विना दाहाल आचार्यले चैत ५ गते अल्का अस्पतालमा छोरी जन्माइन्। अधिवक्ता समेत रहेका सुवास आचार्यले चैत १० गते सुत्केरी श्रीमती र नवजात छोरीलाई मध्य बानेश्वरस्थित घर ल्याए।

हिन्दू परम्पराअनुसार सामान्यतया शिशु जन्मिएको ११ औँ दिनमा न्वारन (नामाकरण) गरिन्छ । जसअनुसार ११ औँ दिन अर्थात् चैत १५ गते (शनिबार) छोरीको न्वारन गर्नुपर्ने भो। तर, कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि नै लकडाउन लागु गरेको थियो । यसका कारण घरबाहिर निस्कन र बाह्य मान्छेको सम्पर्कमा जान पूर्ण रुपमा प्रतिबन्ध नै लागि रहेको छ।
एकातिर न्वारन जस्तो अनिवार्य संस्कार गर्नै पर्ने अर्कोतिर घरमै पण्डित बोलाए आउन नसक्ने। यस्तो असजिलो अवस्थामा आचार्य परिवारले पण्डितसँग फोनबाटै सल्लाह गरे। कोटेश्वर महादेवस्थान नजिकै बस्ने पण्डित राजगुरु वीरेन्द्रले सल्लाह दिए–लकडाउन खुलेपछि न्वारन गर्दा फरक पर्दैन। तर आचार्य परिवार त्यसमा सहमत भएनन् र ११ औैँ दिनमै न्वारन गर्ने निष्कर्षमा पुगे।
यसको उपाय के त?
जुक्ति निस्कियो, फोनबाटै न्वारन!
फोनबाटै न्वारन गर्ने निचोडमा पुगेपछि आचार्य परिवारले पण्डितलाई त्यही निष्कर्ष सुनाए। पण्डित पनि फोनबाटै न्वारन गराउन तयार भए। चाहिने सााग्रीको नाम टिपाउँदै शनिबार दिउँसो १२ बजे पूर्व फर्केर तयारी अवस्थामा रहँदै आफूलाई फोन गर्न भने। सबै सामग्री ठिकठाक पारेर भनेकै समयमा आचार्यले पण्डित वीरेन्द्रलाई फोन लगाए ।
अनि सुरु भयो छोरीको नामाकरण संस्कार । करिब आधा घण्टामा न्वारनको विधि सकियो। पण्डितले फोनबाट शिशुको नाम पनि जुराइ दिए, भाग्यलक्ष्मीदेवि आचार्य। उनले आचार्य परिवालाई भनि पनि दिए ‘छोरी घरको हजुरआमा जस्ती लक्षिन् कि छन्।’
न्वारनबारे आइतबार देश सञ्चारसँग कुरा गर्दै आचार्यले खुशी व्यक्त गर्दै भने, ‘न्वारन जस्तो कुरालाई किन रोक्नु भनेर हामीले फोनबाटै गरेका हौँ । कोरोनाको कारण बाहिर निस्कने अवस्था छैन। छोरीको स्वास्थ्य पनि राम्रो छ।’
पण्डित वीरेन्द्रले पनि लकडाउन सुरु भएपछि आफूले फोनबाटै संस्कार जन्यकार्य गर्दै आएको बताए। ‘बाहिर नकिस्न सक्ने अवस्था छैन। मैले फोनबाट काम गर्दै आएको छु। अहिलेसम्म न्वारन र ग्रहशान्ति फोनबाटै गरेँ।’
फोनबाटै धार्मिक संस्कार गरे पनि दक्षिणा भने भेटेरै लिने योजना बनाएको उनले सुनाए। ‘यस्तो बेला सेवा गर्न पाउनु नै ठूलो कुरा हो। दक्षिणा त लिँदै गरौँला नि। अहिले वचन प्राप्त भएको छ।’
उनले विद्युतीय भुक्तानीबारे सुनेको भए पनि आफूले अहिलेसम्म प्रयोग नगरेको जानकारी दिए।
यति बेला कोरोनाको कहर सिंगो विश्वले भोगिरहेको छ। नेपालले पनि कोभिड–१९ को संक्रमण रोक्नका लागि लकडाउनको घोषणा गर्दै सामान्य जनजीवनमा रोक लगाएको छ।
सरकारले चैत ११ गते घोषणा गरेको लकडाउन सोमबार सकिँदैछ र त्यसको अवधि लम्ब्याउने तयारीसमेत भइरहेको छ। लक डाउनका कारण नेपाली समाजको सामाजिक, साँस्कृतिक परम्परासमेत नराम्रोसँग बिथोलिन पुगेको छ।
दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...