दिपायल– डोटी लगायत सुदूरपश्चिम प्रदेशमा “ओल्के” त्यार (पर्व) धुमधामका साथ मनाइएको छ । बुधबार आफुभन्दा ठुलाबडा, मान्यजन र जेष्ठ नागरीकलाई सम्मान स्वरुप ओलक (कोसेली) दिएर, मिठो मसिनो खाएर र अन्य फरक फरक मौलिक तवरबाट मनोरंजन गरी ओल्के पर्व मनाइएको हो ।
साउने झरी सकिए लगत्तै दैवी प्रकोपबाट बाँचिएको खुसीयालीमा सुदूरपश्चिमका पहाडी समुदायमा ओल्के संक्रान्ति मनाइन्छ । यहाँ भदौ महिनाको पहिलो दिन विशेष महत्वका साथ ओल्के संक्रान्ति मनाउने परम्परा रही आएको छ । त्यही अनुसार सुदूरपश्चिमेली पहाडी समुदायमा ओल्के संक्रान्ति मनाइन थालिएको छ ।
भाद्र सङ्क्रान्ति अर्थात भाद्र १ गतेका दिन मनाइने ओल्के भन्नाले ‘कोसेली’ अर्थात ‘उपहार’ भन्ने बुझिन्छ । विपत्तिमा बाँचेको खुसीयालीमा यो पर्व मनाउने गरिएको पूर्वमन्त्री एवं साहित्यकार भक्त बहादुर बलायरले बताउँनु भयो । ओल्के पर्वको छुट्टै सामाजिक, पौराणिक र ऐतिहासिक महत्व रहेको उहाँले बताउनु भयो । परापूर्वकालदेखी नै यस क्षेत्रमा “मरुला भनेर बिशु खानु, बाँचुला भनेर ओल्के खानु” भन्ने किंवदन्ती रहेको छ । वर्षायामका बैशाख, जेठ, असार र साउन महिना रोगव्याध तथा महामारी फैलने, विभिन्न किसिमका प्राकृतिक विपत्तिका महिना मानिन्छन् । यस्तो संकटग्रस्त महिनामा मरिन्छकी भनेर बैशाख सङ्क्रान्तिमा बिशु मनाउने र भदौ सङ्क्रान्तिमा ओल्के मनाउने प्रचलन रहिआएको जानकारहरु बताउछन् ।
‘बिशु र ओल्के प्राकृतिक परापूर्व कालमा फैलने बिपद्सँग सम्बन्धीत पर्व हुन्,‘शैलेश्वरी क्षेत्र बिकास समितिका अध्यक्ष प्रेमशंकर भट्टले भने,‘ विपत्तीको समयमा आफ्ना परिवारका सदस्य नरहन सक्छन भनेर बिशु मनाउने प्रचलन रहेको हो, भने बाँचेको खुसीयालीमा भदौ १ गते ओल्के मनाउने गरिन्छ ।’
ओल्के सुदूरपश्चिमको मौलिक पर्व हो । यो पर्व सुदूरपश्चिम बाहेक यस क्षेत्रसंग जोडिएका भारतका कुमाउ र गढवाल तिर पनि मनाईन्छ । यो पर्वमा गाउँका मुखिया तथा मान्यजनको घरमा हरियो सागपात दिएर वर्षायाममा दैवी प्रकोपबाट बाँचिएको खुसीयालीमा सद्भाव बाँड्ने गरिन्छ । विशेषगरि मान्यजनलाई पिँडालुका पात, काँक्रा, भाण्टा, मुला र हरियो सागपात उपहार दिने गरिन्छ । यहाँ हरियो सागपातको कोसेलीलाई नै ‘ओल्को’ भन्ने गरिन्छ ।
उहिले वर्षायाममा दादुरा, झाडापखाला, हैजा, लुतो, कुष्ठरोग जस्ता रोग लाग्नुका साथै असार साउनको बर्खे झरीमा बाढी पहिरो आउने भएकाले रोग व्याधि र दैवी प्रकोपबाट बाँचिएको उपलक्ष्यमा खुसी साँट्न यो पर्व मनाइने गरिएको साहित्यकार तथा पूर्व प्राध्यापक डा. बद्री शर्मा बिनाडी बताउनु हुन्छ ।उहाँले भन्नुभयो,‘दैवीप्रकोपबाट बाँचिएको खुसी साट्न ठूलावडा तथा जेठो नातापर्नेहरुलाई हरियो सागपात दिएर सम्मान दिने गरिन्छ ।’
ओल्कोमा अन्न, दुध, दही, घ्यू, गूड र पक्वान्न आदी पनि दिईन्छ । शिल्पकारहरुले आफुले बनाएका सामानहरु पनि दिने गर्दछन् । नयाँ पुस्ताले अचेल आफ्ना मान्यजनहरुलाई लुगाकपडा, पैसा वा यस्तै अन्य उपहार समेत ओल्को स्वरुप दिन थालेका छन् । यसरी ओल्को दिन आएकाहरुलाई मान्यजनहरुले आफुसंग भएको मिठोमसिनो खुवाएर पठाउछन् ।
चाडमा गाउँघरका युवकयुवतीका दौँतरी समूह समूहमा जम्मा भएर पिङ खेल्ने, देउडा खेल्ने, ठाडी भाका तथा लोकलयमा गीत गाउनेलगायतका क्रियाकलाप पनि गर्ने गर्दछन् । ओल्केका अवसरमा सुदूरपश्चिममा पिङ खेल्ने प्रचलन पनि छ । जंगलमा उम्रिएको बाँबियो काटेर पिङ बनाइन्छ । साउनको अन्तिम दिन बाटिएको पिङ भदौको पहलिो दिन गाउँ नजिकै रहेको अग्लो रुखको हाङ्गामा बाँध्ने खेल्ने गरिन्छ ।
यसरी बाँधिएको पिङमा अनिवार्य खुटटा राख्नु पर्ने वा खेल्नु पर्ने मान्यता रहिआएको छ । एकक्षण भएपनि पिङमा खुट्टा राख्दा धरतीमाताको बोझ कम हुने जनविश्वास रहेको छ ।
ओल्केकै अवसरमा साउनको अन्तिम दिन हातमा भँयरी, मिछिट्टी (हातमा रातो कलर दिने एक प्रजातीको फुल, बुटा) लगाउँने प्रचलन छ । भँयरी लाउने स्थानीयहरुले ओल्केको अघिल्लो दिन जंगलबाट बिभिन्न प्रकारका जडिबुटीहरुका जरा जम्मा गर्छन् । ती जराहरुलाई भँयरीका डाठ तथा पातसँग मिसाई लेदो हुन्जेल ओखलमा कुटिन्छ । साँझको खाना खाइसकेपछि त्यो लेदोलाई दुबै हातमा राखी मालुका ठूलाठूला पातले हात बाँधेर सुत्ने प्रचलन रहेको केआईसिंह गाउँपालिकाका–४ वायलका नर बहादुर कार्कीले बताउनु भयो ।
दोस्रो बिहान फर्सीका पातले बाधेका हातहरु खोलेपछि हातहरु आकर्षक राता एवम् चमकदार देखिने हुन्छन् । यी हातहरुको रङ्ग झण्डै एक महिनाभन्दा बढीसम्म रहन्छ । यस परम्मपराले एकातिर हातको सौन्दर्यता बढाउँछ भने अर्कोतिर वर्षायामभरि हिलो र पानीद्वारा रुजेभिजेका हातहरुमा भयँरी तथा जडिबुटी लगाउँदा यसले औसधिको कामगरी हातको छाला सुरक्षामा सहयोग पु¥याउँछ । सो जटिबुटीले छालाको रोगको समस्या निको हुने र संक्रमणबाट पनि बच्न सकिने जनविश्वास रहीआएको छ । पछिल्ला वर्षहरुमा भँयरीको ठाउँ मेहन्दी लगाउने गरिन्छ ।
पर्वमा विवाहिता छोरीलाई माइती घरमा आमन्त्रण गरी लाउन, बाबर, गतानी डुब्का, बटुक मासे माणालगायतका स्थानीय खानाका पकवान पकाएर खुवाउने र खाने प्रचलन छ । ओल्केलाई पर्वहरुको जेठो पर्व भनेर पनि बुझिन्छ । यो पर्वले अन्य पर्वहरुलाई ‘ओल्क्याउने’ अर्थात अन्य पर्वहरु पनि क्रमशः आउने भएकाले यस्तो भनिएको जानकारहरु बताउछन् । बैशाख संक्रान्तिमा मनाईने ‘बिशु’ पर्वको चार महिना पछि ‘ओल्के’ आउछ । ओल्के पछि क्रमशः प्रत्येक महिना अन्य पर्वहरु आईरहन्छन्, त्यसैले यसलाई जेठो पर्व मानिन्छ ।
ओल्के पर्वकै दिन केही ठाउँमा गाउँ नजिकैको गारुगोठालो जाने चौबाटोमा सबै जना मिलेर सल्लाको लिङ्गो गाड्ने गर्छन् । सो लिङ्गो वरिपरी रूखका हांगाबिंगा झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ । जसलाई स्थानीय भाषामा ‘बूढी हाल्ने’ भनिन्छ । सो बूढीलाइ असोज संक्रान्तीको राती पोल्ने गरिन्छ । जसलाई ‘बूढी पोल्ने’ भनिन्छ ।
यसलाई द्वापरकालिन समयमा श्रीकृष्णद्वारा मारिएकी राक्षस ‘पूतना’को कथासङ्ग पनि जोडिएको छ । भगवान श्रीकृष्णलाई मार्ने योजना सहित कंशले पूतनाको स्तनमा विष लगाएर श्रीकृष्णलाई स्तनपान गराउन पठाएका थिए । तर कृष्णले स्तनपान गर्दा सुरुको विष फ्याकेर स्तनपान गर्दागर्दै पूतनालाई मारेपछि मृतक बुढी पूतनाको शरिर गोठालाले जलाएको स्मरणमा बूढी पोल्ने पर्व मनाइदै आएको जानकारहरु बताउँछन् ।
बुढी पोलेमा लुतो लगायतका रोगहरुबाट सम्पुर्ण परिवारजन मुक्त हुने र गाइगोरु चैपायालाई जंगली जनाबरले आक्रमण नगर्ने जनविश्वास रहिआएको छ ।
दिपायल । दिपायल सिलगढी नगरपालिको पाँचौं स्थानिय तह स्तरीय राष्ट्रपति...