२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

बुढीपोल्ली संक्रान्ति


बुढीपोल्ली ग्वाला पर्व १ गते असोज ।
ग्वालाको कुनिको पर्व मनाउँछन विशेष ।।


भाद्रको १ गते लिङ्गो वनवाट ल्याउँछन् ।
निश्चित तोकेको ठाउँमा सबै वच्चा आउँछन् ।।

लिङ्गो गाडने ठाउँ वनेको परापूर्व देखि ।
अहिले पनि बालवच्चा गर्छन देखा सेखी ।।

लिङ्गो सँगै बुटाझार हाँगा विँगा ल्याउँछन् ।
प्रत्येक घरका बच्चा बुढी हाल्न आउँछन् ।।

दमाउ वजाउँदै लिङ्गो भाद्र १ मा गाडछन् ।
प्रत्येक दिनमा झिक्रा ल्याई बुढी घाडछन् ।।

असोज १ गते बुढी पोल्ने पर्व मान्छन् ।
राँको बाली प्रत्येक घरका वालवच्चा जान्छन् ।।

ओल्सा बेल्टा पुतलेठी पतौडो गरगल्ला ।
वनारी वन गई ल्याउँछन गीत गाउँदै हल्ला ।।

गाईलाई ख्वाउने गर्छन मिठो मिठो घाँस ।
ओल्सा वेल्टा पुतलेठी टन्न ख्वाउँछन साँझ ।।


पाँचै घाँसको मुठो बनाई हातमा समाई ।
वुढीलाई धपाउँछन साँझ गोठ भरि घुमाई ।।


पाँच घाँसको मुठो घुमाई छे बुढी भन्छन् ।
गाईका गोठ घुमाएर निर्धक्क बन्दछन् ।।


गाई गोरु रोग व्याध लाग्दैन ठान्दछन् ।
बुढीलाई धपाउँदा रोग गई गयो मान्दछन् ।।

गोठमा घुमाई मुठो पर्सि खात फाल्छन् ।
पछि लगि त्यो मुठोलाई बुढी सँग बाल्छन् ।।


भेला हुन्छन सवै बच्चा राँको लिई हातमा ।
गोठको घुमाया मुठो लिएर साथमा ।।


दमाउको बाजाको साथै सबै जम्मा हुन्छन् ।
बुढी पोल्न काँक्रो बोकी प्रफुल्लित बन्छन् ।।


कराउँदै बुढीको नजिक हल्ला गर्दै आउँछन् ।
पाँच पल्ट बुढीलाई घुमी सबै आगो लाउँछन् ।।


उफ्रिन्छन बलेको देखि होहल्ला गर्दछन् ।
पोलि सकि बुढी ढाल्न अगाडि सर्दछन् ।।


अद—बले हगुल्टो फाल्छन लुतो लैजा भनि ।
एलुते लैजानु लुतो लान्छन् टाङ मुनि ।।


टाङ मुनि छिराएर लैजा लुतो भन्छन् ।
लुतो गयो फोडा फुङ्सी भनि खुशी हुन्छन् ।।


लैगेको काँक्रो सबै वाँडीचुडि खान्छन् ।
गीत गाउँदै खेल्ने ठाउँमा डेउडा खेल्न जान्छन् ।।


गाउँका ठूलठूला मान्छे डेउडा गीत खेल्दछन् ।
गितेरु दोहरा लागि बेसरी पेल्दछन् ।।


सवाल जवाफ हुन्छ जीत हार हुन्छ ।
गुन्जीन्छ गीतका ध्वनि गाउँ खुशी बन्छ ।।


एउटा त वच्चाको पर्व दोस्रो धार्मिक पर्व ।
वालवच्चा वुढी पोल्न मान्छन निकै गर्व ।।


धार्मिक महत्व यसको द्वापर देखि चल्यो ।
विष ख्वाउन कृष्ण मार्न पुतनाले छल्यो ।।


कंशले पुतना पठाई कृष्ण मार्न लायो ।
पुतनाको विषको दुध कृष्णजीले खायो ।।


कृष्णजीलाई थाहा थियो रगत सम्म पियो ।
पुतना भुईमा ढलि उसलाई मुक्ति दियो ।।


छलि ती पुतना वुढी प्राण त्यागि ढलिन् ।
ग्वालाले लगायो आगो दनदन गरी बलिन् ।।


मथुरामा हर्ष बढाई खुशीयाली छायो ।
अधर्मि पुतना पोल्ने चलन चल्दै आयो ।।


असत्यको पराजय सत्यको जीतलाई ।
प्रतिवर्ष त्यहि दिन जगाउँछन रीतलाई ।।


धार्मिक कहानी हो यो द्वापर युगमा ।
कंशको आतङ्क थियो मथुरा दुःखमा ।।


वसुदेव देवकिको विवाह गरायो ।
सुनेर आकाशवाणी कंश त डरायो ।।


देवकिको आठौं सन्तान तिम्रो हत्या गर्ला ।
साधु सन्त रक्षा गर्ला भू—को भार हर्ला ।।


कंशले वहिनी ज्वाईलाई जेल भित्र हाल्यो ।
जन्मन्जाई भानिजका आफ्ना टाउको फोडन थाल्यो ।।


कृष्ण जन्मे आठौं सन्तान मथुरामा लैगे ।
राखेका कंशका ढोके अर्ध मुर्छित भैगे ।।


वसुदेवले बच्चि ल्याए नन्द घर जाई ।
देवकिको कोखमा राखे जेल भित्र आई ।।


बच्चीले कराउँदा सुनी ढोकेपाले आए ।
देवकीको काखमा उज्वल बालिकालाई पाए ।।

कंशले हातमा लियो भान्जी मारु भनि ।
बिजुलीभैm माथी उडिन पूर्ण शक्ति बनि ।।


तिम्रो काल मथुरामा जन्मि सक्यो अब ।
तिनैका हातमा परि मर्छौ तिमी तब ।।

कंशले मथुरा वासी बालक मार्न थाल्यो ।
कृष्णलाई विषपान गर्ने नयाँ चाल चाल्यो ।।


तिनै हुन पुतना बृढी विष ख्वाउन आएकी ।
कृष्णले स्तन खाँदा मृक्ति पद पाएकी ।।


त्यहि देखि पुतनाको दहन कार्य चल्यो ।
त्यो रीति पालन गर्ने सबको भाग्य फल्यो ।।


सत्यको विजय भन्छन असत्यको नास ।
पुतना दहन गछर्न सुख शान्तिको आश ।।


यो रीति सुदूरपश्चिम कुमाउँ गडवाल ।
कर्णाली र भारतवासी मान्छन प्रति साल ।।


यो पर्वको प्रभावले पशु जिवित रन्छन् ।
पशु रोग नाश भई निरोगी हुन्छन् ।।


बुढीपोल्ली पुतना दहन होरीमा होलीका ।
यी पर्व मनाउँदै जाओन् सन्तती भोलिका ।।


रक्षा गर्नु संस्कृति सभ्यता र धर्म ।
यिनीको रक्षण गर्नु परम हाम्रो कर्म ।।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७९ आश्विन १

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP