२०८१ चैत्र ७, बिहीबार
March 20, 2025, Thursday

शैक्षिक सुधारका लागि “शिखर शिक्षक सम्मेलन”

दिपायल- शिखर नगरपालिकाले शैक्षिक सुधार योजना अन्तरगत “शिखर शिक्षक सम्मेलन २०८१”को आयोजना गरेको छ । नगरपालिका अन्तरगतका सामुदायिक तथा नीजि विद्यालयका प्रधानाध्यापक, शिक्षक, बालबिकास शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं जनप्रतिनिधिहरुको सहभागितामा भेला गरिएको हो ।

सम्मेलनमा ६४ वटा सामुदायीक विद्यालय र ११ वटा नीजि विद्यालयका गरी तीन सय ५७ जना शिक्षक तथा बालबिकास शिक्षकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा जनप्रतिनिधि लगायतका अन्य ६० जनाको सहभागिता रहेको थियो ।

सम्मेलनमा सहभागि शिक्षक तथा जनप्रतिनिधिहरुले शिखर नगरपालिको शैक्षिक गुणस्तर सुधार गर्न आ–आफ्नो ठाउँबाट प्रतिवद्ध भएर लाग्ने प्रतिवद्धता जाहेर गरेका थिए । “सेवा, समर्पण र सम्भावना ः जागृत शिक्षक शिखरको चाहना“ भन्ने मुल नाराका साथ शिखर नगरपालिकाको आयोजना तथा शिखर लर्न एण्ड शेयर ग्रुपको सह–आयोजनामा सम्मेलनको आयोजना गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण बहादुर सिंहले सम्मेलनले शिखर नगरपालिकाको शैक्षिक गुणस्तर सुधार हुनेमा विस्वास व्यक्त गरे । “सकारात्मक सोचका साथ कामको थालियो गरियो भने अवश्य सफल भइन्छ, “उनले भने,“हामीले हृदय खोलेर, सकारात्मक सोचका साथ शिखर सरकारको शैक्षिक सुधार गर्ने योजनालाई साथ दिन जरुरी छ । शिक्षक, अभिभावक, तथा राजनीति गर्ने व्यक्तिहरुले हातेमालो गरेर शिक्षैक सुधारमा जुट्न सकेउ भने ठुलो उपलब्धि हुन्छ ।”

प्रमुख अतिथि सिंहले सम्मेलमा सहभागि भएर मात्रै शैक्षिक सुधार नहुने बताउँदै आजैबाट निरन्तर रुपमा सम्मेलनको औचित्य, उद्येश्य र लक्ष परिपूर्तीका लागि भित्रैबाट इच्छाशक्ति बनाएर काम गर्नुपर्ने बताए । उनले शिखर सरकारले शिक्षामा गरिरहेको उत्कृष्ठ कामको अन्य पालिकाले पनि अनुसरण गर्न जरुरी रहेको बताए ।

नगर प्रमुख दीर्घ बहादुर बलायरले मानव जिवनको महत्वपूर्ण पाटो शिक्षा भएको बताउँदै नगर सरकारले शिक्षालाई विशेष प्राथमिकतामा राखेको बताए । शिक्षक सम्मेलनले कार्यक्रममा सहभागि सम्पूर्णलाई शैक्षिक सुधारका लागि जिम्मेवार बनाउन विश्वास व्यक्त गरे ।

“शिखर सरकारले आगामी तीन वर्ष विशेष जोड दिने छ,“नगर प्रमुख बलायरले भने,“जनताका थुप्रै समस्याहरु छन् । धेरै क्षेत्रमा काम गर्नुपर्ने अवस्था छ । बजेट सिमित छ । स्याना तिना टुक्रे योजनाहरुले नगरको विकास हुदैन भन्ने हाम्रो बुझाई छ । तसर्थ, हामीले शिक्षालाई अवका दिनमा विशेष प्राथमिकतामा राख्नेछौं ।”

शिखरको शैक्षिक गुणस्तर सुधार गर्ने विषयमा शिखर सरकार गम्भिर रहेको बताउँदै नगर प्रमुख बलायरले शैक्षिक सुधारका लागि मिसन बनाएर अघि बढेको बताए । “नगरको भविश्य, नगरको सुनौलो सम्भाव्यता बालबालिकाको शिक्षासँग जोडिएको छ,“उनले भने,“यहाँका बालबालिकाले राम्रो शिक्षा प्राप्त गर्नसके भने शिखरको विकास आफै हुने छ ।” उनले २०८१ लाई शैक्षिक सुधार वर्षकारुपमा घोषणा समेत गरे ।

शैक्षिक सुधारमा साथ दिने शिक्षकहरुलाई विशेष प्रोत्साहन र सम्मान गरिने नगर उप–प्रमुख सुनिता रावल जोराले बताइन् । “हामीले शैक्षिक सुधार गर्न नगरमा सुवातदेखि विभिन्न कार्यक्रमहरु गर्दै आएका छौं, त्यसै अन्तरगतको एक कार्यक्तम हो यो,“उनले भनिन्,“हामीले ठुलो जोखिम मोलेर विद्यालय समायोजनको काम पनि अगाडी बढाएका छौं । तत्काल राजनीतिक आधारमा हामीलाई जोखिम छ भन्ने थाह हुँदाहुँदै पनि हामीले जोखिम उठाएका छौं । विश्वास छ भोलीका दिनहरुमा शैक्षिक सुधार भयो भने अवश्य जस पाउने छौं । दीर्घकालिन सोचका साथ गरिएको यो काममा साथ दिनका लागि सम्पूर्ण शिक्षक, कर्मचारी तथा नगरबासीमा अपिल गर्दछु ।

शिक्षक कर्मचारीहरुलाई जागृत गराउँदै शिखर नगरपालिकाको शैक्षिक गुणस्तर सुधार गर्ने कार्यक्रमको प्रमुख उद्येश्य रेहको शिक्षा शाखा प्रमुख शेर बहादुर कार्कीले बताए । शिक्षकले चाहनु भयो भने मात्रै शैक्षिक गुणस्तर दिन सकिन्छ भन्ने मान्यताका साथ आयोजना गरिएको सम्मेलले दीर्घकालिन प्रभाव पार्ने उनले बताए ।

सम्मेलनसँगै विद्यालय शिक्षक तथा कर्मचारीहरुलाई प्रशिक्षण पनि दिइएको थियो । मोटिभेटर प्रतिम पौडेलले प्रशिक्षण दिएको उक्त कार्यक्रमको सहजिकरण तथा सञ्चालन शिखर लर्न एण्ड शेयर ग्रुपका अध्यक्ष शेर बहादुर कठायतले गरेका थिए ।

Related News

सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
  • २०८१ जेष्ठ १९

दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...

TOP