२०८२ श्रावण ३, शनिबार
July 19, 2025, Saturday

‘इजरायली आक्रमण’मा हमासका प्रमुख नेता इस्माइल हानिया मारिए

कायरो— ‘इजरायलको आक्रमण’बाट हमास नेता इस्माइल हानिया बुधबार इरानमा मारिएका छन् । प्यालेस्टाइनी लडाकु समूह हमास र इरानको एलिट रिभोलुसनरी गार्ड्सले उनी मारिएको पुष्टि गरेका छन् ।

हानिया मंगलबार इरानका नयाँ राष्ट्रपतिको शपथ ग्रहण समारोहमा सहभागी भएका थिए । ‘आज बिहानै, तेहरानमा इस्माइल हानियाको निवासमा आक्रमण भएको थियो, जसका कारण उनी र उनका एक अंगरक्षकको मृत्यु भएको थियो,’ रिभोलुसनरी गार्डले भनेको छ ।

हानियाको मृत्युमा इजरायलले आधिकारिक रूपमा अहिलेसम्म केही पनि भनेको छैन । तर इजरायली सरकारका सम्पदामन्त्री अमिचे इलियाहुले भने ‘विश्वबाट यस्तो फोहोर सफा गर्ने यही नै सही तरिका हो’ भनेर प्रतिक्रिया दिएका छन् ।

टाइम्स अफ इजरायलका अनुसार इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले भने आफ्ना मन्त्रीहरूलाई हानियाको हत्याबारे नबोल्न निर्देशन दिएका थिए । प्रधानमन्त्री नेतान्याहुको निर्देशनका बाबजुद मन्त्री इलियाहुको प्रतिक्रिया आएको हो ।

इस्माइल हानिया हमासको राजनीतिक विभाग प्रमुख थिए । उनी प्यालेस्टिनी प्राधिकरणको दसौँ प्रधानमन्त्रीसमेत हुन् । हमासका नेताहरूमध्ये नरम मानिने हानियाको जन्म प्यालेस्टाइनको शरणार्थी शिविरमा भएको थियो । सन् १९८९ मा उनलाई इजरायलले ३ वर्ष कारागारमा राखेको थियो ।

केही समय इजरायल र लेबनानबीचको ुनो म्यान्स ल्यान्डु मा निर्वासनमा रहेका उनी सन् १९९७ मा हमासका नेता शेख अहमद यासिनको कार्यालय प्रमुखका रूपमा नियुक्त भएका थिए । उनलाई हमासले सन् २००६ मा प्यालेस्टिनी प्राधिकरणको प्रधानमन्त्री नियुक्त गरिएको थियो । तर एक वर्ष पुग्दा नपुग्दा प्यालेस्टिनी राष्ट्रिय प्राधिकरणका प्रमुख मोहम्मद अब्बासले हानियालाई पदबाट बर्खास्त गरेका थिए ।

हानियालाई २०१७ मे ६ मा हमासले राजनीतिक विभाग प्रमुखका रूपमा नियुक्त गरेको थियो । सन् २०१८ मा अमेरिकी विदेश मन्त्रालयले हानियालाई आतंकवादी घोषणा गरेको थियो । पछिल्लो समय भने हानिया कतारमा बस्दै आएका थिए ।

 

Related News

नृत्य निर्देशक रावल “प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार – २०८१” बाट पुरस्कृत
नृत्य निर्देशक रावल “प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार – २०८१” बाट पुरस्कृत
  • २०८१ श्रावण १६

दिपायल – वरिष्ठ नृत्य निर्देशक राम बहादुर रावल “प्रज्ञा प्रादेशिक...

TOP