२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025, Thursday

पत्रकारमाथि अभद्र व्यवहार गर्ने रोकायाले मागे माफी


दिपायल– समाचारको विषयलाई लिएर पत्रकारमाथि अभद्र व्यवहार गर्ने धर्म रोकायाले माफी मागेका छन् । नेपाल पत्रकार महासंघ डोटी शाखाका सचिव पवन महरालाई फोन गरेर अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

आदर्श गाउँपालिका–५ लामिखाल घर भएका रोकायाको घरबाट अवैध काठ बरामद भएको विषयमा शिखर समाचार डटकमले समाचार लेखेको थियो । डिभिजन वन कार्यालय डोटीले उनको घरमा छापामारेर ६८ थान सालको काठ बरामद गरेको थियो । सरकारी कार्यालयले दिएको सूचनाका आधारमा शिखर समाचारले समाचार प्रकाशन गरेको थियो ।

रोकायाले त्यही विषयलाई लिएर पटक–पटक फोनबाट गालीगलौज गर्ने, धम्क्याउने , अमर्यादित शब्द प्रयोग गर्ने गरेका थिए । सो घटनाका विषयमा जानकारी पाए पछि नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन लगायतका संघसंगठनले घटनाको घोर भत्र्सना गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय डोटीमा पत्रकार महासंघ, प्रहरी र रोकाया बीच छलफल भएको थियो । छलफलमा रोकायाले काठको मुद्धा खेप्नु परेको तनावमा आक्रोसमा आइ फोनबाट अभद्र व्यवहार गरेको स्वीकार गरेका थिए । उनले पत्रकारमाथि आफुबाट जानीनजानी गल्ती भएको भन्दै माफी मागेका थिए ।
रोकायाले प्रहरी कार्यालयमा लिखित र मौखिक रुपमा माफी मागेका हुन् । लिखित रुपमा भएको समझदारी पत्रमा उनले प्रेस स्वतन्त्रताको सम्मान गर्ने प्रतिवद्धता जनाउदै अबउप्रान्त समाचारको विषयलाई लिएर कुनै पनि मिडियाकर्मीसँग यस्तो व्यवहार नगर्ने, गरेको खण्डमा थप कानुनी कारबाही भोग्न तयार हुने छु भनी सैछाप गरेका छन् । आफुले गरेको अभद्र व्यवहारले समग्र मिडिया क्षेत्रमा पर्न गएको असरका लागि क्षमायाचना गर्दै रोकायाले मुद्धा नचलाउन अनुरोध गरेका थिए ।

समाचारकै विषयलाई लिएर कुनै पनि मिडियाकर्मीहरुमा हमला भयो, दुव्र्यवहार भयो भने महासंघ चुप लागेर नबस्ने पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष्य योगेन्द्र बलायरले बताए । प्रेस स्वतन्त्रताको रक्षाका लागि यस्ता घटनामा प्रहरी प्रशासनले बिशेष चासो देखाउनु पर्ने महासंघका जिल्ला अध्यक्ष मोहन शाहीले बताए ।

पत्रकार महराले अबउप्रान्त समाचारको विषयलाई लिएर कुनै पनि मिडिया र मिडियाकर्मीमाथि अभद्र, अश्लील व्यवहार नगर्न र धम्कीपूर्ण शब्द प्रयोग नगर्न सचेत गराउँदै पहिलो पटकका लागि भनेर रोकायालाई माफी दिएको बताए ।

Related News

शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
  • २०७९ भाद्र १२

दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...

TOP