दिपायल – शिखर नगरपालिकाका सबै वडाहरुमा तीज विशेष कार्यक्रम सञ्चालन हुने भएको छ । नगरपालिकाको आयोजनामा ९ गते देखि १३ गते सम्म नगरपालिकाका ११ वटै वडाहरूमा तीज विशेष शुभकामना आदानप्रदान कार्यक्रम सञ्चालन गरिने नगरपालिकाले जनाएको छ।
नारीहरुको महान पर्व हरितालिका तीजका अवसरमा सबैलाई पाएक पर्ने स्थानमा नगर महिला सञ्जाल र वडा महिला सञ्जालको अगुवाइमा कार्यक्रम आयोजना गरिने नगर उप – प्रमुख सुनिता रावल जोराले बताइन् ।
सबै वडामा आयोजना हुने उक्त कार्यक्रमले नगरका महिलाहरूमा आपसी सम्बन्ध र सदभाव बढ्नुका साथै भेटघाट र सुखदुःख बाँडफाँड हुने उनले बताइन् । वर्षभरी घरायसी काममा व्यस्त महिलाहरु केही दिन आआफ्नो वडामा जम्मा भएर रमाइलो गर्नेछन्,’उप – प्रमुख रावलले भनिन्,’ भेटघाट र रमाइलोसँगै एक आपसमा दुःखसुख साट्ने मौका पनि मिल्नेछ । स्थानीय डेउडा संस्कृतिको संरक्षण गर्दै आफ्नो मौलिकता र संस्कृतिको जगेर्ना गर्न पनि अनुरोध गरेका छौं ।’
नगरका योजना छनोट, विकास निर्माण र राजनीतिमा महिलाहरुको उल्लेखनीय सहभागिता, खबरदारी र आफ्ना माग र अधिकार स्थापित गर्न महिलाहरुलाई अग्रसर बनाइने उप मेयर रावलले बताइन्। नगरपालिकाबाट महिलाहरूका लागि महिला लक्षित, सिपमुलक, क्षमता विकास, स्वास्थ्य सुधार र अन्य कार्यक्रमहरु पनि सञ्चालन गर्ने योजना रहेको उनको भनाइ छ ।
दिपायल – रुपन्देहीका एक युवकले आफ्नै आमाको हत्या गरेका छन्...