२०८१ बैशाख ८, शनिबार
April 20, 2024, Saturday

अलैँची खेतीमा कृषकको आकर्षण बढ्दो

बडीकेदार गाउँपालिका– ४ मान्ना कापडीका कृषकहरुलाई अलैँची खेती गर्न र टिप्न सिकाउँदै ज्ञानकेन्द्रले उपलब्ध गराएका व्यवसायीक कृषक



दिपायल- सुन्तला, अदुवा र बेसार खेतीको पकेट क्षेत्र मानिने डोटीको बडीकेदार र जोरायल गाउँपालिकाका किसानहरुमा पछिल्लो समय अलैँची मोह बढ्दै गएको छ । केही वर्ष अघि परीक्षणका रुपमा गरिएको अलैँची खेती हाल व्यवसायिक रुपमा गरिदै आएको छ ।

अलैँची खेतीका लागि यहाँको हावापानी, जमिन र भूबनावटले साथ दिएका कारण व्यवसायिक रुपमै खेती गर्न सुरु गरिएको कृषकहरु बताउँदै आएका छन् । कम मेहत र थोरै लगानीमा गरिएको अलैँची खेतीले छोटो समयमा राम्रो उत्पादन दिने गरेको जोरायल गाउँपालिका–६ का कृषक रामबहादुर बोहराले बताउनु भयो । “सुरुवातमा कस्तो हुन्छ भनेर परीक्षण गर्न दुईचार बोटाहरु लगाएको थिएँ,“उहाँले भन्नु भयो,“बोटाहरु हलक्कै बढ्न थालेपछि अहिले दुई हजार बोटा लगाएँको छु । उत्पादन पनि राम्रै भैरहेको छ । आम्दानीको स्रोत पनि बढेको छ ।”

सुन्तला अदुवा र बेसार खेती गर्दै आएका बडीकेदार गाउँपालिका– ४ का धनबहादुर मौनीले पनि अहिले अलैँची खेतीलाई व्यवसायिक बनाउँदै लग्नुभएको छ । सुन्तला अदुवा र बेसार खेतीले बजार राम्रो नपाउँने र धेरै उत्पादन भण्डारण गर्न पनि नसकिने भए पछि अलैँची खेतीलाई प्राथमिकता दिएको उहाँले बताउनु भयो । “अलैँचीको बजार पनि राम्रो छ, मेहनत पनि कम लाग्छ,“उहाँले भन्नु भयो,“ बाँझो जमिन पनि काम लागेको छ । तयार अलैँची निकाल्ने बेला मात्रै मेहनत गर्नुपर्छ । खेती गर्न थालेको धेरै समय भएको छैन । उत्पादन र सहजताका कारण यो खेतीलाई निरन्तरता दिदै आएको छु ।”

बडीकेदार गाउँपालिका– ४ मान्ना कापडीका कृषकहरुलाई अलैँचीका बोटा वितरण गरिदै


मौनीले अलैँची उत्पादनसँगै नर्सरी पनि सञ्चालन गर्नु भएको छ । अलैँचीसँगै वर्षेनी ५० देखि ६० हजारसम्मका बोटा पनि विक्रि गर्दै आएको उहाँले बताउनु भयो । मौनी जस्तै उहाँका छिमेकी गाउँका कृषकहरुले व्यवसायिक रुपमै अलैँची खेती गर्दै आउनु भएको छ ।

बडीकेदार गाउँपालिका, जोरायल गाउँपालिकासँगै जिल्लाको पूर्वीचौकी गाउँपालिकामा पनि अलैँची खेतीको राम्रो सम्भावना रहेको कृषि ज्ञान केन्द्र डोटीका प्रमुख नरेन्द्र पनेरुले बताउनु भयो । नेपाल सरकार कृषि मन्त्रालयको राष्ट्रिय डाटामा डोटी अलैँची खेतीका लागि समेटिएको थिएन,“उहाँले भन्नु भयो हामीले सम्भावना अध्ययन गरेर खेती सुरु गरेपछि उत्पादन र उत्पादकत्व राम्रो देखिएको छ । अब डोटी पनि त्यसमा समेटिने छ ।”

कृषि ज्ञान केन्द्रको सहयोगमा हाल ३ हेक्टर क्षेत्रफलमा अलैँची खेती सुरु गरिएको ज्ञान केन्द्र प्रमुख पनेरुले बताउँनु भयो । उहाँका अनुसार खेती गरिएको सो क्षेत्रमा १ मेट्रिक टन उत्पादन र ०.३ मेट्रिक टन उत्पादकत्व रहेको बताउनु भयो । सम्भावित अन्य क्षेत्रमा अलैँची खेतीलाई विस्तार गर्दै लैजाने बताउँदै उहाँले इच्छुक कृषकहरुलाई ज्ञान केन्द्रमा सम्पर्क गर्न आग्रह गर्नु भयो ।
“डोटी जिल्लामा खाद्यान्न बालिभन्दा फलफुलको राम्रो सम्भावना रहेको छ । त्यसमा पनि केही पालिकाहरु अलैचि खेतिको लागि उच्च सम्भावना युक्त छन्,“उहाँले भन्नु भयो,“यस जिल्लामा अलैँची प्रवद्धन कार्यक्रम अन्तरगत पुर्बिचौकी, जोरायल, बडीकेदार र केआई सिंह गाउँपालिकामा सहयोग गरिरहेका छौं ।”

बडीकेदार गाउँपालिका– ४ मान्ना कापडीका कृषकहरुले लगाएको अलैँची

कृषि ज्ञान केन्द्रले काभ्रे जिल्लाका व्यवसायिक कृषकहरुलाई ल्याएर यहाँका कृषकहरुलाई खेती गर्न, टिप्न र भण्डारण गर्न सिकाउदै आएको छ । केन्द्रले जिल्लाका कृषकहरुलाई तालिम, भ्रम, प्राविधिक सहयोगसँगै बीउ र बोटाहरु उपलब्ध गराउँदै आएको छ ।

ज्ञान केन्द्रको सहयोग र सल्लाह अनुसार अलैँची खेती गरे कृषकको आयस्रोत अन्य व्यवसाय भन्दा छिटो बढ्ने बडीकेदार – ४ का कृषक भक्त जेठराले विश्वास व्यक्त गर्नु भयो । थोरै लगानी र थोरै मिहनतमा धेरै आम्दानी हुने खेतीको रुपमा अलैँची पर्दछ,“उहाँले भन्नु भयो,“पछिल्लो समय देशैभरका पहाडी जिल्लामा यस खेतीमा कृषकको आकर्षण देखिन्छ । हामीले पनि व्यवसायिकरुपमा खेती गर्न थाल्यौं भने चाँडो प्रतिफल पाइने देखिन्छ ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७९ मंसिर २०

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP