२०८२ बैशाख ११, बिहीबार
April 24, 2025, Thursday

ब्यवसाय “शैलुन” : सपना “युवा स्वरोजगार”

डोटी- कपाल, दाह्री काट्न शैलुन पस्ने वित्तिकै भनिन्छ,“भैया कपाल काट्दो” ! प्राय सुदूरपश्चिममा सञ्चालित शैलुनमा भारतीय नागरीकहरुले कपाल काट्ने गरेकाले सुरुमै हिन्दी भाषको प्रयोग गर्ने गरिन्छ । यो पेशामा केही नेपालीहरु पनि आबद्ध छन् तर उनिहरु पनि प्राय हिन्दीभाषी छन् । त्यसैले शैलुनमा हिन्दी भाषाको प्रयोग बढी छ । पछिल्लो समय यो पेशामा केही मात्रामा स्थानीय युवाहरुको आकर्षण देखिन थालेको छ ।

भारतका विभिन्न ठाउँबाट आएर सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा बषौं देखि शैलुन पेशालाई अंगाल्दै भारतीय नागरिकहरुले आफ्नो जिपिकोपार्जन गर्दै आएका छन् । यहाँको कमाइले भारतमा हुनेखाने वर्गमा पर्दछन् उनिहरु । यहाँका नागरिकहरु भने कामको खोजिमा भारत पस्ने गरेका छन् भने भारतीय नगरिक नेपालमा आएर व्यवसाय सञ्चालन गर्दै आएका छन् । यही कुरालाई मध्यनजर गर्दै स्वदेशमै केही गर्नु पर्छ भनि डोटीका युवाले पनि शैलुन व्यवसाय सुरु गरेका छन् ।

मानिस उमेरसँगै पेशा, ब्यवसाय, लक्ष, उद्येश्यलाई परिवर्तन गरिरहन्छ । परिवर्तन कोही बाध्यताले गर्छ त कोही रहरले गर्छ । यसमा सफलता, असफलता र कमाइले पनि प्रभाव पारिरहेको हुन्छ । कसै–कसैले भने सामाजिक कार्य, समाज सेवा, समाजिक रुपान्तरण र राष्ट्रका लागि भनेर आफुलाई अन्यत्र मोडिदिन्छन् । गायन अभिनय क्षेत्रमा भिजेका एक युवा जो अहिले शैलुनमा कपाल काटीरहेको अवस्थामा भेटिन्छन् । कोभिड १९ का कारण भारत लगायत तेस्रो मुलुकमा काम गर्ने युवाहरु गाउँफर्किएपछि उनिहरुलाई आत्मानिर्भर बनाउँने स्वरोजगार बन्न प्रेरणा दिने लक्ष सहित शिखर नगरपालिका– ८ गोपघाटका युवा राजु भट्टले शैलुन व्यवसाय सुरु गरेका हुन् । अहिलेको अवस्थामा प्रवासबाट गाउँपसेका युवालाई स्वरोजगार बनाउँने र गाउँमै युवा परिश्रम उपयोग गर्ने गरी आफैबाट शैलुन पेशाको सुरुवात गरेको उनि बताउँछन् ।

सानै उमेर देखि गीत गायन, लेखन र अभिनयमा रुचि राख्ने भट्टले सीताराम माबि उच्चाकोटमा कक्षा ८ मा पढ्दै गर्दा “लैजा तेरो माया जाल” नामक डेउडा गीती एल्बम बजारमा ल्याएका थिए । क्यासेटको जमानामा ६ वटा गीतहरु समावेस भएको त्यो एल्बम धेरै बिक्रिभएको थियो । क्यासेट बिक्रिबाट आएको पैसाले उनले आफ्नै शब्द लय र आवाजमा अर्को माया जाल नामक एल्बम ल्याएका थिए । उनि डोटीको पवित्रा बोर्डिङ्गबाट एसएलसी पास गरिसकेपछि पढाइ तथा कलाकारिता क्षेत्रलाई निरन्तरता दिन काठमाण्डौं पुगे । देशको राजधानी काठमाण्डौंको पहिलो यात्रा रहर र सपनाको भारीसँगै तय गरेका उनले पाटन बहुमुखी क्याम्पासबाट पढाइलाई निरन्तरता दिए । कमर्सबाट बिए गरेका उनले सोही क्रममा पाटन फिलिम प्रोडक्सन (डाइमण्ड क्लव) बाट फिलिम स्टडीमा डिप्लोमा गरे । यो क्रममा उनले भिडियो डकुमेन्ट्र तथा चलचित्र र गीतहरुमा कोरस डान्स, गीतको निर्देसन गर्न थाले । डिप्लोमा पछि उनले सोही ठाउँमा टिचिङ्ग पनि गरेको बताउँछन् ।

भट्टले मञ्जरी, थी्र लभर्स, द रियल आर्टिस् लगायतका चलचित्रमा अभिनय समेत गरेका छन् भने अन्य दर्जनौं चलचित्रमा कोरस डान्स गरेका छन् । गायन चलचित्र क्षेत्रमा भिजिसकेका उनिले चलचित्रकै लागि भनेर निल डेबिट हेड स्टाइलमा शैलुनको काम सिकेका थिए । चलचित्रका कलाकारहरु, नायक, नायीकाको हेड स्टाइल बनाउने काम गर्दथ्य । त्यही दौरानमा केही साथीहरुसँग मिलेर काठमाण्डौंमा शैलुन पनि सञ्चालन गरेका थिए ।

घरायसी समस्याका कारण उनि केही समय यता घरमै छन् । घरमा रहदा उनले पसलका लागि टहराहरु बनाई भाडामा दिने गरेका छन् । उनले निर्माण गरेको त्यो क्षेत्रमा अहिले भारत तथा अन्य मुलुकबाट रोजगारी गुमाएकाहरुले होटेल, कपडा पसल, रिसोर्ट, तरकारी पसल, पुस्तकालय स्थापना गरी व्यवसाय गर्दै आएका छन् । सोही ठाउँमा आफै सञ्चालन गर्ने गरेर खोलेको शैलुन छ । सडक छेउको खाली ठाउँ अहिले मिनि मार्केट जस्तै बनेको छ ।

सपना “युवा स्वरोजगार”

राजु भट्ट लामो समय काठमाण्डौं बसेको खाइलाग्दो एउटा युवा । एउटा कलाकार । स्थायी शिक्षकको छोरा । पढेलेखेको केटा । शैलुनमा कपाल, दाह्री काट्दै गरेको देख्दा उनकै साथीभाईहरुले, छरछिमेकीले जिस्काउने र हास्ने गर्छन् । कसै कसैले त कुबुद्धी नै लागेको भन्छन् तर उनको एउटा सपना छ । एउटा अठोट छ । प्रवासबाट रोजगारी गुमाएर, प्रवासमा दुःख पीडा भोगेका युवाहरुलाई स्वरोजगार बनाउँने ।

हाँची हेयर डिजाइनिङ्ग एण्ड ट्रेनिङ्ग सेण्टर नामक शैलुनका सञ्चालक उनि भन्छन्,‘यहाँको परिवेस, यहाँको समाज र ठाउँका लागि यो नयाँ र एउटा अनौठो कार्य हो । कपाल काट्न अर्काको घरबाट कैंची मागेर छिमेकी गुहार्ने समाजमा मैले यो पक्कै नयाँ गरेको छु । समय परिवर्तनसँगै मानिसको जीवन सैली पनि बद्लीदै गएको छ र कपाल काट्न टाढाको बजार दिपायल पुग्ने यहाँका बासिन्दाले यतै सेवा पाएका छन् । केही समय मैले उहाँहरुको जिस्कावट पचाउनै पर्छ । छोटो समयमा स्थापित हुन सकिन्छ ।’ शिखर समाचारसँगको कुराकानीमा उनले प्रवासबाट आएका युवाहरुको बिषयमा पटक पटक चिन्ता व्यक्त गर्दै भने,‘अरुको देशमा अपमानित जीवनसंगै कडा परिश्रम गरेर आफ्नो शक्ति फाल्नुभन्दा आफ्नै देशमा यो ब्यवसाय गर्नु एकदमै उचित हुन्छ । मैले तिनै युवाहरुलाई समेटेर, सीप सिकाएर डोटी जिल्ला लगायत सुदूरपश्चिमका विभिन्न सहरहरुमा यो शैलुनको शाखा विस्तार गर्ने लक्ष लिएको छ ।’

अहिले भट्टको शैलुनमा दुई जना काम गर्ने मान्छेहरु छन् । उनिहरु भारतबाट रोजगारी गुमाएर नेपाल आएका युवाहुन् । भारतमा मजदुरी गर्ने उनिहरुलाई भट्ट आफैले निःशुल्क तालिम दिएर काम गराउँदै आएका छन् । तालिमका दौरानमा उनले शैलुनको कमाई उनिहरुलाई समेत बाँड्ने गरेका छन् । काम गर्न चाहने युवाहरुलाई निःशुल्क तालिम गराएर व्यवसाय गर्न शैलुनको शाखा नै विस्तार गरिदिने उनि बताउँछन् ।

व्यक्तिगत लगानीमा धेरै जनालाई तालिम दिन व्यवसायमा स्थापित गर्न नसकिए पनि छरछिमेकका केही युवाहरुका लागि शुरुवाती चरणमा काम गरिरहेको भट्ट बताउँछन् । युवाहरुलाई विदेश पलाएन हुनबाट रोक्ने, उनिहरुलाई स्वरोजगार बनाउँने, युवा जनशक्ति आफ्नै देशमा प्रयोग गर्ने खालको रणनीति सबै तहका सरकारले बनाउन जरुरी रहेको उनि बताउँछन् । कम्तिमा स्थानिय तथा प्रदेश सरकारले युवा स्वरोजगारलागि भनेर छुट्टयाउने बजेटको सही सदुपयोग भयो, सरकारको नीति अनुरुप युवाहरुलाई बैंकले ऋण उपलब्ध गरायो भने युवा जनशक्तिलाई स्वदेशमै रोक्न सकिने उनको भनाइछ । युवा व्यवसायी भट्टको स्थानिय सरकारसंगको समन्वयमा तालिम तथा व्यवसाय प्रबद्धनका लागि थप कार्य गर्ने योजना रहेको छ । ब्यवसायबाट एकलाखको लगानीमा मासिक ५० हजार भन्दा माथि कमाउन सकिने बताउँछन् । कम लगानी र मुनाफा बढी भएको यो पेशामा युवाहरुलाई समेट्न सके युवाहरुलाई स्वरोजगार बनाउन सकिने उनको सपना छ ।

शैलुनमा उनले बृद्धाहरुको दाह्री कपाल निःशुल्क काट्ने गरेका छन् भने विद्यार्थी बालबालिकाहरुका लागि छुटको व्यवस्था पनि गरेका छन् ।

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०७७ भाद्र १३

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP