भनिन्छ, काठमाडौँ सपनाको शहर हो, त्यसैले होला काठमाडौँमा ७७ जिल्लाका मानिसहरु विभिन्न सपना बोकेर आइपुग्छन्। ती धेरै जिल्लाहरुको भीडमा केही सपना बोकर सामेल हुन आइपुगिन्, कैलाली सुखडकी दीपा नेपाली।
करिब तीन वर्ष अघि उच्च शिक्षाका लागि दीपा काठमाडौँ आइन्। उच्च शिक्षाका लागि उनी त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्नातकोत्तरमा भर्ना भइन्। र, त्रिविकै छात्रावास बस्न थालिन्।
करिब तीन वर्ष उनले त्यहाँ बिताइन्। त्यसपछि उच्च शिक्षाका लागि उनका भाइबहिनी पनि आठमाडौँ आउने भए। सबै भाइबहिनी काठमाडौँ जस्तो शहरमा होस्टलमा बस्न सम्भव थिएन। त्यसैले उनले कोठामा बस्ने सोच बनाइन्। र, कोठाको खोजीमा लागिन्।
‘काठमाडौँ शहरमा कोठा पाउन त्यति सजिलो कहाँ छ र? कि त दलाललाई पैसा दिनु पर्यो या आफैँ गल्ली–गल्ली धाउनु पर्यो, ‘उनले भनिन्।
कोठा खोज्ने क्रममा उनी चाबहिलको कुटेगल्ली पुगिन्। उनले भनिन् , ‘म रुम खोज्न त्यहाँको एक गल्लीमा गएँ र बाटोमा एउटा बुढा बाले मलाई सोधे, नानी कता हिँडेकी, मैले भनेँ- रुम खोज्दै बुबा। उनले मेरोमा रुम छ भनेँ र लगेर गएँ, गेटनिर पुग्दा उनले मेरो थर सोधे, मैले जवाफ दिएँ- नेपाली र उनी झर्किए र भने- म बाहुनलाई मात्र कोठा दिने हो तल्लो जातलाई दिन्नँ।’
उनको त्यो जवाफले दीपा हैरान परिन्। जातकै कारण तीन महिनासम्म दीपाले कोठा नपाएको गुनासो गरिन्। सबै एउटै हुँदैनन् भन्ने सोचसहित कोठा खोज्ने सिलसिला जारी थियो उनको। त्यही क्रममा मंसिर १३ गते दीपा आफ्ना भाइबहिनीसँग तारकेश्वर नगरपालिका–१० श्रीकृष्ण विडारीको घरमा पुगिन्। उनी सरकारी कर्मचारी हुन्।
उनले त्यहाँ बस्ने पक्का भयो। ‘घरबेटीलाई ३–४ वर्षसम्म बस्ने मान्छे चाहिएको थियो र हामीलाई पनि लामो समयसम्म बस्नु थियो। र, बस्ने पक्का पनि भयो। बस्न पनि सुरु गर्यौँ। घरबेटीले हाम्रो नाम सोधेनन् र हामीले पनि भनेनाैँ,’ उनले भनिन्।
उनका अनुसार सो घरमा बसेको बेलुका घरबेटीकी छोरी शर्मिला विडारीले उनीसँग परिचय गरिन् र उनले आफ्नो पूरा नाम भनिन्। ‘मैले आफ्नो जात लुकाउँदिन’, उनले भनिन्, ‘मैले उनलाई खुलेर भनेँ आफ्नो नाम थर।’
छोरीका माध्यमबाट दलित समुदायको भएको थाहा पाएपछि कोठा खाली गर्न लगाएको दीपाले सुनाइन्। ‘तपाईँहरु दलित भएकाले अरु डेरावालालाई पनि असर गर्छ, तपाईँहरु आजै कोठा छाडेर जानुस्,’ विडारीले आफूलाई गरेको व्यवहार बारे दिपाले भनिन्।
उनले थपिन्, ‘घरबेटीले यसै वर्ष आफ्नो आमाको मृत्यु भएकाले दलितलाई घरमा राख्न नमिल्ने भने।’
घरधनीले उनलाई पटक–पटक कोठा छाड्न दबाब दिइरहे। कहिले श्रीमतीलाई पठाउँथे त कहिले टोलमा मान्छे ल्याएर धम्क्याउने गरेको उनले बताइन्। विडारीले घर मर्मत गर्ने बहानामा कोठा छाड्न ३५ दिने सूचना नै टाँस गरेको दीपाले बताइन्। ‘बसेको एक दुईदिनमा नै जात कै कारणले हामीलाई कोठा छोड्न बाध्य बनाइयो,’ उनले भनिन्।
उनले राष्ट्रिय मानवअधिकार आयोगमा आफूमाथि भएको जातीय विभेदको गुनासो राखिन्। दीपाले भनिन्, ‘आयोगबाट घरवेटीलाई फोन गएपछि हामी बस्न त पाउने भयौं, तर दिनदिनै भेदभाव र दुर्व्यवहार भोगिरहे।’
त्यसपछि घरधनीले उनीहरुलाई पानी दिनै छाडे। ‘हामीलाई ट्वाइलेटमा पानी दिन छोडियो’, उनले भनिन्, ‘हामीले सबै कामका लागि जारको प्रयोग गर्यौँ।’
पानी नआएको कुरा घरधनीलाई भन्न जाँदा विभिन्न कारणहरु देखाएको उनले बताइन्। पानीकै कुरा गर्न जाँदा सोही घरमा डेरागरी बस्ने जनक ढुंगाना र उनकी पत्नी सन्तोषले आफूहरुलाई दुर्व्यवहार गरेको उनले बताइन्। घरधनी यतिमा रोकिएनन्।
दीपा क्याम्पस भएका बेला फागुन ४ गते घरधनीकी श्रीमतीले कोठामा ताला लगाइदिए। त्यसपछि आफूहरु प्रहरीसमक्ष न्याय माग्न पुगेको दीपाले बताइन्। दीपाले घरधनी श्रीकृष्ण विडारी, उनकी पत्नी राधिका तथा विडारीकै घरमा डेरा गरी बस्ने जनक ढुंगाना र उनकी पत्नी सन्तोषीविरुद्ध जाहेरी दिइन्।
तर, उनले जाहेरी दिन तीन दिनसम्म धाउनु पर्यो। उनले भनिन्, ‘हामीले जाहेरी दिन जाँदा प्रहरीले गर्ने व्यवहार फरक थियो। हामीमाथि जातीय भेदभाव भयो र यो मान्छेमाथि जाहेरी दिन आएको भन्दा प्रहरीले हामीलाई रोकिरह्यो। शायद सरकारी पावर भएर होला’, उनले भनिन्, ‘मैले जाहेरी दिन आँखाबाट आँशु झार्नुपर्यो।’
जाहेरी दिए पनि विडारीलाई कुनै कारबाही नभएको उनको गुनासो छ। नेपाल प्रहरीसँग कोठा बहाल लिँदा जातीय विभेद भोग्नु परेका उजुरीको र कसैलाई कारबाही भएको कुनै तथ्याङ्क छैन।
पुष्पराज जोशी । अग्लो ज्यान, घोप्टे जुँगा, आँखामा चस्मा र...