२०७७ मंसिर १६, मंगलवार
December 1, 2020, Tuesday

ऐले समाजमा व्यथिति मात्रै छ

डोटी- तिहारको दिन बिहानैदेखि चहलपहल थियो गोपघाट बजारमा। लगाइसकेर दिदीबहिनीका हातको टीका खनापिना खाई जम्मा हुन थालेका थिए डोटी, शिखरनगरपालिका ११ अन्तर्गत पर्ने बारबाटा गाउँका बासिन्दाहरु। सुनिन थालिएको थियो ट्याम्के र दमाहाको आवाज। 

गाउँको बीचमा अवस्थित गुटे खलो ( देउ खलो, देउताको खलो (आँगन ))को बीच भागमा थोरै अग्लो बनाइएको स्थानमा दुई भाग लगाएर राखिएको थियो पराल। जहाँ एकातिर दुईटा नाङ्गा तलवार राखिएका थिए भने अर्को पट्टी पराल मात्रै थियो। त्यो भनेको धामीको आशन हो। दमाहाको तालमा हातमा तलबार लिएर आँगनमा नाचिसकेपछि मूख्य धामी आएर बस्छ उक्त ढुङ्गामा र गाउँलेहरुलाई सम्बोधन गरेर केही कुरा भन्छ। 

नाङ्गा तलवारहरु घाममा टलक्क टल्किन्थे। लाटा देउताका धामीले तलवारले सरनी खेल्ले बेला घाटीबाट खरानी उड्थ्यो। राम हेद्द (रमाइलो हेर्न ) दश गाउँका मान्छे जम्मा हुन्थे। खुट्टो राख्दे ठाउँ हुँनैनथ्यो। वारिपारिका मान्छेहरु देखन्थे चैलो नाच्दा तलवार टल्केको। घरघरबाट निस्किन्थे खुकुरी र तलवारहरु। 

साना केटाकेटीले समेत काठका तलवार बनाई रंग लगाएर तयार गरेका हुन्थे नचाउनलाई। पछिल्ला दिनमी बिस्तारै हराउँदै जान्नाछन् पुराना कुरा। अइल त एकछिन रित जगाउनाका लागि एक जोर पुराना देउताका तलवार ल्याउछन रे एकछिन धामीलाई उद्घाटन गर्न दिएर थन्क्याइ हाल्छन् –विगतका दिनहरु सम्झिदै सुनाका हुन् स्थानीय पुष्पराज ओझाले। 

यसरी थन्क्याउनुको पछाडी मुख्य कारण हतियार समातेर नाच्न थाल्दा कसैलाई चोट नलागोस् भन्ने पनि हो। तलवार नचाउने कला भएकाहरुको पनि कमी हुँदै गइरहेको छ पछिल्लो समयमा। बिहानैदेखि घटघट पारिदिन्छन् सक्सीका क्वाटर। 

अचेल गाउँघरतिर रक्सी नखाइकन सुरु हुँदैन कुनै पनि कार्य। त्यसैले त सोही गाउँ निवासी ७८ वर्षीया भीम रोकाया सुनाउछन्–‘उहिले पैसाको महत्त्व धेरै थियो अहिले महत्व नै नभए जस्तो छ। उहिले थिति थियो। ऐले समाजमा व्यथिति मात्रै छ। सत् हराएर जान थाल्यो। धामीले आफ्नो जीउमा लगाएको गजीको भोटो तलवारको चुच्चोले ध्यार्र च्यातिदिन्थे। छातीमा तलवारको टुप्पोले घोच्दा खलखल्ति रगत बग्थ्यो। क्षणभरमै धामी स्वयमले आफूले गरेर फोएपछि जस्ताको त्यस्तै भैसक्थ्यो। 

जादु गरेजस्तो अचम्मको शक्ति थियो पुराना दिनमी। पुराना दमाइहरुको त्यो बजाउने कला , आहा कसेरी बजाउन्थे। सबै सकिनोइ गयो हजुर।’ उनका अनुसार रोकायाहरुकोे पुर्खा बझाङबाट जुम्लाको बिड भन्ने ठाउँमा गएर बस्यो। त्यहाँबाट डोटीको पिड भन्ने ठाउँमा आई बस्ती बसायो। त्यहाँबाट पनि केही परिवार यो ठाउँ(सेतीको किनारमा)मा आई बसेका हुन्। तेडी तिनका कुलदेवता हुन्। जसलाई यतै स्थापना गररे पुज्दै आए पुर्खाहरु। 

भेटघाट गर्न र सबैजना साथै बसी मिठो मसिनो परिकार बनाई खान र फुर्सदको समयमा मनोरञ्जन गर्न समेत तय गरिएका हुनु पर्छ हाम्रा चाडपर्वहरु। यतिखेर फुर्सदमा देखिन्छन् सबै जना। बालीनाली भित्र्याउनुदेखि गहुँ,जौ, उवा जस्ता अन्न बाली छर्दा दुःखकष्ट  भोगेको ज्यानले बिभिन्न परिकार बनाई खाने र दिदी बैनी माइतघरमा आई आनन्दले दुईचार दिन बिताउने पर्व हो तिहार। जात्राहरुको सुरुवातीको पर्व पनि हो तिहार। 

यातायातको सुबिधाको कारण अहिले एकाद होलान् दिदी बैनीको घरमा गएर टीका लगाउनेहरु। नत्र भने दिदी बहिनीहरु नै दाजुभाइकोमा टीका लगाउन पुग्ने चलन छ सदियौंदेखिको। एक किसिमको मान्यता नै भइसकेको छ तिहारमा दाजु भाइलाई टीका लगाउन माइत घरमै पुग्ने। छोराको आशमा धेरै जना छोरी जन्मिदै जाने समाज। छोरी बैनीहरु टाढाटाढा हुन्थे। अहिलेको जस्तो यातायातको साधन थिएन। 

एकै दिनमा सबै जना दिदीबैनीको घरमा पुग्न सम्भव नभए पछि सुरु भएको हुनु पर्छ दिदीबैनीले माइतमा जाने चलन। वल्लो घर पल्लोघर आलोपालो आमा, काकी, भाउजुहरुले पकाएको मिठो मसिनो खाने कुरा  खानु तिहारको विशेषता हो। विगतमा तिहारकै लागि भनेर साचेर राखेका केरा पाक्थे गाउँघर तिर। 

सबै जना तिहारमा माइतघर जादा भाइ नै नहुने माइति नै नरहेका दिदीबैनीहरुका लागि र आफ्ना दिदी बहिनी न हुने दाजु भाइका लागि यो चाड अभिशाप नै ठानिन्थ्यो। त्यही भएर एउटा भनाइ नै सुनिन थाल्यो गाउँघरतिर बिन्न भयलुकी बैनोला मरिजाउन्, बिन्न बैनोलाका भयालु मरिजाउन् अर्थात् दाजुभाइ नै नभएका दिदी बहिनीहरु नबाँचुन्। दिदी बहिनी नभएका दाजुभाइ नबाँचुन्। यो भनाइले दाजु भाइ दिदी बहिनी बीचको सम्बन्धको महत्व दर्साउनुका साथै छोरालाई बढी महत्त्व दिने सुदूरपश्चिमको समाजमा छोरा छोरी दुबैको उत्तिक्कै महत्व रहेको कुरा समेत मनन् गर्न लगाएको छ। 

सुदूरपश्चिममा तिहारलाई दुत्ते भनिन्थ्यो। बोलीचालीको क्रममा  दितीया तिथीलाई दुत्ते भनिन्छ। सोही दुत्ते तिथिमा मनाइने भाइटीकालाई पनि दुत्ते नै भनेर भनिने गरियो। र त दुत्ते भनिन थालियो। कोसेली (घ्यू तेलमा पकाइने पक्वान) बढी पकाइने चाड पनि हो तिहार। तिहारका पाँचै दिन कोसेली पकाउने चलन त छदै छ। 

माइतमा आएकी छोरी बैनीहरुलाई घर पठाउदा समेत् सेल (बाबर), पुरी, मालपुवा, माडा, निसोसे ( बख्खो/भुनेरोटी)जस्ता परिकार पकाई भारी बनाएर पठाउने चलन छ। त्यही भएर पनि विगतमा पिठो, चालम, घिउ, तेल, दाउरा सबैको बन्दोवस्त पहिल्यै मिलाइएको हुन्थ्यो घरमा। 

भैलोको महत्त्व बढी नै हुन्थ्यो सुरुका दिनमा। अहिलेको जस्तो थिएन बिजुलु बत्ती र टर्च लाइट पनि। तिहार सुरु हुन केही दिन अगाडी नै लेकतिर झरो (दियालो) लिन जाने चलन थियो। भैलो खेल्नका साथै अँगेनामा आगो सल्काउने देखि राती गोठमा गाईभैसी दुहिन र धाँसपात लग्न समेत प्रयोगमा ल्याइन्थ्यो सल्लाको रुखबाट निकालिने उक्त दियालो। केटाकेटी र युवाहरुको भैलो राती दश एघार बजेतिर सकिन्थ्यो। अधवैसे र बुढापाकाहरुको भैलो सुरु हुन्थ्यो राती ११/१२ बजेबाट। 

जसलाई बुढो भैलो भनिन्थ्यो। उमेर छिप्पिएका परिपक्वहरुले खेल्ने भएका कारण बुढो भैलो भनियो। हिँड्न नसक्ने अशक्त बृद्धहरु मात्रै बस्थे घरमा। अन्यथा प्रायजसो तीसदेखि साठी, सत्तरी,असी वर्षका समेत हुन्थे बुढो भैलोमा सरिक। आँगनमा लय मिलाएर एक सुरमा बाजाको तालमा गाउँदै पैतलीको चाल मिलाएर नाच्दै खुब रमाइलो गर्थे। चाल पायो भने बुढो भैलो हेर्न घरमा सुतिसकेका केटाकेटी र महिलाहरु पनि निस्किन्थे बाहिर। 

गाउँघर नजिकको बजार वा नजिकका पसलहरुतिर रातभर जुवा चल्थे जुवाडेहरुका। पासा, कौडा खेल्ने चलन बढी हुन्थ्यो। दियालो सल्काएर,टुकी, लाल्टिन बागेर र त्यसपछिका दिनमा पेट्रोमेक्स जलाएर खेल्ने गर्थे रातमा जुवा। 

दिदी, बहीनी, फुपूहरुको बाटो हेर्थे तिहारको बिहानसम्म। टाढैबाट गोरेटोमा लम्किरहेका पाइला देख्दा अनुमान लगाउँथे –कसका पाइला हुन् भनेर। लाहुरेका टेप घन्केको सुनिन्थ्यो चारैतिर।  काग तिहारमा कागको गाई तिहारमा गाइको र गोरु तिहारमा गोरुको पूजा गरी खाने कुरा दिनुका साथै गाई र गोरुको जीउमा छाप लगाउने समेत गरिन्छ। रंग र पानीमा घोलिएको पिठोको भाँडोमा सानो कटौरा वा गिलासको मुख चोप्दै गाई गोरुको जीउमा छाप लगाउँदै गर्छन्। गाईको घाटीमा फूलको माला लगाइन्छ भने। 

गोरु तिहारका दिन गोरुको निधारमा सिङमा बाँधेर फुर्का लगाइन्छ। भाइ टीकामा पनि फूलको मालाको साथसाथै धानको लय र दुई तीन दिनसम्म भिजाएर राखिएका जौं लाई रंगाई उनेर माला बनाउने चलन पनि थियो। दिदी बहिनी नहुने दाजु भाइले निधार रित्तो राख्नु हुँन्न भन्ने मान्यता अनुसार तुलसीको डाठले आफै आफ्नो निधारमा टीका लगाउने प्रचनल पनि थियो विगतमा। 

पछिल्लो समयमा सामाजिक सञ्जालमा देखेर वा प्रत्यक्ष अरु कहाँ देखेर सप्तरङ्गी टीकाको अनुकरण गरिदै आएको सुदूरपश्चिममा विगतमा रातो रंग र राता अक्षता नै लगाउने चलन थियो। रंगकै कुरा गर्दा पण्डित शिवराज ओझा सुनाउछन् – ‘सुरुका दिनमा रक्तचन्दन र श्रीखण्ड घोटेर लगाउने चलन थियो। विधवाहरुले श्रीखण्ड लगाउँथे भने अरुले रक्त चन्दन। त्यस्तै ठाउँ अनुसार अन्य वनस्पतिहरुबाट पनि बनाउँथे होलान रंगहरु। त्यसपछिका दिनमा सुरु भयो चन्दन र पिठायको चलन। करिव दुई वर्ष पुरानो बेसार कोरेर पखाली टुक्रा पारी सुकाएर कुटिन्थ्यो ओखलमा। तत्पश्चात् सिलौटामा अमिलोको रस र स्वाग मिसाएर मसिनो गरी पिसान्थ्यो। अनि घाममा सुकाएर राखिन्थ्यो।’ 

हटेरुले स्वाग ल्याउँथे टनकपुर, ब्रह्मदेव पुगेर। तीर्थ जानेहरु ल्याउँथे चन्दन। तिनै सामग्रीहरु टीका बनाउन र टीकाको रुपमा प्रयोगमा ल्याउने गरिन्थे। कृषि पेशा अँगालेर बसेका त्यतिखेरका मनिसले तिहारमा पूजा गर्न सुरु गरे काग, कुकुर,गाई, गोरुको। काग रैवार ल्याउँनेमा चिनिन्छ  । पुराणमा अल्लेख भए अनुसार कागलाई यमराजको दूत मानिन्छ। संस्कृतिविद् डा. जगमान गुरुङका अनुसार काग घुमन्ते युगको प्रतीक पनि हो। त्यही घुमन्ते युगको प्रतीक स्वरुप पहिलो दिन काग तिहार मनाउने गरिन्छ। आँगनमा काग कराउँदा शुभ बोल कौवा शुभ बोल भन्ने गरिन्थ्यो।

कुकुर शिकार खेल्न र पहरादिने दुबै कार्यमा सघाउने जनावर अन्तर्गत पर्दछ। जो भैरवको बाहनका रुपमा पनि चिनिन्छ। हिन्दूधर्ममा गाईको महत्व छुट्टै छ। गोरु जोतेर कृषि कार्य सञ्चालन गरिन्थ्यो। बालीनाली उब्जाउन प्रमुख भूमिका निभाएको छ गोरुले। यसरी समाजमा अरुको तुलनामा यिनीहरुको बढी महत्त्व महशुस गरेरै तिहारमा पूजा गरिन थालिएको हुनु पर्छ।

भाइटीकाको सन्दर्भमा कुरा गर्दा सुदूरपश्चिममा एउटा मिथ सुनिन्छ जुन अन्यत्र सुनिने मिथसँग अलिकति मिल्दोजुल्दो पनि छ: बिहान झिसमिसेमै जब यमराज कुनै आयु समाप्त भएको मानिसलाई लिन उसको आँगनमा पुग्छन्। भित्र दिदीले भाइटीका गर्दै आशिष दिइरहेको सुन्छन्। दिदीले दिएको त्यो आशिष सुनेपछि ती व्यक्तिलाई नलिइकनै यमराज फर्केर जान्छन् र भाइको ज्यान बच्छ। त्यो आशिषका केही पंक्तिहरु यस प्रकार छन् :
फूल जसो फुलिरहेइ। 
समुद्र पानी छन्ज्या(छन्जेल) जी जागिरएइ (बाँचि रहनू)। 
दुवा जसो फैलिइरएइ(फैलिरहनू)। 
मटिकन्ना (घरपोत्न प्रयोग गरिने माटोको खानी ) माटी छन्ज्या जीजागिरएइ।
 धर्ती सरी चौडा भएइ। 
बाघ जति बलियो भएइ। 
स्याल जसो चतुर भएइ। 
चुमजुक(चारै युगमा) नाउ राखेइ(कमाएइ)। 
लाख वर्ष जीजागिरएइ। 
ऐलकी दुत्ते ख्वाउँचुठाउँ। 
अउना वर्षखि निम्तो पठाउँ। 

यस प्रकारको आशिष दिन्छिन् दिदीबैनीहरु अहिले पनि। प्राय जसो साइतको मतलब गरिदैन थियो तिहारमा टीका लगाउन। तिहारको टीका भनेकै राम्ररी उज्यालो नहुँदै लगाइसक्नु पर्छ भन्ने पनि थियो कही कतै। बिहान घाम नझुल्किदै टल्किसकेका हुन्थे कतिपयका घाटीमा माला र निधारमा रातो टीका अनि अक्षता। 

कोजाग्रत पूर्णिमाका दिनमा सुरु गरिएको आकाश बत्ती औंसीसम्म जलाइन्थ्यो। आँगनमा लामो बाँस गाडेर टुप्पोमा सेतो कागजले बेरेर सानो डिब्बा जस्तो झुण्ड्याइन्थ्यो जसभित्र पालामा बत्ती राखिन्थ्यो। रातभरी दिनभरि जलिरहन्थ्यो बत्ती। बत्तीमा तेल थप्न डोरीको सहायताले तल झारिन्थ्यो उक्त डिब्बालाई। 

पहाड खानु पूजी माल खानु जुझी ( पहाड आस्थाका प्रतिकहरुको पूजाआजा गरेर जिविकोपार्जन गर्नू। मधेश अर्थात् तराइमा शक्तिशालि भएर अरुसँग जुझ्न सक्ने भएर बस्नू। तब मात्रै गुजरा चलाउन सकिन्छ )। अचेल निकै कम मात्रामा सुनिन्छन् यस्ता खाले भनाइ पनि। भीम रोकाया र पुष्पराज ओझा जस्तै थुप्रै मान्छेहरु चिन्तित छन् लोप हुँदै गइरहेको संस्कृतिप्रति। 

नयाँ पुस्तालाई चासो छैन आफ्नो चालचलन रितिरिवाज, मूल्यमान्यताप्रति। ऐय्याशीमै मस्त छ नयाँ पुस्ता। पूर्णरुपेण सिद्धिए पछि हाम्रा संस्कृतिका पाटाहरु फर्किने छैनन् कहिल्यै पनि। पछुतो लागिरहने छ मान्छेलाई। सुदूरपश्चिमका हरेक गाउँको पीडा यस्तै छ। र त झन बढी सम्झिरहेका छन् बद्धबृद्धाहरुले विगतका ती दिन। 

Related News

सचिवालय बैठकको औचित्य छैन : प्रधानमन्त्री ओली
सचिवालय बैठकको औचित्य छैन : प्रधानमन्त्री ओली
  • २०७७ मंसिर २

काठमाडौं- आन्तरिक विवादमा रुमल्लिएको नेकपा सचिवालयको बैठकमा दुई अध्यक्षबीचको तिक्तता बढ्दो छ। मंगलबारको सचिवालय बैठक पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने तय भए...

केआईसिंह गाउँपालिकामा राष्ट्रिय जनमोर्चाको संगठन विस्तार : संयोजकमा भट्टराई
केआईसिंह गाउँपालिकामा राष्ट्रिय जनमोर्चाको संगठन विस्तार : संयोजकमा भट्टराई
  • २०७७ मंसिर २

प्रदेश सरकार शरिरमा भएको गलगाँड डोटी- राष्ट्रिय जनमोर्चाले केआईसिंह गाउँपालिकामा संगठन विस्तार गरेको छ । मंगलबार आयोजना गरिएको गाउँपालिका स्तरीय...

एमालेबाट निर्वाचित डडेल्धुराका  वडाध्यक्षले राजीनामा दिए
एमालेबाट निर्वाचित डडेल्धुराका वडाध्यक्षले राजीनामा दिए
  • २०७७ मंसिर २

सहकर्मीले असहयोग गरेको भन्दै डडेल्धुराका एक निर्वाचित वडाध्यक्षले राजीनामा दिएका छन् । तत्कालीन नेकपा एमालेबाट निर्वाचित भएका आलिताल गाउँपालिका–१ का...

TOP