२०८० चैत्र १५, बिहीबार
March 28, 2024, Thursday

धनगढीमा चक्कु हानाहान, २ जना घाइते

धनगढी – धनगढीमा दुई समूहबीच विवाद हुँदा चक्कु हानाहान भएको छ। मासु पसल सञ्चालनको विषयलाई लिएर दुई पक्षबीच विवाद भएपछि चक्कु हानाहान भएको हो।

धनगढीस्थित एक मस्जिदसँगै रहेको मासु पसल सञ्चालन गरिरहेका पप्पु कुरेसी पक्ष र उक्त पसल बन्द गराउनुपर्ने माग गर्दै आएको अर्को पक्षबीच विवाद बढ्न थालेपछि चक्कु हानाहान भएको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले मासु पसल सञ्चालनको विवाद बढ्न थालेपछि धनगढी उपमहानगरपालिका-१ मा दुवै पक्षबीच दैनिक तनाव भइरहेको बताए। ‘एक पक्षले अर्को पक्षलाई आरोप लगाउने क्रम जारी छ,’ उनले भने।

सो क्रममा बिहीबार साँझ चक्कु हानाहान भएको स्थानीयले बताएका छन्। चक्कु प्रहारबाट २ जना घाइते भएको बताइएको छ। यता, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले सो क्षेत्रमा दैनिक तनाव भइरहेको बताए। तर, चक्कु प्रहारबारे भने केही नखुलेको उनले बताए।

‘बिहीबार राति पनि आफूहरुमाथि २ जनाले चक्कु प्रहार गरेको भन्दै केही व्यक्ति प्रहरीसमक्ष आएका थिए,’ उनले भने, ‘ती दुवैजनालाई पक्राउ गरेर सोधपुछ गर्दा चक्कु प्रहार गरेको पुष्टि भएन। त्यसपछि आफन्तको जिम्मा लगाएका छौँ।’

मस्जिदसँगै मासु पसल सञ्चालन गरेका पप्पु कुरेसीलाई भने केही दिन अघि प्रहरीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक विष्टले बताए। उनीमाथि झै–झगडा गरेको आरोप लागेको प्रहरीले जनाएको छ।

यसअघि धनगढी उपमहानगरपालिका वडा नम्बर १ को नेपाली नूरी जामे मस्जिद संघले विरोध गरेपछि उपमहानगरपालिकाले बधशाला सिल गरेको थियो। तर कुरेसीले अदालतबाट अन्तरिम आदेश ल्याएपछि उक्त स्थानमा पसल पुनः सञ्चालन आएको थियो।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७८ आश्विन ८

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP