डोटी – सरकारले कोभिड–१९ को उपचारको लागि सुदूरपश्चिम प्रदेशका १८ वटा अस्पतालसँग सम्झौता गरेको छ । सम्झौता गरिएका ती अस्पतालमा कोभिड बिरामीको उपचारमा लाग्ने खर्च सरकारले बेहोर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सुदूरपश्चिमका डडेल्धुरा अस्पताल, सेती प्रादेशिक अस्पताल, टिकापुर अस्पताल, महाकाली अस्पताल, निसर्ग अस्पिटल एण्ड रिसर्च सेन्टर धनगढी, माया मेट्रो हस्पिटल धनगढी, श्री पद्मा अस्पिटल अत्तरीया, कैलाली हस्पिटल धनगढी, नवजीवन हस्पिटल धनगढी, मालाखेती अस्पताल गोदाबरी नगरपालिका, जोगबुढा अस्पताल डडेल्धुरा र सुदूरपश्चिम सामुदायिक अस्पताल अत्तरीयामा संक्रमितको निःशुल्क उपचार हुने मन्त्रालयले जनाएको छ । त्यस्तै जिल्ला अस्पतालहरु डोटी, बजाङ, बाजुरा, अछाम र दार्चुलामा पनि बिरामीले उपचार शुल्क तिर्नु पर्दैन ।
सरकारले सुदूरपश्चिमका १८ सहित देशभरका ८१ वटा अस्पतालसँग सम्झौता गरेको छ । सरकारले यी अस्पताललाई कोभिड–१९ का बिरामीको उपचार गरेबापत् शोधभर्ना दिन्छ ।
यसरी सम्झौता गरेका अस्पतालमध्ये प्रदेश १ मा तीनवटा, प्रदेश २ मा पाँच, बागमती प्रदेशमा ३७ अस्पताल छन । । त्यस्तै गण्डकी प्रदेशका पाँच, लुम्बिनी प्रदेशमा १०, कर्णालीमा तीन र सुदूरपश्चिमका १८ अस्पतालसँग सम्झौता गरिएको छ ।
बेङ्गलुरु- भारतको बेङ्गलुरुमा रहेको मनिपाल हस्पिटलमा एक नेपाली उपचार अभावमा...