२०७७ माघ ४, आईतवार
January 17, 2021, Sunday

दसैं टीकाको उत्तमसाइत बिहान १०ः१९ बजे

काठमाडौं, असोज १५ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले वि.सं. २०७७ को विजयादशमीलगायत दसैंका विभिन्न साइत सार्वजनिक गरेको छ ।

वि.सं. २०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको महान् चाड बडादसैं सुरु हुँदैछ ।

दुर्गा पक्षसमेत भनिने दसैंको पहिलो दिन वैदिक सनातन धर्मावलम्बीले घरघरमा दियो, कलश र गणेश स्थापना गरी विशेष पूजासहित घटस्थापना गर्छन् ।

घटस्थापनाको साइत कात्तिक १ गते शनिबार बिहान ११ः४६ बजे शुभ रहेको समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।

यस वर्ष घटस्थापनाका दिन चित्रा नक्षत्र परेकाले दोष नाश गर्ने अभिजित् मुहूर्त दिनुपर्दा ११ः४६ बजेको साइत निस्किएको समितिले जनाएको छ ।

नवरात्र सुरु हुने घटस्थापनाको साइतका लागि लग्न र बेला पनि उपयुक्त दिइएको जनाइएको छ ।

घटस्थापना गरिएको कलशको मुखमा नवदुर्गालाई आह्वान गरी नौ रात १० दिनसम्म विधिपूर्वक पूजा आराधना एवं दुर्गा सप्तशती चण्डी, देवीभागवत्, देवी स्तोत्रलगायत देवीको महिमागान गाइएका श्लोकवाचन एवं पाठ गरिन्छ ।

देशभरका शक्तिपीठमा घटस्थापनाकै दिनदेखि विशेषरूपमा भक्तजनको भीड लाग्ने भएपनि यस वर्ष कोरोनाभाइरसको संक्रमण बढ्दै गएकाले भौतिक दूरी कायम गरी दर्शन गर्नुपर्ने अवस्था छ ।

हाल गुह्येश्वरीलगायत राजधानीका मुख्य शक्तिपीठमा भक्तजनलाई दर्शन गर्न दिइएको छैन ।

कात्तिक २ गते आइतबार बिहान १०ः५३ बजे पश्चिम फर्केर झन्डा फेर्ने साइत दिइएको छ । विशेषगरी नेपाली सेनाले झन्डा फेर्ने गरेको जनाइएको छ ।

कात्तिक ५ गते बुधबार पचली भैरवयात्राको साइत जुरेको छ ।

कात्तिक ७ गते शुक्रबार फूलपाती छ । फूलपाती भित्र्याउन साइत आवश्यक पर्दैन । विशेषगरी बेलुकी नवदुर्गा स्थापना गरी घटस्थापना गरिएको पूजाकोठा अथवा दसैंघरमा फूलपाती भित्र्याइन्छ ।

कात्तिक ७ गते शुक्रबार फूलपातीकै दिन बिहान ८ः५६ बजे तुलजा भवानीको यात्रा चलाउने साइत छ । यात्रा सकेर बिहान १०ः१४ बजे तुलजा भवानीलाई स्थिर आसनमा राख्ने साइत निस्किएको समितिले जनाएको छ ।

कात्तिक ८ गते शनिबार महाअष्टमी पर्व मनाइन्छ । यसदिन बलि दिनेले बलिसहित देवीको पूजा आराधना गर्छन् । बेलुकी कालरात्रि मनाइन्छ ।

कात्तिक ९ गते आइतबार महानवमी पर्व पनि शक्तिपीठमा पूजा आराधना गरी मनाइन्छ । यस दिन वसन्तपुरको कोतमा राज्यका तर्फबाट बलिसहित पूजा आराधना हुन्छ ।

दसैंको मुख्य दिन कात्तिक १० गते सोमबार विजयादशमी पर्व परेको छ । यसदिन बिहान नौ रात १० दिन पूजा गरिएको स्थलमा देवी विसर्जनका लागि बिहान १०ः११ बजेको साइत शुभ रहेको समितिका अध्यक्ष गौतमले सुनाउनुभयो ।

विजयादशमीमा साइत नै खोजेर टीका लगाउनेका लागि भने बिहान १०ः१९ बजेको साइत उत्तम छ ।

‘आर्यावर्त क्षेत्रका राज्य सञ्चालकले अनिवार्यरूपमा शुभसाइतमा देवीको प्रसाद लगाउनुपर्ने शास्त्रीय वचन छ । आर्यावर्त क्षेत्रमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, भुटान, बर्मालगायत देश पर्छन् । यी देशका शासकले देवीको आशीर्वाद लिएर राज्य सञ्चालन गरे शान्ति र सुशासन दिनसक्ने शास्त्रीय मान्यता छ’-उहाँले भन्नुभयो ।

विजयादशमीका दिन घटस्थापना गरिएको घडाको जलले अभिषेक गरी मान्यजनबाट जमरासहित देवीको प्रसाद लगाइन्छ ।

सामान्य मानिसले भने विजयादशमीका दिन दिनभर टीका ग्रहण गर्न कुनै बाधा नरहेको समितिको निर्णय छ ।

देशका धेरै स्थानमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीकासहित आशीर्वाद लिइने परम्परा छ ।

टीकाकै दिन बिहान ८ः४७ बजे तुलजा भवानीको यात्रा गराउने साइत जुरेको छ । तुलजा भवानीलाई स्थिर आसनमा राख्ने साइत भने बिहान ९ः४९ बजेको छ । खड्गयात्रासमेत यसैदिन गरिन्छ ।

कात्तिक १४ गते शुक्रबार विधिपूर्वक गरिने सबै बलि पूर्तिको कर्म गर्नुपर्छ । कोजाग्रत पूर्णिमा पनि कात्तिक १४ गते शुक्रबारकै दिन परेको छ । त्यसदिन रातभर जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको विशेष पूजा आराधना गरिन्छ । महालक्ष्मीको विशेष आराधना गर्ने भक्तजनले कोजाग्रत पूर्णिमाको व्रत बस्ने गर्छन् ।

चान्द्रमासअनुसार प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन मनाइने दुर्गा पक्ष अर्थात् बडादसैं पर्व यस वर्ष अधिकमास अर्थात् मलमासका कारण कात्तिक १ गतेदेखि सुरु हुँदैछ । मलमासका कारण यस वर्षका अब आउने सबै चाडपर्व केही ढिला हुन्छ ।

Related News

जनआन्दोलनको लागि समेत तयार हुन जनतालाई पूर्वमन्त्री बलायरको आग्रह
जनआन्दोलनको लागि समेत तयार हुन जनतालाई पूर्वमन्त्री बलायरको आग्रह
  • २०७७ आश्विन १५

डोटी – अहिले नेपाली कांग्रेस आन्दोलनमा होमिरहेको बताउँदै आवश्यक परे जनआन्दोलन गर्न समेत पछि नहट्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं...

कम्युनिष्ट नेतृत्वको सरकारले जन अधिकार माथि हमला ग-यो : क्षेत्रीय सभापति जोशी
कम्युनिष्ट नेतृत्वको सरकारले जन अधिकार माथि हमला ग-यो : क्षेत्रीय सभापति जोशी
  • २०७७ आश्विन १५

सरिता कठायत, डोटी – नेपाली कांग्रेस डोटी प्रदेश सभा ‘ख’ का क्षेत्रीय सभापति तथा शिखर नगरपालिकाका नगर प्रमुख सिताराम जोशीले...

कम्युनिष्टहरूले खलनायकको चरित्र देखाए : कांग्रेस सचिव जोशी
कम्युनिष्टहरूले खलनायकको चरित्र देखाए : कांग्रेस सचिव जोशी
  • २०७७ आश्विन १५

कांग्रेसको जगमा टेकेर कम्युनिष्टहरूले खलनायकको चरित्र देखाए : कांग्रेस सचिव जोशी डोटी – नेपाली कांग्रेस डोटीका सचिव नारायण जोशीले कम्युनिष्टहरूले...

TOP