थलारा – पालिकाभित्रका सडक विभिन्न कारणले अवरोध हुन थालेपछि थलारा गाउँपालिकाले सडक सफाइकर्मी राखेको छ । नियमित रुपमा सडक सफाइकर्मीहरू परिचालन गरेपछि यहाँका सडकमा बिनाकुनै अवरोध गाडी सञ्चालन हुन थालेका छन् ।
सफाइकर्मी परिचालन गरेपछि सडकमा जथाभावी बग्ने पानी, सानोतिनो पहिरोका कारण हुने अवरोध र खाल्डाखुल्डीका कारण यातायात सञ्चालन गर्न कठिनाइ हुने समस्या हटेको छ । नियमित सरसफाइपछि नियमित रुपमा जिप चल्न पनि समस्या हुने सडकहरूमा तीनपांग्रे अटो पनि सञ्चालन हुन थालेका छन् भने आवागमनमा सहजता भएको स्थानीयले बताएका छन् ।
थलारा गाउँपालिका ५ दुवालीका पदम राज जोशीले भने, ‘सडक सफा गर्ने मान्छे राखेदेखि खाल्डाखुल्डी छैनन् । नियमित गाडी चल्न थालेका छन् ।’ उनले सडक सफाईकर्मीले नियमित रुपमा खाल्डाखुल्डी पुर्ने, सडकमा छरिएका ढुङ्गाहरू हटाउने र सडकमा जथाभावी बग्ने पानीलाई व्यवस्थित गर्ने काम नियमित रुपमा हुन थालेपछि स्थानीयलाई सुविधा भएको बताए ।
थलारा गाउँपालिको वडा नं. १ देखि ९ सम्म १ सय ३६ किलोमिटर कच्चि सडक बनेको छ । सडकको अवस्था ठिक नभएका कारण सबैतिर गाडी नचल्ने र दुर्घटना हुने गरेको थियो । सडकको अवस्था ठिक नभएको कारण दुई–तीन वर्षको अवधिमा सात–आठ वटा दुर्घटना भएको र दुई जनाले ज्यान गुमाउनुपरेको थियो ।
पालिकाले सडक सफाइ गर्नका लागि प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअर्न्तगत २७ जना बेरोजगारलाई नियुक्ति गरेको हो । एक वडाबाट तीन जनाका दरले नियुक्त भएका सरसफाइकर्मीहरूले वार्षिक एक सय दिन बराबरको रोजगारी पाउने र दैनिक ६ सय ८० का दरले ज्याला पाउनेछन् ।
यसअघि गाउँमा रोजगारी नपाएर भारतको मजदुरी गर्दै आएका अधिकांशले गाउँमै काम पाएकोमा खुसी व्यक्त गरेका छन् । । आफ्नै घरमा बसेर नुनतेल चलाउन पाउँदा खुसी लागेको छ ।’ सरसफाइकर्मीहरू बताउछन् ।
नियमित सवारी सञ्चालन हुनमा सहजता भएको र गाउँको विकासमा सहभागी हुन पाउँदा आनन्द अनुभव गरेको बताउछन् । पालिकाले सडक सरसफाइकर्मीहरूलाई काम गर्नका लागि साबेल, बेल्चा गैति र हाते गाडाका साथै सुरक्षाका लागि हेल्मेट, बुट, जकेट र पन्जा पनि दिएको र त्यसले काम गर्न सजिलो भएको सरसफाइकर्मीहरूको भनाइ छ ।
सडक सफाइकर्मी परिचालन गरेपछि गाउँपालिकाको खर्च समेत घटेको पालिका उपाध्यक्ष रामबहादुर खातीले बताए । ‘पहिला हामीले साता–दस दिनमा डोजर लगाएर बाटो सफा गर्नुपर्थ्यो । डोजर नभएको बेला सडक नै अवरुद्ध हुन्थ्यो,’ उनले भने, ‘डोजर भाडामा लिएर सफा गर्दा घण्टाकै आठ दस हजार खर्च हुन्थ्यो । अहिले पालिकाको रकम पनि बचेको छ । जनताले रोजगारी पनि पाएका छन् ।
नियमित सडक सञ्चालन हुन थाले पनि स्थानीयलाई आवतजावतमा मात्रै सहज नभई स्थानीय उत्पादनलाई बजारसम्म पु¥याउन पनि सजिलो भएको गाउँपालिका अध्यक्ष प्रकाश रोकायाले बताए । थलारा गाउँपालिकाबाट आलु, स्याउ, दाँतेओखर, घिउ, मह, हंसराज बास्मती धान, चामललगायत ठूलो मात्रामा मौसमी तथा बेमौसमी तरकारी जिल्लाभित्र तथा बाहिरका बजारमा बिक्री हुने गरेको छ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय भेला...