दिपायल- कैलालीमा प्रहरीले बाघको छालासहित चार जनालाई पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको क्षेत्रीय अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका–२, तेघरीबाट बाघको छालासहित मान्छेलाई पक्राउ गरेको हो ।
बुडरबाट धनगढीतिर आइरहेको सु.प.प्र.०४–००१च००६ नम्बरको बोलेरो जिप रोक्न रोज्दा नरोकेपछि शंका लागेर पिछा गर्दा जिपबाट बाघको छाला बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक बेदप्रकाश जोशीले बताए । जिप चालक डोटीको जोरायल गाउँपालिका–२, का समिर ओली र त्यसमा सवार कैलालीको चुरे गाउँपालिका–१, का टेकबहादुर रावत र धिरेन्द्र रावत तथा बैतडीको डिलासैनी गाउँपालिका–२, का राजेन्द्रसिंह भण्डारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कैलालीको फल्टुडेबाट बाघको छाला र हड्डि जिपमा राखिएको र बिक्री गर्ने उद्देश्यले अत्तरियातिर ल्याउन लागेको बुझिएको प्रहरी नायब उपरिक्षक जोशीले बताए । बाघको छाला चार फिट सात इन्चको रहेको प्रहरीले जनाएको छ । बाघको दुई केजी हड्डीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेकाहरुलाई बाघको छालासहित जिल्ला वन कार्यालय बुझाइदैछ ।
दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...