२०८१ चैत्र ७, बिहीबार
March 20, 2025, Thursday

स्कन्द पुराण मानस खण्डमा वर्णित धार्मिक स्थल गहनानमा महायज्ञ लगाइने

दिपायल- डोटीमा रहेको धार्मिक स्थल गहनानमा महायज्ञ लगाउने तयारी भएको छ । गहनान क्षेत्र विकास समितिले बैशाखमा महायज्ञको आयोजना गर्ने तयारी गरेको हो ।

महायज्ञको आयाजना गर्न ललित बलायरको संयोजकत्वमा मुल आयोजक समिति गठन गरिएको छ । डोटीको शिखर नगरपालिका– १० मा अवस्थित उक्त धार्मीक क्षेत्रमा वैशाखमा महायज्ञको आयोजना गर्ने तयारी रहेको मुल आयोजक समिति संयोजक बलायरले बताए । महायज्ञको तिथिमितिका बारेमा छलफल भईरहेको उनले बताए ।

बिहीबार महायज्ञको तयारीका लागि डोटीको शिखर नगरपालिका, डडेल्धुराको गन्यापधुरा गाउँपालिका र नवदुर्गा गाउँपालिकाका जनप्रतिनिधि तथा स्थानीयहरुको भेला आयोजना गरिएको थियो । भेलाले ललित बलायरको संयोजकत्वमा मुल आयोजक समिति गठन गर्नुका साथै अन्य तयारी उपसमितिहरु गठन गर्ने निर्णय गरेको थियो ।

भेलामा सहभागि जनप्रतिनिधि तथा स्थानीयहरुले महायज्ञ लगाउने पवित्र काममा आफुहरुले पूर्णरुपमा सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । पवित्र धार्मिक स्थलकारुपमा रहेको गहनान क्षेत्रको विकास, प्रचार प्रसार, आध्यात्मिक केन्द्र र धार्मीक पर्यटकीय क्षेत्रकारुपमा विकास गर्ने उद्येश्यसहित महायज्ञको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

गन्यापधुरा गाउँपालिकाका अध्यक्ष ईन्द्र बहादुर कार्की र उपाध्यक्ष ज्ञानु सेटी देउवाले गहनानलाई ववित्र धार्मीक पर्यटनसँग जोड्न सके यस क्षेत्रको विकासमा टेवा पुग्ने बताउदै आवश्यकता अनुसारको भौतिक, आर्थिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

गहनानको महत्व

गहनान प्राचीनकादेखि नै आध्यात्मिक महत्वको क्षेत्र हो । गहनानको आफ्नै ऐतिहासिक र धार्मिक महत्व रहेको छ । स्कन्द पुराणको मानस खण्डमा गहनान र सीता नदीको वर्णन गरिएको छ । गङ्गामा स्नान गर्नका लागि पवित्र ठाउँ भएकाले यसलाई छोटकरीमा गहनान भनिएको जानकारहरु बताउछन् ।

यो तीर्थस्थल शिखर नगरपालिका– १० बानेडुग्रीसैन अन्तरगत सीता नदी र साकल्य खोलाको संगमस्थलमा अवस्थित छ । सेती नदीलाई सीता र कोराल खोलालाई साकल्य भनी वर्णन गरेको पाइन्छ । साकल्य ऋषिले सेती र साकल्य नदीको सङ्गममा गायत्री मन्त्रद्वारा सिद्धि प्राप्त गरेकाले गहनानलाई अझै पवित्र तीर्थस्थल मान्नसकिन्छ ।

गहनानमा मकर सङ्क्रान्ति, पुस मसान्तमा ठुलो मेला लाग्ने गर्दछ । जहाँ सुदूरपश्चिम र छिमेकी देश भारतबाट पनि तीर्थयात्रीहरू गङ्गा–स्नान गर्न आउने गर्दछन् । मकर सङ्क्रान्ति तथा अन्य शुभ साइतमा बिबाह र व्रतबन्ध गर्न पनी आउने चलन रहेको छ ।
गहनानमा स्नान गरेपछि जुगौं देखिको पाप नष्ट भएर जाने र पितृले मोक्ष प्राप्त गर्ने जनविश्वास रहेको छ । यहाँ मकर सक्रान्ति, औँसी र नवरात्रिमा तीर्थालु भक्तजनहरुले मंगलगान, फाग, भागेश्वर, गन्याप, मस्ट देवता को फाग गाउँदछन् । फाग गाउँदा देवता प्रसन्न हुने विश्वास छ ।

के हो स्कन्द पुराण ?

स्कन्द पुराण सबैभन्दा ठूलो मुख्यपुराण हो । यो अठार पुराणहरू मध्य हो । यसमा ८१००० भन्दा बढी पदहरू छन्, र यो शैव साहित्यसँग सम्बन्धित छ । यो स्कन्दको नाममा, शिव र पार्वतीको छोरा (जसलाई दक्षिणी भारत र द्रविड़ साहित्यमा मुरुगन पनि भनिन्छ) ।
यस ग्रन्थको नाम स्कन्दको नाममा राखिए पनि, तर शिवसँग सम्बन्धित अन्य पुराणहरूमा तुलनात्मक रुपमा यसमा उनको कम वा बढी बयान गरिएको भने छैन । यो ग्रन्थ युद्ध–देवता स्कन्दसँग सम्बन्धित हिन्दू परम्परा र अनुष्ठानहरूमा महत्त्वपूर्ण ऐतिहासिक अभिलेख र प्रभाव रहेको छ ।

गहनान कसरी पुग्ने ?

गहनान धार्मीक तीर्थस्थल डोटी जिल्लाको शिखर नगरपालिकाको वडा नं. १० बानेडुग्रीसैनमा पर्दछ । गहनान डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका र नवदुर्गा गाउँपालिकाबाट पनि नजिक पर्दछ ।

संघीय राजधानी काठमाडौंबाट प्लेन चढेर कैलाली जिल्लाको धनगढी विमानस्थलमा पुगिन्छ । सुदूरपश्चिमको अस्थायी प्रदेश राजधानी धनगढीबाट अत्तरीया, गोदावरी, खानडाँडा, सहजपुर, बुडर, गैरा, भातकाँडा, स्याउले सकायल कोराल खोला हुँदै ५ घण्टाको मोटर यात्रा पछि गहनान क्षेत्रमा पुगिन्छ । कोराल खोला सेती नदीमा मिसिने बित्तिकै गहनान पुगिन्छ । काठमाडौं, पोखरा, बोटवल, दाङ, बाँके बर्दीया, नेपालगञ्ज, कर्णाली पुल हुदै अत्तरिया, धनगढीबाट पनि यहाँका लागि बसहरुको सुविधा रहेको छ । काठमाण्डौंबाट २४ घण्टाको बसको यात्रा पछि गहनान पुगिन्छ ।

भारतबाट आउने तीर्थालुहरुले भारतको धार्चुला, पिथोरागडबाट दार्चुला र बैतडी हुँदै ५ घण्टाको गाडीको यात्रा पछि यहाँ पुग्नसक्छन् । गौरीफण्टा र गड्डाचौकी नाका हुँदै धनगढी र महेन्द्रनगरबाट पनि ६/७ घण्टाको सडक यात्रा पछि गहनानमा पुग्न सकिन्छ ।

डोटीको दिपायलमा रहेको बिमानस्थल पनि तयारी अवस्थामा छ । परीक्षण उडान र केही यात्रु उडान सफल भएको उक्त बिमानस्थल तत्काल सञ्चालनमा छैन । यसलाई पनि पुनः सञ्चालनमा ल्याउन सकिन्छ ।

 

Related News

सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
  • २०८१ माघ २५

दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...

TOP