कैलाली- सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण तिब्र रुपमा फैलिदै गएको छ । संक्रमितको मृत्यु दर पनि बढ्दो क्रममा रहेको छ । संक्रमणदर वृद्धि भएसँगै सरकारी अस्पतालहरुमा अक्सिजनको अभाव हुन थालेको बताइएको छ ।
कोरोनाको दोस्रो लहर तीब्र रूपमा फैलिएपछि पश्चिमी सीमा नाका गौरीफन्टा भएर स्वदेश फर्किनेको संख्या बढ्दै गएको छ । नाकामा होल्डिङ सेन्टर नहुँदा भारतबाट फर्किएका नेपाली सोझै घर गइरहेका छन् । जसले सुदूरपश्चिम प्रदेशमा पनि संक्रमण र मृत्यु दर बढेको छ । प्रदेशभर बिहीबार एकैदिन कैलालीका ६ जना, कञ्चनपुरका ५ जना, अछामका २, दार्चुलाका १ र बझाङका १ जना गरी कोभिडका कारण १५ जनाले ज्यान गुमाएका छन् । संक्रमण र मृत्यु दर बढेको भन्दै कैलाली र कञ्चनपुरमा बिहीबारदेखि नै निषेधाज्ञा लागू छ ।
कोरोना संक्रमितको उपचार हुने अस्पतालहरुमा क्षमता भन्दाबढी बिरामीहरु भर्ना भएकाछन् । सेती प्रादेशिक अस्पतालमा रहेको ५० शय्याको अस्थायी कोरोना अस्पतालमा ६० जना भन्दा बढी बिरामी भर्ना भएका छन् । उनीहरूमध्ये १२ जना आईसीयू, तीन जना भेन्टिलेटर, ३५ जना अक्सिजन सपोर्ट र १० जनालाई अवस्थाअनुसार अक्सिजन दिएर उपचार भइरहेको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए ।
संक्रमण पुष्टि भएका र सम्भावित संक्रमितलाई अस्पतालको इमर्जेन्सी वार्डमै राखेर उपचार गर्नुपर्ने अवस्था आइलागेको छ । इमर्जेन्सी वार्डमा रहेका १६ शय्या पनि भरिएपछि बिरामीहरू घरबाटै बेड लिएर ग्यालरीमा बसिरहेको अस्पतालले जनाएको छ । सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डका इन्चार्ज समेत रहेका सिनियर अहेव भरत खातीले अवस्था भयावह बनिसकेको बताए ।
अस्पतालहरुमा अक्सिजन सपोर्टमा राख्नुपर्ने कोरोना बिरामीहरुलाई मात्र भर्ना गरिदै आएको छ । प्रदेशमा अक्सिजन आपूर्तिको भरपर्दो व्यवस्था नभएको भन्दै बिरामीका आफन्तले गुनासो गर्न थालेका छन् । बिरामीका कुरुवाले अक्सिजन सिलिण्डर लुछाचुडी गर्न थालेपछि अक्सिजन अभावमा संक्रमितले ज्यान गुमाउनुपर्ने अवस्था आउन थालेको सेती अस्पतालमा आमाको उपचार गराइरहेका एक कुरुवाले बताए ।
प्रदेशका सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र डडेल्धुरा अस्पतालमा मात्रै अक्सिजन उत्पादन गर्ने यूनिट छ । अन्य अस्पतालहरुमा यूनिट जडान गर्नतर्फ सरकारी पक्षले समयमै ध्यान दिन नसकेको भन्दै आलोचना हुन थालेको छ । सेती प्रादेशिक अस्पतालमा दैनिक १ सय ४० सिलिण्डर अक्सिजन खपत हुनेगरेकोमा हाल दैनिक ५० सिलिण्डर अक्सिजन मात्रै उत्पादन भइरहको अस्पतालले जनाएको छ ।
सेतीमा खपत हुने अक्सिजनको ठूलो परिमाण बाहिरबाट ल्याउनुपर्ने अवस्था रहेको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए । उनले अस्पतालमा अक्सिजनको खपत र बिरामीदर बढेसँगै अस्पतालले ५० सिलिण्डर खरिद गर्न लागेको जानकारी दिए । कोरोना संक्रमित बढ्दै गएका बेला अक्सिजनको माग ह्वात्तै बढेको उनको भनाइ छ । ‘तर हामीले मागका आधारमा उत्पादन गर्न नसके पनि जसोतसो व्यवस्थापन गरिरहेका छौं । संक्रमित थपिंदै गएमा अक्सिजन आपूर्तिमा असहज हुनसक्छ’, श्रेष्ठले भने । गर्मीका कारण लोड धान्न नसक्दा अक्सिजन प्लान्ट बेलाबेलामा बन्द हुने समस्या देखिन थालेको छ । ९७ वटा सिलिण्डरले मात्र काम चलाइरहेको अस्पतालले थप ५० वटा खरीदका लागि प्रक्रिया अघि बढाएको छ ।
महाकाली अस्पतालमा दैनिक १५ सिलिण्डर अक्सिजन खपत हुनेगरेकोमा अस्पतालमा हाल ५ सिलिण्डर अक्सिजन मात्रै उत्पादन गर्ने यूनिट रहेको अस्पतालका कोभिड सम्पर्क व्यक्ति डक्टर गोबीन्द रोकायाले बताए । प्रदेशका पहाडी जिल्लामा रहेका अस्पतालहरुले अक्सिजन आपूर्तिका लागि धनगढी या नेपालगञ्जबाट लगिएका सिलिण्डरको भरपर्नु बाहेक अन्य विकल्प नभएको पाइएको छ ।
कैलालीका निजी अस्पतालमा पनि कोरोना संक्रमितको उपचार हुने भएपछि केही सहज हुने देखिन्छ ।
दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...