दिपायल । समस्याग्रस्त सहकारीका ६ हजार धेरै बचतकर्ताको बचत फिर्ता भएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले अहिलेसम्म ६ हजार एक सय ५५ बचतकर्ताको शतप्रतिशत बचत फिर्ता गरिएको जनाएको छ । त्यस्तै चार सय ३८ मागदावीकर्ताको आंशिक भुक्तानी भएको छ । शतप्रतिशत भुक्तानी भएका र आंशिक गरी अहिलेसम्म एक अर्ब ५१ करोड ५३ लाख ३६ हजार भुक्तानी गरिएको हो । समस्याग्रस्त घोषणा भएका २२ वटा सहकारीमध्ये अहिलेसम्म तीनवटा सहकारीको मागदावीकर्ताको रकम फिर्ता गरी राफसाफ भएको छ ।
समितिका अध्यक्ष श्रीमणकुमार गौतमले समस्याग्रस्त तीन वटा सहकारीका पीडितको बचत फिर्ता गरी हिसाब राफसाफ गरेपछि बाँकी १९ वटाको समस्या समाधानका लागि काम भइरहेको बताए। चालु आर्थिक वर्षको अन्त्यसम्म अन्य नौ वटा सहकारीका मागदावीकर्ताको पनि बचत रकम राफसाफ गर्ने तयारी भएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ । समस्याग्रस्त सहकारीका ६२ हजार ७ सय भन्दा धेरै सदस्य छन् । उनीहरुको मागदाबी ४० अर्ब रुपैयाँ भन्दा धेरै छ । तर अहिलेसम्म डेढ अर्ब मात्रै फिर्ता भएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीबाट समस्यामा परेकाको समस्या समाधानका लागि कानुन संशोधनको तयारी गरिएको समेत जानकारी दिएको छ । ऋण नतिर्ने र एकाघरका परिवारका सदस्यको सम्पत्ति र राहदानी रोक्का गर्ने तयारी गरिएको उहाँले बताए । मन्त्रालयले अन्य केही सहकारीलाई पनि समस्याग्रस्त घोषणा गर्ने तयारी गरेको छ । बाँकी १९ वटा सहकारीका ऋणीलाई भोलि कात्तिक १५ गतेसम्म लिएको ऋण चुक्ता गर्न सूचना प्रकाशन गरिएको छ । ऋण नतिर्ने ऋणीका परिवारका सदस्यको सम्पत्ति र राहदानी तिहारपछि नै रोक्का गर्ने तयारी छ ।
दिपायल, मंसिर १६ गते । डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका –...