दिपायल – प्रहरीले आफ्नै सौताको हत्या गरेको आरोपमा एक जना महिलालाई पक्राउ गरेको छ । जिल्लाको बडीकेदार गाउँपालिका – २ कोटकेलाकी ३७ वर्षीया यमुना घर्तीमगरलाई कर्तव्य ज्यानमुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
यमुनाले चैत्र १२ गते जेठी सौता अन्दाजी ४२ वर्षीय दुर्गा घर्तीमगरको पानीघट्टमा हत्या गरेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न उनलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
दल बहादुर घर्तीमगरकी जेठी श्रीमती दुर्गा चैत्र १२ गतेका दिन दिउँसो १ बजेको समयमा गाउँनजिकैको कोटकेला खोलामा रहेको पानीघट्टमा गएकी थिइन् । पानीघट्ट गाएकी उनी ढिलासम्म घर नफर्किए पछि आफन्तले खोजिगर्न थालेका थिए । प्रहरीका अनुसार खोजी गर्ने क्रममा १३ गतेको बिहान ८ : ४० बजे दुर्गा पानीघट्ट भित्र मृत अवस्थामा फेला परेकी थिइन् ।
मृतककी नन्द नाता पर्ने उर्मिला घर्तीमगरले पानीघट्ट भित्र दुर्गाको शव भेटिएको प्रहरीलाई जानकारी गराएकी थिइन्। जानकारी प्राप्त भएपश्चात सोही दिन प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवको नेतृत्वमा प्रहरीको टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले घटनास्थलमा शव जाँचसँगै स्थलगत मुचुल्का तयार पारेर प्रारम्भिक अनुसन्धान थालेको थियो ।
चैत्र १४ गते मृतककी भाई बहुरानी डम्मरी थापामगरले मृतककी कान्छी सौता यमुना घर्तिमगरको नाममा कर्तब्य ज्यान सम्बन्धी किटानी जाहेरी दरखास्त पेश गरेकी थिइन् । यमुनाले १२ गते दिउसो अन्दाजी ३ बजेको समयमा पानीघट्ट भित्र प्रवेश गरी दुर्गाको हत्या गरेको जाहेरीमा उल्लेख छ ।
घटनाको प्रकृति, शवको अवस्था, घटनास्थलको जाँच, मुचुल्का, जाहेरी र प्रारम्भिक अनुसन्धानमा यमुनाले दुर्गालाई ढुङ्गा, काठको आडो, हँसिया र बन्चरोले टाउँकोमा हिर्काई हत्या गरेको देखिएको प्रहरीले जनाएको छ । प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा यमुनालाई पक्राउ गरी डोटी जिल्ला अदालतमा पेश गरेको थियो । अदालतबाट अनुसन्धानका लागि म्याद थप गरिएको र विस्तृत अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
दिपायल – वरिष्ठ नृत्य निर्देशक राम बहादुर रावल “प्रज्ञा प्रादेशिक...