२०८२ श्रावण ३, शनिबार
July 19, 2025, Saturday

गाउँको सहकारीले एक वर्षमा भित्र्यायो ४ करोड ८२ लाख

एउटा गाउँलाई केन्द्रित गरेर १२ वर्ष अघि स्थापना गरिएको सहकारीले एक वर्षको अवधिमा ४ करोड ८२ लाख भन्दा बढी रकम गाउँमा भित्र्याएको छ । केआईसिंह गाउँपालिका वडा नं. ६ र ७ मा सञ्चालित नव बिहानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मनी ट्रान्सफर सेवा सञ्चालन गरेर उक्त रकम भित्र्याएको हो ।

२०६७ सालमा २९ जना शेयर सदस्यले एक लाख ४५ हजार संकलन गरेर स्थापना गरेको उक्त सहकारीमा अहिले ७ सय ७५ जना शेयर सदस्य छन् । एक गाउँबाट सुरु गरिएको सहकारीले हाल गाउँपालिकाका दुई वटा वडामा सेवा दिइरहेको छ । सहकारी संस्थाले यो वर्ष मनी ट्रान्सफर सेवा मार्फत ६ करोड ९५ लाख ६ हजार ५५५ रुपैंयाको कारोबार गरेको नव बिहानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक लोक बहादुर बलायरले शिखर समाचारसँग बताए । उनका अनुसार भारत तथा अन्य मुलुकबाट ३ करोड ३७ लाख ९६ हजार ७ सय ६७ रुपैंया भित्रिएको छ । त्यस्तै, नेपाल भित्रबाट १ करोड ४४ लाख १ हजार ६८३ रुपैंया गाउँमा भित्रिएको छ भने १ करोड २७ लाख ५८ हजार १०५ रुपैंया बाहिरिएको छ । मनी ट्रान्सफर सेवा सञ्चालन गरे वाफत सहकारीले ५९ हजार ८४९ रुपैंया आम्दानी गरेको छ ।

सहकारी संस्थाले आयोजना गरेको १२औं वार्षिक साधारण सभामा प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका व्यवस्थापक बलायरले मनि ट्रान्सफर सेवा प्रभावकारी बनेको र यहाँका जनताहरुको आयस्रोतमा वृद्धि भएको बताए । “यहाँका स्थानीयहरु कामका लागि प्राय भारत जाने गर्छन,“बलायरले भने,“भारत तथा अन्य मुलुकमा रहेका स्थानीयहरुले उता कमाएको पैंसा आफ्नै गाउँको सहकारीले सञ्चालन गरेको मनि ट्रान्सफर सेवा मार्फत पठाउने गर्छन ।”

सहकारीले गाउँमा बैंक जस्तै छिटो र छरितो सेवा दिने गरेको केआइसिंह गाउँपालिका ७ का वडाध्यक्ष दिल बहादुर बलायरले बताए । “गाउँबाट बैंक पुग्न र काम गर्न पुरै एक दिन लाग्छ । नजिकमा बैंक छैन,“उहाँले भन्नु भयो,“बैंक जस्तै सेवा गाउँकै सहकारीले दिए पछि समय र पैंसा दुबैको बचत हुन्छ । यसलाई हामीले हाम्रो आफ्नै बैंकका रुपमा लिन्छौं ।”

अहिले सहकारी संस्थासँग एक करोड ८३ लाख ३३ हजार २५५ रुपैंया पँुजी रहेको छ । सहकारीका अध्यक्ष अर्जुन बलायरले सहकारीले हालसम्म सेवा मुलक भएर काम गरिरहेको बताए । शेयर सदस्य तथा स्थानीयहरुलाई सेवा दिनु र उहाँहरुलाई आर्थिक रुपमा बलियो बनाउँनु संस्थाको मुख्य उद्येश्य रहेकाले मुनाफा भन्दा पनि सेवा मुलक भएर काम गरिरहेको उनको भनाई छ ।

सहकारीको वार्षिक साधारण सभामा शेयर सदस्यहरुको उल्यख्य सहभागिता रहेको थियो । सहकारीले जिल्ला स्थित सबै पालिकाका जनप्रतिनिधिहरुलाई सभामा सहभागि गराएर सहकारीमा जोड दिन रचनात्मक सुझाब पनि दिएको छ । जिल्ला समन्वय समितिका संयोजक लक्ष्मण सिंहले नव बिहानी सहकारी जिल्लाको उत्कृष्ट नमुना सहकारी भएको बताए । उनले जिल्लाका अन्य पालिकाहरुले पनि यसको अनुसरण गरेर सहकारीमा लगानी गर्नु पर्नेमा जोड दिए ।

Related News

नृत्य निर्देशक रावल “प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार – २०८१” बाट पुरस्कृत
नृत्य निर्देशक रावल “प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार – २०८१” बाट पुरस्कृत
  • २०७९ माघ ८

दिपायल – वरिष्ठ नृत्य निर्देशक राम बहादुर रावल “प्रज्ञा प्रादेशिक...

TOP