका छन् ।

वडाध्यक्ष थापाले उपमहानगरपालिकाका अन्तर्गतको नगरस्तरीय विपद् व्यवस्थापन खाद्यान्न समाग्री हस्तान्तरण गरे ।

थापाले २१ कट्टा चामल, ५० किलो दाल, तीन बोरा सोयाविन, एक बोरा नुन, दुई पेटी तेललगायतका खाद्यान्न सामग्री हस्तान्तरण गरेको विपद् व्यवस्थापन समितिले जनाएको छ ।

बेहडाबाबा मन्दिरद्धारा खाद्यान्न

धनगढीस्थित बेहडाबाबा मन्दिर व्यवस्थापन सेवा समितिले खाद्यान्न सामग्री उपलब्ध गरेको छ । मन्दिर व्यवस्थापन सेवा समितिका सचिव पदमराज जोशीलगायतको टोलीले चामल ४८ कट्टा, आलु सात कट्टा, नुन दुई कट्टा नगरस्तरीय विपद् व्यवस्थापन समितिलाई बुझाइएको छ । समितिका सचिव जोशीले अप्ठ्यारो अवस्थामा सबैलाई यसरी नै मानवीयता सम्झेर सहयोग गरिदिन आम जनसमुदायलाई अनुरोध गरे ।

धनगढीको हिमशिखर सहकारी संस्थाले पनि मजदुरी गरेर खाने वर्गका लागि भन्दै २० कट्टा चामल र पाँच पेटी खानेतेललगायतका खाद्यान्न सहयोग गरेको छ ।

४३ भारतीय क्वारेन्टाइनमा

प्रदेशका विभिन्न स्थानमा अलपत्र परेका भारतीय नागरिकलाई धनगढी उपमहानगरपालिकाले त्रिनगर माध्यमिक विद्यालयमा स्थापना गरेको क्वारेन्टाइनमा राखेको छ ।

उपमहानगरपालिकाले अलपत्र परेका ४३ भारतीयलाई त्रिनगर माध्यमिक विद्यालयमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको नगरप्रमुख वडले जानकारी दिए ।

Related News

सुदूरपश्चिममा समाजवादीको निर्णय फेरियो, लक्ष्मण चौधरीलाई दिएको समर्थन फिर्ता
सुदूरपश्चिममा समाजवादीको निर्णय फेरियो, लक्ष्मण चौधरीलाई दिएको समर्थन फिर्ता
  • २०७६ चैत्र २१

दिपायल- नेकपा एकीकृत समाजवादीले नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीलाई...

TOP